Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविकास नभएको कि नदेखिएको

विकास नभएको कि नदेखिएको


काठमाडौं ।
विगत केही समयदेखि खासगरी प्रधानमन्त्रीको जहाँ पनि एउटै भनाइ छ, देशमा थुप्रै विकासका काम भएका छन् । इतिहासमा कहिल्यै नभएका काम भएका छन् । प्रतिनिधिसभाको विघटनपछि राष्ट्रका नाममा गरिएको सम्बोधनमा होस् कि राष्ट्रियसभालाई सम्बोधन गर्दा यही कुरा दोहोरियो । सरकारले धेरै नै राम्राराम्रा काम गरेको तर पार्टीको संयन्त्रले त्यसलाई जनतासम्म नपु-याइएको भन्ने आरोप छ प्रधानमन्त्रीको । यसले के प्रश्न उठाउँछ भने वास्तवमा देशमा विकास निर्माण धेरै उच्चतहमा भएको तर त्यो नदेखिएको नै हो त ? विकास निर्माणले तीव्ररूपमा गति पाएको भए त्यसलाई कसैले देखाउनै पर्दैन, त्यो आफैँ देखिन्छ । तर पनि प्रधानमन्त्री भने देख्न नचाहेको भन्ने दाबी नै गरिरहेका छन् ।

राष्ट्रियसभाको समापनका दिन, २६ पुसमा प्रधानमन्त्रीले गरेका भाषणलाई आधार मान्ने हो भने प्रधानमन्त्रीको यतिबेलाको सबभन्दा ठूलो पीडा नै जनताले विकास देखिदिएनन् । उनकै भनाइमा– ‘देशभर विकास निर्माणका कामहरू असाधारणरूपमा र द्रुत गतिमा ऐतिहासिक काम भइरहेका छन् तर काम भएको देखे पनि नदेखेझैँ गरिएको छ, मुलुकमा विकासको काम यसभन्दा अगाडि यति धेरै कहिल्यै भएका थिएनन्, ती कामहरू तथ्याङ्क र आँकडाले नै देखाउँछन् । तर, देखे पनि नदेखेझैँ गरिएपछि कसको के लाग्छ ? सबैले काम देखेका छन्, देखेर पनि नदेखेझैँ गर्नु, देखे पनि छोप्नु बेग्लै कुरा र देखेपछि अर्कोतिर मुन्टो फर्काएर हिँड्नु बेग्लै कुरा हो । तर विकास भएको छ, स्वास्थ्य क्षेत्रमा कति काम भएको छ ? शिक्षा क्षेत्रमा कति काम भएको छ ? सबैलाई थाहा छ कि अधिक कामहरू भएका छन् । त्यसैले स्कुलहरूमा विद्यार्थी भर्नादर हेरौँ, ड्रपआउटको दर हेरौँ, छात्रछात्राको भर्नादर वृद्धिको कुरा हेरौँ, सामाजिक समानताको क्षेत्रमा अधिक काम भएको छ, यो सानो उपलब्धि होइन । प्रधानमन्त्रीले भनेका यी भनाइमा कतिपय तथ्य पनि होलान् । प्रधानमन्त्रीले भनेजस्तो यसअघि कहिल्यै नभएको काम भएको र त्यसले ऐतिहासिक रेकर्ड नै कायम गरेको अवस्था भने होइन ।

विकास निर्माणका काम भनेको त्यो कसैले लुकाएर वा दबाएर लुक्ने विषय होइन । धारामा खानेपानी आयो भने त्यो आफैँ देख्न सकिन्छ । बाटो राम्रो छ भने हिँड्ने जोकोहीले पनि देखेका र उपभोग गरेकै हुन्छन् । एउटा पुल बनेको छ भने खोलो तरिरहेको जोकोहीले पनि विकास भएको भन्छ नै । त्यसै पनि प्रधानमन्त्रीले नै सरकारलाई काम गर्न नदिएको भनेर संसद् विघटन गरेको कुरा अहिले सबभन्दा बढी प्रचारमा छँदै छ । त्यस्तो अवस्थामा प्रधानमन्त्रीको दाबीमा नै प्रश्न उठ्न सक्ला । किन भने विकास लुकाएर लुक्ने कुरा होइन । धरहरा बन्यो वा बन्दै छ, रानीपोखरी बन्यो यी आफ्नो ठाउँमा छन् तर यसले जनाताको दैनन्दिनीमा कति फरक पार्छ भन्नेबाट पनि विकासको स्तर देखिएला ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया