Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविदेशमा निष्काशनमा पर्नेहरूका बारे

विदेशमा निष्काशनमा पर्नेहरूका बारे


काठमाण्डौं,वैशाख ४
नेपालमा लकडाउन सुरु भएपछि नेपाल–भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोग्नुपरेको अप्ठ्यारो र उहाँहरूको भावनालाई हामीले बुझेका छौँ । संक्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवत–जावत बन्द गर्नैपर्ने बाध्यता छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरूलाई देशभित्र भित्र्याइनेछ । विश्वव्यापी संकटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरूको हो ।

नेपालले सीमित साधन स्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरूको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ, असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरूबाट माया र संरक्षण पाउने छन् ।’ प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा विदेशमा रहेका नागरिकहरूबारे यसरी बराबरीको व्यवहार हुने बताएका थिए । उनले राष्ट्रपति र आफूले अन्तर्राष्ट्रिय क्षेत्रमा निरन्तर सम्पर्क गरेर स्थिति बुझिरहेको र विदेशमा रहेकाहरूका अवस्था राम्रो रहेको पनि भनेका थिए । तर, व्यवहारमा त्यस्तो भएको देखिएन ।

छिमेकी देशले त्यस्तो नमान्दा नमान्दै पनि दुःखसुख व्यवहार चलेको आवस्था देखिन्छ तर तेस्रो देशमा यस्तो सम्भव हुँदैन । सरकारले ‘नेपालमा रहेका विदेशीहरूको हेरचाह गरिरहेकाले विदेशका सरकारहरूले पनि त्यस्तै व्यवहार गर्नुपर्ने’ अपेक्षा गुर्न अस्वाभाविक होइन । यतिबेलको मानवीय धर्म पनि त्यही हो । वास्तवमा नै नेपाल यतिबेला संसरकै आकर्षक ठाउँमा छ संक्रमणका दृष्टिले ।

यसकारण अन्यत्रका मान्छे यो ठाउँमा बस्न चाहन्छन् होला । त्यसको बन्दोबस्त नेपालले गरिरहेको छ । बाहिर रहेका नेपालीले पनि त्यस्तै सहयोग र सद्भाव पाउन भन्नेमा हार्दिक कामना हुँदाहँुदै त्यस्तो हुन पाएको देखिएन । कतिपय अवस्थामा त नेपालीहरू निश्कासनमा नै परका विवरणहरू आउन थालका छन् । असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरूबाट माया र संरक्षण पाउने छन् भन्ने कामनाअनुसारको काम नहुँदा नेपालीहरूले दुःख पाउने स्थिति बन्दै गएको हो । यतिबेला खासगरी वैदेशिक रोजगारीमा गएका कामदारहरू संकटमा परेका पाइयो । उनीहरू आफ्नो देश फर्कन रहर लागेर सरकारलाई घचघच्याएका होइनन् । परिस्थिति कस्तो बन्यो भने उनीहरूलाई विभिन्न मुलुकले फिर्ता गर्न अनेक दबाब दिन थालका छन् ।

जब कुनै देशले अरु देशका नागरिकलाई घर फर्क भनेर दबाब दिन्छ भने त्यस्तो बेला कुनै कानुनी पक्षले केही गर्न सक्तैन । त्यस्तो बेला विदेशी नागरिक त्यो देशमा लावारिस भएर बस्नुपर्छ । यतिबेला त्यसरी लावारिस जीवन बिताउने समय पनि छैन । यतिबेलासम्म कतिपय यस्ता देशहरूले आफ्नै खर्चमा मान्छे पठाउने तयारीमा छन् भन्ने जानकारी आएको बताइएको छ । माल्दिभ्सले बन्द भएका होटेलका आप्रवासी कामदारलाई निश्चित पारिश्रमिक र फिर्ता टिकटको समेत व्यवस्था गरिदिएको भन्ने त्यहाँ काम गर्ने नेपाली कामदारले नै जानकारी गराएका छन् । सरकारले यस्तो अवसरलाई सदुपयोग गर्नु पर्छ । यो अवसर गुम्यो भने उता आफ्ना नागरिकले दुःख पाउँछन् र यता देश नै मानवता नभएको भनी चर्चामा आउन थाल्छ । परेको बेलामा त हो राज्य चाहिने ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया