Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभीडभाडमा रमाउँदै सरकार

भीडभाडमा रमाउँदै सरकार


काठमाडौं ।
सरकार एकातिर कोरानो संक्रमणको विस्तार भयावह हुने अवस्था बताउँदै स्कुल, सिनेमा हल, पर्टी प्यालेसजस्ता सार्वजनिक स्थलमा भीडभाड हुने काम नगर्न र १५ जनाभन्दा बढी संख्यका मानिस भेला हुने कार्यक्रम नचलाउन आदेश जारी गर्छ भने अर्कातिर आफैँ हजारौँ मानिसको भिडभाड हुने कार्यक्रम सञ्चालन गरिरहन्छ । सरकारको यस्तो सतर्कतालाई के भन्ने ? वास्तवमा नै यो प्रश्न सामान्य छैन ।

सरकारका पछिल्ला दिनका कार्यक्रम हेरियो भने प्रधानमन्त्रीदेखि मन्त्रीसम्म नै यस्तो ठूला भिडभाडमा रमाइरहेको पाइन्छ । केही पहिले मात्रै सरकार आफैँले ठूला–ठूला प्रदर्शनका आयोजना गरिरहेको थियो । प्रधानमन्त्री मुख्य अतिथि र मन्त्री आयोजक भएर देशभरिबाट मान्छे जम्मा गरेर आफ्नो राजनीतिक शक्ति प्रदर्शनका नाममा जे गरियो विज्ञहरू त्यसलाई कोरोना विस्तारको कारण मानिरहेका छन् र त्यसो नगर्न सुझाइरहेका छन् तर सरकार भने जति बढी भिड देखायो त्यति नै आफ्नो शक्ति विस्तार भएको ठानिरहेको छ । यसले कोरोनाको महामारीको ग्राफ कहाँ पुग्ला भन्ने चिन्ता जन्माएकोे हो ।

यसका उदाहरण थुप्रो नै लाग्न थालेको छन् । जस्तो पूर्वको मोरङ अर्थात् विराटनगर सहर पछिल्लो समय सबैभन्दा बढी संक्रमण विस्तार भएको ठाउँमा पर्छ । यो सहरमा थप संक्रमण विस्तार हुन नदिन भन्दै एकताका निषेधाज्ञा लगाउने चर्चा चलिरहेका बेला हजारौँ मान्छे भेला हुने कार्यक्रम फुटबल म्याचको आयोजना भयो । त्यसलाई यो प्रदेशको सरकारले आफ्नो शक्ति प्रदर्शन हुने अवसरका रूपमा लिएछ ।

त्यससम्बन्धी समाचारको एउटा विवरणले नै सो कुरा बताउँछ । समाचारमा भनिएको छ– विराटनगरस्थित सहिद रंगशालामा प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले लामो भाषण गरेपछि खेल हेर्न पुगेका दर्शकबाट विरोधको सामना गर्नुपरेको छ, प्रदेश राजधानीको औपचारिक कार्यक्रममा मन्त्री राईले लामो भाषण गरेपछि उपस्थित दर्शकले ‘हुटिङ’माफर्त भाषण छोट्याउन आग्रह गरे, सामाजिक विकास मन्त्रीको जिम्मेवारी प्राप्त गरेर पदभार ग्रहणपछि विभागीय मन्त्रीको रूपमा सहभागी भएको पहिलो कार्यक्रममै उनले भाषण रोक्न भन्दै हुटिङको सामना गर्नुप-यो, उनको सम्बोधन गर्ने पालो आउँदा निकै ढिलो भइसकेको थियो, दर्शकले खेलकुद सुरु गर्न आग्रह गरिरहेका थिए तर, मन्त्री राईले भने आफ्नो भाषण छोट्याउनुको साटो झन् लम्ब्याउन थालेपछि रंगशालाको पूर्वपट्टिको प्यारापिटमा खचाखच भरिएका दर्शकले ‘नो भाषण’ भन्दै हुटिङ गर्न थाले ।

यो समाचारले नै बताउँछ यस्तो संवेदनशील समयमा हजारौँ मान्छे भेला हुने कार्यक्रमको आयोजना ग¥यो त्यहाँको सरकारले । त्यसपछि मन्त्रीहरूले यस्तो भाषण गरे जसका विरुद्ध दर्शक नै उत्रन प-यो । तेस्रो कुरा यति ठूलो जमघट दुई÷तीन घण्टा नै एकै ठाउँमा बसिरह्यो । यो ठाउँमा अर्को ध्यान दिनुपर्ने विषय हो यति ठूलो संख्याका दर्शकहरूले मास्क समेत लगाएका थिएनन् र बसाइको दूरी कस्तो भने कुम समेत खुम्च्याउनु पर्ने । चित्रमा त्यस्तै दृश्य देखिएका थिए ।

यसको केही दिनअघि प्रधानमन्त्री आफैँ एउटा ठूलो दलबलसहित काठमाडौँको रंगशालामा फुटबल हेर्न पुगेका थिए । उपत्यका पछिल्लो समय सबैभन्दा बढी संक्रमितको दर विस्तार भइरहेकोमा पर्छ । त्यसको केही दिनपछि प्रधानमन्त्रीले नै एउटा कोठामा हजार दुई हजारको संख्याको उपस्थितिमा एउटा व्यापारी संस्थाको साधारणसभाको उद्घाटन गरे । त्यही सभामा हो प्रधानमन्त्रीले अम्बाको पात खाए कोरोना चट हुने भनी टिप्स दिएको जो धेरै आलोचित रह्यो । त्यसको अर्को दिन फेरि अर्को सभाको उद्घाटन भयो त्यसमा सरकार परिवर्तन गर्न खोज्नेमाथि प्रहार भयो । यी विवरणको तात्पर्य के हो भने सरकार भाषणमा बाहेक कोरोना रोकथाममा अनुकरणीय हुनेगरी संवेदनशील भएन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया