Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकृषिप्रधान देशमा कृषकको कन्तबिजोग

कृषिप्रधान देशमा कृषकको कन्तबिजोग


काठमाडौँ । नेपाल कृषिप्रधान देश हो । जनसंख्याको ठूलो प्रतिशतको गुजाराको माध्यम कृषि नै हो । तर राज्यको आँखा भने यो क्षेत्रमा परेको पाइँदैन । यो क्षेत्रका लागि वा यसको विकासका लागि राज्य कहिल्यै पनि तयार भएन । भन्नेबेलामा चाहिँ कृषि विकासका लागि धेरै कुरा प्राथमिकतामा राखिएको भनिन्छ । तर आवश्यकता परेको बेला ती वस्तु उपलब्ध हुँदैनन् । न सिँचाइ छ, न चाहिएको बेला बीउबिजन र मलखाद पाइन्छ । यस्तो कठिन परिस्थिति पार गर्दै उत्पादन भइहालेका वस्तुले बजार पाउँदैनन् पाए भने मूल्य पाइँदैन ।

यो कुनै एउटा वस्तुको मात्र होइन हरेकमा त्यस्तै छ । किसानले उत्पादन गरेको उखुको बिक्रीको रकम प्राप्त गर्न वर्षैपिच्छे आन्दोलन गर्नुपरेको अवस्था प्रत्येक वर्षका नियमित कामजस्तै भइसकेका छन् । त्यही क्रममा अहिले चितनवनका तरकारी उत्पादक किसानले बाटोमा तरकारी फालेर देशको ध्यानाकर्षण गरेका कुरा आयो । यस्ता दुःखद दृश्य सामान्य भइसकेका छन् ।

चितनवनका किसानको यो आक्रोशपूर्ण र दुःखद सन्देश दिने कामलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका माग सम्बोधन गर्न भन्दै एउटा निर्देशन दिए । आफ्ना उत्पादनले उचित मूल्य नपाएको भन्ने तरकारी उत्पादक किसानको माग हो । यसबारेमा भेरै पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि चितवनका किसान आफ्ना उत्पादन सडकमा फालेर यो रूपमा आन्दोलनमा उत्रिएका हुन् । त्यसपछि बल्ल प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराए ।

यो मन्त्रालय आफैँले पनि यी दृश्यहरू देखिरहेको थियो तर आफैँ केही सम्बोधन गर्ने पक्षमा देखिएन । गएको शुक्रबार चितवनका किसानले यो रूपमा तरकारी र अन्य कृषिजन्य उत्पादले उचित मूल्य नपाएको भन्दै सडकमा फालिरहँदा कृषि तथा पशुपन्छी विकासमन्त्री संयोगवश चिवतनमै रहेको पाइयो । तर उनले ती किसानसँग सम्पर्क समेत गरेको भन्ने कतै जानकारी आएन । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन कडा निर्देशन दिएको भन्ने प्रधानमन्त्रीको सचिवालयले नै जनाएको हो ।

टेलिभिजनमा आएका दृश्यहरूअनुसार त्यसबेला धेरै ठूलो मात्रामा तरकारीहरू सडकमा फालेर नष्ट गरिएका थिए । तयारी भइसकेका वस्तु यसरी नष्ट गर्नु आफैँमा एउटा ठूलो नोक्सानी हो । आफ्ना पीरमर्का सरकारलाई सुनाउन यस्तो नोक्सानी व्यहोर्न किसान तयार भएको अवस्थाले पनि उनका पीडाको मात्रा निर्धारण गर्छ । दुध सडकमा पोखिन्छ । ‘मिल्क होलिडे’ त नियमितजस्तै भइहाल्यो । धानको भाउ नपाएर किसानहरूले अर्को वर्ष यो बाली नलगाउने भनेर प्रत्येक वर्ष भन्दै आउनुपरेको छ ।

किसानका नामको अनुदान सहुलियत समेत पहुँचवालाले पचाइदिने गरेका समाचार आइरहेका हुन्छन् । यी सबै दृश्यहरूलाई एक ठाउँमा राख्दा वास्तवमा नै कृषिक्षेत्र कति अपहेलित भइरहेछ भन्ने देखिन्छ । जुनबेला कृषकलाई सरकार चाहिने हो त्यो बेला ऊ आफैँ गायब हुन्छ । भैपरी आएर पशुपालक किसानले हारगुहार गर्दा त्यसको कतै सुनुवाइ हुँदैन । यस्तो क्रम बढ्दै जाँदाको परिणाम हो चितवनको तरकारी खबरदारी । आफूले बेचेको बालीको भुक्तानी माग्दामाग्दै उखुकिसानको ज्यानै गएको देश हो यो ।

चितवन किसानले सडकमा पोखेका तरकारीले चाहिँ के गर्छ हेर्न बाँकी छ । तर विगतका घटनाले नै बताइरहेका छन् यो घटना पनि अरुजस्तै केही दिनको चर्चापछि सेलाउनेछ । त्यस्तो नहोस् भन्ने कामना हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया