Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदुई सम्माननीयको विवाद

दुई सम्माननीयको विवाद


संसद् सचिवालयको सहसचिव नियुक्तिको विषयलाई लिएर प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच विवाद भएको छ । संसद् सचिवालयका महासचिव मनोहर भट्टराईले कार्यकाल सकिएपछि खालि भएको उक्त स्थानमा आफू निकटको व्यक्ति ल्याउने विषयमा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाबीच विवाद भएको हो । भट्टराईको कार्यकाल सकिएपछि सभामुख सापकोटाले प्रतिनिधिसभाका सचिव तोकेकोमा विरोध जनाउने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना पूर्वएमालेका नेता हुन् भने सभामुख सापकोटा पूर्वमाओवादी नेता हुन् । एमाले र माओवादी नामका दुई पार्टी मिलेर नेकपा बनेको हो । अहिले संसद्मा नेकपाको झण्डै दुई तिहाइ बहुमत रहेको छ तर पनि एमाले र माओवादी खेमा सर्लक्कै छुट्टिँदै आएको छ ।

संसद् सचिवालय प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको साझा सचिवालय हो । त्यहाँ हुने नियुक्ति दुवैको सहमतिमा हुनुपर्दछ । तर, माओवादी कोटाबाट प्रतिनिधिसभाको सभामुख बनेका कृष्णबहादुर महरा करणी काण्डमा परेर हटेपछि त्यहाँ माओवादी कित्ताकै अग्नीप्रसाद सापकोटाको नियुक्ति भएको हो । सभामुख नियुक्त हुनेबित्तिकै सापकोटाले एकलौटीरूपमा आफूखुसी कार्यवाहक महासचिव तोकेपछि झण्डै दुई वर्षअघि पार्टी एकता गरेर दुई पार्टीका संसद्हरू नेकपका संसद् बनेपछि अहिले पानीमा फिटिएको तेलजस्तो भएको छ ।

संसद्मा सत्तारुढ नेकपाका को एमाले, को माओवादी भनेर इतिहास कोट्याइरहनुपर्ने अवस्था छैन । को कताका हुन् भनेर सजिलै छुट्टयाउन सकिने अवस्था छन् । यसरी चिन्न सकिनु नै ठूलो कुरा होइन । एउटा कर्मचारी नियुक्तिको विषय यसरी गहिरो तुस बन्दै जानु राम्रो लक्षण होइन । सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले उही संसद्को एउटा अङ्ग राष्ट्रियसभाका अध्यक्षसँग परामर्श नै नगरी परमर्श गरेको भनी झूटो बोलेर एक्लै संसद्को कार्यवाहक महासचिव तोकेको हो भने त्यसलाई राम्रो गरिएको भन्न सकिँदैन सभामुखले परामर्श गरेर कार्यवाहक महासचिवको कुरालाई पछि कुरा फेरेर राष्ट्रियसभाका अध्यक्षले झूटो बोलेको भई त्यसलाई पनि राम्रो मान्न सकिँदैन । यी दुवैखाले झूट मान्य हुँदैन । यति धेरै मानिएका माननीयहरूका पनि माननीय अर्थात् सम्माननीयहरू नै यसरी झूट बोल्दछन् र एउटा कर्मचारी नियुक्तिको विषयमा यसरी झगडा गर्छन् भने यस्ता सम्माननीयहरूबाट जनताले ठूलो आसा गर्नु नै बेकार छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया