Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयइन्धनको मूल्य वृद्धिमा सरकार अविवेकी

इन्धनको मूल्य वृद्धिमा सरकार अविवेकी


काठमाडौं । पछिल्लो समय सरकार मूल्य वृद्धिमा हदैसमम्मको अविवेकी बन्दै गएको छ । जब–जब इन्धनको मूल्य बढ्छ त्यसको हरेक दिन वा पटक नागरिकहरूले प्रश्न सोधिरहने गरेका छन्, यस्तो ज्यादती किन र कहिलेसम्म ? तर सरकार भने मौन छ । यो प्रश्न सोधाइ हो यतिधेरै कर थुुपारेर इन्धन यति महँगो किन बनाइयो ? इन्धन भनेको त्यस्तो वस्तु हो यो बढेपछि त्यसले चौतर्फी प्रभाव पार्छ । जस्तो यातायात, सामान ढुवानी आदि यसका क्षेत्र हुन् । यी ठाउँ महँगा भए भने बजार छोई नसक्नुको हुन्छ । यतिबेला त्यही भइरहेको छ । हो, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको होला तर नेपालमा जस्तो बढेको छ त्यो अचाक्ली नै भयो । कारण हो सरकारले करमा वृद्धि गर्नु । कतिपय अवस्था कर कटौती गरेर पनि इन्धनको मूल्यमा राहत दिने गरिन्छ । संसारका मुलुकहरूले धेरै पटक त्यसो गरेका छन् । तर नेपाल भने त्यसमाथि कर थप्ने गर्छ ।

आजकै दिनमा भन्ने हो भने करिब ९० रुपैयाँमा किनेर सरकारले आफ्ना नागरिकलाई पेट्रोल एक सय ५० मा बेचिरहेको छ । सरकार दिनमा लाखौँ नाफा गरिरहेको छ तर नागरिकका हारगुहार सुन्दैन । यसरी बेच्दा पनि अझै भनिरहेको छ घाटा भयो । सरकारको अविवेकी काम भनेको नै यही हो । पेट्रोलियम पदार्थको मूल्य यतिबेला इतिहासकै उच्च हो । एक लिटरको एक सय ५० भनेको उपभोक्ताले धान्नसक्ने प्रकारको हुँदै होइन । पछिल्लो समय त एकैदिन पाँच/पाँच रुपैयाँका दरले बढाइयो । यसअघि एक/दुई रुपैयाँको दर कायम थियो यस्तो वृद्धिको । यो वृद्धि सरकारले लगाएको अनावश्यक करका कारण पनि भएको हो ।

इन्धनमा कतिपय यस्ता कर पनि छन् जो मदिरा सुर्तीजन्य वस्तुमा लगाइन्छ । इन्धन भनेको त्यस्तो होइन । यो अत्यावश्यक वस्तुमा पर्छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ सूचीअनुसारको मूल्य भनेको छ सरकारले । त्यो होला पनि । तर उसले तोकको भन्दा अर्थात् नेपालले खरिद गरेको मूल्यभन्दा ६०–७० रुपैयाँ बढी हुनु भनेको सर्वसाधारणमाथि सरकारको लुट नै हो भने हुन्छ । यस्तो सङ्कटको बेला छिमेकी देश भारतले पनि कर घटाएर राहत दिएका उदाहरण छन् । के हाम्रो सरकारले त्यसको अनुकरण गर्न मिल्दैन ? यो प्रश्नको उत्तर सरकारले कहिल्यै दिएको छैन । यो जवाफदेही सरकारको चरित्र होइन ।

पछिल्लो समय आईओसीबाट ९३ रुपैयाँ ७६ पैसामा खरिद गरेको पेट्रोलमा ५९ दशमलव ४८ रुपैयाँ, ९४ रूपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२ दशमलव १६ रुपैयाँका दरले कर लिइरहिएको छ । यति हुँदा पनि पेट्रोलमा १६ रुपैयाँ २८ पैसा, डिजेलमा ११ रुपैयाँ ७८ पैसा घाटा रहेको बताइएको छ । यसरी घाटा देखाउनु भनेको आजभोलि नै फेरि मूल्य बढाउने तर्खरको संकेत हो भन्ने बुझ्न सकिन्छ । सधैँभरि यस्तै हुँदै आएको छ । करका कुरा गर्दा पूर्वाधारका नाममा उठाइएकोले सर्वसाधारणलाई यस्तो पीडा दिएको बुझ्न सकिन्छ ।

पूर्वाधारका नाममा सरकारले प्रतिलिटर १५ रुपैयाँ कर उठाइरहेको छ । बूढीगण्डकी जलविद्युत् परियोजनाका नाममा मात्रै पुगनपुग खर्बको हाराहारीमा रकम उठाइसकिएको छ तर त्यो कहाँ छ भन्ने यकिन छैन । यस्ता करमा छुट दिने हो भने पनि नागरिकलाई तत्काल राहत हुन्छ । तर सरकार यसतर्फ सोच्न पनि तयार देखिएको छैन । यही हो सरकारको अविवेकी काम भनेको ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x