Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता“कालापानी मात्र होइन नाभी, गुञ्जी, कुटी पनि फिर्ता ल्याउनु पर्छ”

“कालापानी मात्र होइन नाभी, गुञ्जी, कुटी पनि फिर्ता ल्याउनु पर्छ”


काडमाण्डौँ,माघ ७
डा. द्वारिकानाथ ढुङ्गेलपूर्वसचिव, जलस्रोत र भूमिसुधार मन्त्रालय

नेपाल र भारतको सीमामा पछिल्लो समय विवाद देखिएको छ । भारतले एकतर्फीरूपमा नयाँ नक्सा सार्वजनिक गरेपछि दुवै देशबीच सीमासम्बन्धी विवाद बढेको हो ।अहिले विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको विषयमा विवाद देखिएको छ । यही बीचमा सीमाविज्ञको रूपमा रहेका पूृर्वप्रमुख जिल्ला अधिकारी एवं पूर्वसचिव जलस्रोत रभूमिसुधार मन्त्रालयका डा. द्वारिकानाथ ढुङ्गेलसँग नेपाल र भारत सीमाको विषयमा केन्द्रित रहेर आर्थिक दैनिकका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अशं :

नेपाल र भारतबीच कालापानी विवादको जड के हो ?
कालापानीभन्दा पहिले नेपालको पश्चिम सिमाना कहाँ हो भन्ने बुझ्न जरुरी छ । नेपाल–भारत सीमा ४ मार्च १८१६ मा भएको सुगौली सन्धिको धारा ५ ले नेपाल–भारत सीमा महाकाली नदी भन्ने उल्लेख छ । सन्धिको धारा ६ ले ‘नेपालका राजा र उत्तराधिकारीहरूले कालीभन्दा पश्चिमको भू–भागमा दाबी गर्न पाउने छैन’ भन्ने उल्लेख छ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाको कालापानी, लिपु र लिम्पियाधुराको तीन गाउँ गुन्जी नाभी र कुटीलगायतका क्षेत्रका तीन सय ९७ वर्ग किलोमिटर हाल भारतले आफ्नो राजनीतिक नक्सामा पारेको छ । नेपाल भारतको सीमाको विषयलाई लिएर सीमासम्बन्धी काम गर्ने समिति छ । त्यो समितिले ९८ प्रतिशत काम पूरा गरिसकेको छ भने बाँकी दुई प्रतिशत भनेको पश्चिम नवलपरासीको सुस्ता र दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको हो । अब समितिले आ–आफ्नो सरकारलाई रिपोर्ट बुझाएकै छैन उता भारतले एकलौटीरूपमा नक्सा प्रकाशन गरिसक्यो । हालको विवाद भनेको यही नै हो ।
काली नदीको वास्तविक उद्गमस्थल लिपुलेक भञ्ज्याङ्गभन्दा उत्तर–पश्चिममा पर्ने लिम्पियाधुरा रहेको छ । कालापानी मात्रै होइन, लिम्पियाधुरासमेत नेपालको हो । नेपाल, चिन र भारतको सीमानामा कालापानी त्रिकोणाकारमा रहेको छ । कुटीयाङ्दी (काली) र लिपु खोलाले यसलाई त्रिकोणाकार बनाएको छ । नेपालले काली अर्थात् कुटीयाङ्दीको मुहानलाई महाकाली नदीको मुहान भन्दै आएको छ भने भारतले लिपु खोलाको मुहानलाई महाकाली नदीको मुहान भन्दै कालापानीमा अतिक्रमण गरेर कब्जा जमाएको छ । कालीको मुहानलाई महाकाली नदीको मुहान मान्दा कालापानी नेपालमा पर्छ भने लिपु खोलको मुहानलाई महाकालीको उद्गमस्थल मान्दा कालापानी भारतमा पर्छ । यही विवादका कारण सन् १९६२ देखि कालापानीको एक सय ९५ वर्ग किलोमिटर नेपाली भूमि भारतले कब्जा गरिरहेको छ । कालापानीको पश्चिमतिरबाट बग्ने काली अर्थात् कुटीयाङ्दीको मुहान नै महाकालीको उद्गमस्थल भएको नेपाली पक्षको प्रमाणसहितको दाबी छ । ऐतिहासिक तथ्यहरूले पनि कुटीयाङ्दीको मुहानलाई नै महाकाली नदिको उद्गमस्थल देखाएको छ ।
सन् १८५६ सम्म भारतले लिपु खोलालाई महाकालीको स्रोत भनेको छ । सन् १९६२÷६३को भारत र चीनबीचको युद्धपछि लिपु खोलाको दायाँको समथर भूमि जुन रणनीतिक हिसाबले पनि भारतको लागि महत्वपूर्ण छ । त्यसैले यो उनीहरूको अतिक्रमणमा प¥यो । कालापानीमा ६२ वर्ग किलोमिटरमा सैन्य क्याम्प रहेको छ । तीन सय ४५ किलोमिटर त पहिल्यै अतिक्रमण भएको हो । परराष्ट्र सचिवस्तरमा टुंग्याउने सहमति भएकोमा आजसम्म किन त्यो विषयमा कुरा उठेन ? राष्ट्रहितको विषयमा लापरबाही र ढिलासुस्ती गर्ने काम कसबाट भएको हो ? तिनीहरूका विरुद्धमा कानुनी उपचारको काम गरिनु पर्दछ । कालापनीमा कृत्रिम काली र शिवको मन्दिर र मन्दिरको अगाडी सानो पानी जम्ने आहाल बनाएर त्यसको पानी लिपु खोलामा झारेर अतिक्रमण गरेको छ । तर, वास्तविक सीमा भनेको लिपु खोला नै हो । तसर्थ नदिको मुहान लिम्पियाधुरा हो ।
तपाईं त दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी भइसक्नुभएको व्यक्ति, तपाईंको कार्यकालमा कालापानी, लिपुलेक र लिम्पियाधुरा

विवादका विषयमा के–कस्ता कामहरू भए ?

म २०३६ कात्तिकदेखि २०३८ चैतसम्म करिब ३० महिना दार्चुला जिल्लाको सीडीओ थिएँ । मलाई जाने बेलामा तालुक गृहमन्त्रालयले केही जानकारी दिएको थिएन । जिल्लामा पुगेपछि नेपाली भूमि व्यास क्षेत्रमा पर्ने कालापानीमा भारतीय अतिक्रमणमा परेको थाहा पाएँ । मैले २०३७ सालको साउन महिनामा सीमाको अध्ययन गर्न सार्वजनिक निर्माण शाखाको इन्जिनियर र एलडीओसहितको टोली लिएर गएको थिएँ । तर, बाटोमा जाँदै गर्दा भूकम्प आयो । त्यसैले व्याससम्म पुगेर फर्केको थिएँ । पछि अञ्चलाधीश र गृहमन्त्रालयलाई समेत जानकारी २०३८ को साउन महिनामा लिपु दर्राको टिङ्गकरमा रहेको स्तम्भ नम्बर एक निरीक्षण गरेँ । त्यसपछि तिब्बतको ताक्लाकोटमा गएर तिब्बतीयन प्रशासनसँग सीमा तथा चरिचरनको विषयमा समेत छलफल गरेको थिएँ । फर्कने क्रममा व्यास क्षेत्रको छाङ्गु्रु गाउँकोे सीतापुल तरेर गुञ्जी हुँदै कालापनी पुगेको थिएँ । त्यहाँ भारतीय इण्डो तिब्बतीयन बोर्डर पुलिसले सुरक्षा दिएको थियो । दुई÷तीन घण्टा त्यस इलाकामा निरीक्षण गरेका थियौ । पहाडको फेदीमा शिव र कालीको मन्दिर बनाएको र त्यसको अघि पोखरी बनाएर राखेको थियो । भारतीय सुरक्षाकर्मीहरूले त्यसको थोरै दक्षिणतर्फ भारतीय भूमि पर्छ भन्ने दाबी गरेको थियो । तर, कालापानीको उत्तरपश्चिमतर्फको जोलिङ्गाङबाट कालीनदी बगेको भन्ने स्थानीयहरूले हामीलाई बताएका थिए । त्यो दिन रात परिसकेको थियो । हामी फर्केर गब्र्याङ रहेको भारतीय इण्डो तिब्बतीय बोर्डर पुलिसको ब्यारेकमा त्यो एक रात बस्यौँ । त्यस दिन हामीले भारतीय सुरक्षाकर्मीहरूलाई दिने सेवा सुविधाका विषयमा समेत बुझेर भोलिपल्ट छाङ्ग्रु हुँदै फर्केको थियौँ । मैले भदौको पहिलो हप्ता हाम्रो निरीक्षण भ्रमणको गृहमन्त्रालय र अञ्चलाधिशको कार्यालय महेन्द्रनगरमा “व्यास क्षेत्रको भ्रमण प्रतिवेदन” भन्ने विषय राखेर रिपोर्ट पठाएको थिएँ । त्यसमा दुईवटा पाटो थियो । एउटा नेपाल र चीनको सीमास्तम्भ र नेपाल र चीनको जिल्लास्तरिय सम्बन्ध भन्ने विषय थियो भने अर्को कालापानी क्षेत्रको भ्रमण र महाकालीको स्रोत भन्ने । मैले रिपोर्टमा सीमा समस्या निराकरण गरेर नेपालको राष्ट्रिय झण्डा पहराउनु पर्छ भनेर नजरिया नक्सासमेत राखेर पठाएको थिएँ । त्यो विषयमा गृहले मसँग कुनै कैफियत पनि सोधेन । अहिले मेरो प्रतिवेदन बेपत्ता छ ।
त्यसो त सरकारसँग तीनवटा महत्वपूर्ण प्रतिवेदन छ । पहिलो पटक सरकारले नै २०३० सालमा गृह र परराष्ट्रका दुई सदस्यीय टोली पठाएर जाँचबुझ गर्न लगाएको थियो । त्यो बेलामा पनि सरकारलाई ‘नेपालको भूमि अतिक्रमणमा परेको’ भनेर प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसपछि २०३८ सालको मेरो रिपोर्ट भयो । २०४५÷४६ मा डिल्लीराज जोशी सीडीओ भएर गएपछि उहाँले पनि विष्तृत प्रतिवेदन पठाएको थियो । दुःख गरेर पठाएको प्रतिवेदनहरूको कुनै उपयोग गरेको देखिँदैन ।

भूमि सुधार र जलस्रोत सचिव पनि हुनुभयो । सचिव भएपछि त मन्त्रीहरूसँग सम्पर्कमा भइराख्नुहुन्थ्यो होला । त्यो समयमा केही पहल गर्नुभएन ?

विसं २०५१ सालमा म भूमिसुधार सचिव थिएँ । मैले त्यतिबेला पनि यो विषयमा कुरा उठाएको थिएँ । नक्सा समितिमा छलफल हुन्छ । नक्सा समितिमा छलफल कार्यसम्पादन नियमावलीअनुसार क्याविनेटले पनि पास गर्नुपर्छ । कालापानीलगायतका विवादित विषयमा मैले मन्त्रालयमा कुनै पनि निर्णय पाइनँ । त्यसैले त्यो विषय सतही मात्र आउने तर कार्यान्वयनको तहमा नआउने गरेको विषय हो ।
महाकाली सन्धिको लागि होमवर्क हुँदै थियो । म हाजिर भएको तीन दिनमै मैले यो नगरौँ महाकालीको विवाद सर्कौ, टनकपुर टुङ्ग्याउँ भनेको हुँ । जलस्रोत मन्त्री पशुपतिसमशेर राणाले मलाई यो विषय राजनीतिकरूपमा सहमति भइसक्यो भन्नुभयो । तैपनि मैले कानुनका विशेषज्ञहरूसँग छलफल गरेँ । विसं २०५२ देखि २०५५ सम्म म जलस्रोत सचिव थिएँ । महाकाली सन्धिको अनुमोदनको समयमा नेकपा एमाले सरकारको प्रतिपक्षमा थियो । सन्धि अनुमोदन गर्न केपी शर्मा ओलीको नेतृत्वमा बनेको अनुमोदन समितिलाई मैले कालापानीको विषयमा जानकारी गराएको थिएँ । त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहन्थ्यो । अध्ययनकै क्रममा मैले हालका प्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल, राधाकृष्ण(आरके) मैनाली र माधवकुमार नेपाललाई राति मेरो घरमै बोलाएर कालापानी समस्याको विषयमा समेत अवगत गराएको थिएँ । राति १२ बजेसम्म बसेर गएका पनि हुन् । उहाँहरू सबै जानकार हुनुहुन्छ । त्यही व्यक्ति हालका शक्तिशाली सरकारका नेतृत्व गर्दै छन् । बलियोसँग प्रस्तुत भइदिँदैनन् त के गर्ने हामीले ?

तपाईंको कार्यकालमा त्यहाँ नेपाली सुरक्षाकर्मी राख्न प्रयास गर्नुभएन ?

टिङ्कर र सीतापुरमा प्रहरी पोष्ट थियो, त्यो हाल पनि छ । तर, समस्या भनेको मंसिरदेखि वैशाखसम्म त्यहाँ अत्यधिक चिसो हुने हुनाले तिनीहरू सदरमुकाम या आसपास आएर बस्छन् । त्यो अवधिमा नेपालतर्फ सुरक्षाको दृष्टिकोणले खाली हुन्छ । नेपालतर्फ राम्रो जंगल छ र जंगली जनावरहरू पनि धेरै छन् । नेपाली सुरक्षाकर्मीहरू नभएको मौकामा भारतीय जनताहरू आएर नेपालतर्फको रुख काटेर लैजाने र जंगली जनावारसमेत मारेर लैजाने गर्छन् । त्यस कारणले भारतीयहरूले जस्तै नेपाली सुरक्षाकर्मीहरूलाई पनि भौतिक पूर्वाधार बनाएर निरन्तररूपमा परिचालन गरिनुपर्छ भनेर मैले तालुक गृहमन्त्रालयमा रिपोर्ट पठाएको थिएँ ।

त्यसो भए नेपाली नै लाचार भएको हो त ?

राज्यको लाचारीपन भनौँ या उदासीनता । मुख्य कुरा राज्यको उपस्थिति देखिएन । त्यो ठाउँ पहिले राणा शासानमा पनि सरकारको नजरमा त्यत्ति परेको थिएन र प्रजातन्त्र आएपछि पनि यो ठाउँ बेवास्तामै प¥यो । विसं २०३२ सालमा सीमा प्रशासन योजना बनेपछि सीमा प्रशासन शाखा छाङ्ग्रुमा बस्यो । जुन समयमा भारतीयहरू कालापानी हाम्रो हो भनेर बस्न आइसकेको थियो । सडक तथा पुललगायतका सामान्यभन्दा सामान्य सुविधा त पु¥याइदिनु प¥यो नि । २०३० सालदेखि त सरकारलाई राम्रैसँग थाहा छ तर बेवास्ता गरेको छ । म २०३६ सालमा दार्चुला जाँदा तीन दिन लगाएर गएको थिएँ । सदरमुकामको जनजीवन र पूर्वाधार सम्झँदा अहिले पनि कहाली लागेर आउँछ । अब त्योभन्दा नब्बे किमिमाथिको कुरा कसरी वर्णन गरौँ ? विसं २०७३ मा म, रतन भण्डारी र जगत भुषाल मिलेर कालापानी गएका थियौँ । यात्रा अनुमतिपत्र भारतीयहरूले दिनमा भारतीयहरूले कडाइ गर्दारहेछन् । पिथौरागढ जिल्लाको दार्चुला उपजिल्लाको जोलजीवीभन्दा माथि मिलिटर नोटिफाइड इलाका घोषणा गरेको थियो । पहिले म सीडीओ हुँदा पहिलो पटक धार्चुलाबाट अनुमतिपत्र लिएर जानु पथ्र्यो । त्यसका लागि दार्चुलाको सीडीओको जारीपत्र लिएर दार्चुलाको सवडिभिजन प्रमुख(एसडीएम)ले सही गरेपछि मात्र बहुयात्रा अनुमतिपत्र हुन्थ्यो । अहिले जोजीविबाट तावाघाट सारेछन् । त्यसैले अहिले त्यहाँ जान समस्या रहेछ । पहिले म सीडीओ छँदा घोडेटो थियो हाल पुरानो बाटो छैन । हाम्रोतर्फ दार्चुलाभन्दा माथि दुम्लिङसम्म मात्र जान सकिन्छ । यसरी पनि हुन्छ र ?

कालापानी लिपुलेक लिम्पियाधुरा विवाद समस्याको निराकरणको उपाय के हुन सक्छ ?

अहिले माहौल तातेको छ । यो अवसरलाई गुमाउन भएन । निरन्तर लागेर सरकारलाई दबाब दिएर नेपालको भूमि फिर्ता ल्याउनु पर्छ । अब हामीले कालापानी मात्र होइन नाभी, गुञ्जी, कुटी पनि फिर्ता ल्याउनु पर्छ । त्यो जमिन विसं २०१५ सालदेखि २०२० सालसम्म नेपालकै हो । त्यतिबेला दार्चुला पनि बैतडी जिल्लामा थियो । त्यस इलाकाको राजस्व पनि नेपालले उठाएको थियो । भैरव रिसाल अञ्चलका हाकिम हुँदा खरिदार ऋषिराज द्विवेदीले त्यस इलाकामा जनगणना पनि गराएको रेकर्ड भेटिइसकेको छ । महाकाली सन्धिको समयमा सन् १९९६ मै नेपालका लागि भारतीय राजदूत केभी राजनले कालापानी क्षेत्र विवादित क्षेत्र भनेर बोलिसकेका थिए । त्यसपछि महाकाली सन्धिको कागजात लिएर जुन १९९७ मा भारतीय प्रधानमन्त्री इन्द्रकुमार (आईके) गुजराल नेपाल भ्रमणमा आउनुभएको थियो । नेपालका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द हुनुहन्थ्यो । नेपालका प्रधानमन्त्रीको व्याकअपका लागि वार्ता टोलीमा म पनि थिएँ । परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी हुनुहुन्थ्यो । त्यतिवेला भारतीय प्रधानमन्त्री गुजरालले कालापानी समस्या समाधानका लागि पहल गर्ने कुरा गर्नुभएको थियो भने राधिकापुरको बाटो प्रयोग गर्न दिने भनेर तत्कालै आफैँले निर्णय गरेर सहमत हुनुभएको थियो । स्थायी सीमाको लागि प्रधानमन्त्रीस्तरिय कुरा हुनुपर्छ । कर्मचारीको तहमा कुरा गरेर हुन्न । भारत आफैँले महाकाली सन्धिको समयमा भारतले नै यो विषय टुग्याउँछु भनेको हो । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदी नेपाल आउँदा सुस्ता र कालापानीमा विवाद छ । परराष्ट्र सहसचिवस्तरमा टुग्याउने भन्ने सहमती भएको थियो । पहिले त वार्ता हुनुप¥यो नि । पहिले हामीले हाम्रो कुरा दरिलो राखेर बलियो प्रमाण पेश गर्नुपर्छ । सुगौली सन्धिको धारा ५ र नदी विज्ञानको आधारमा पनि त्यो भूमि हाम्रो हो । सन् १८५६ सम्मको नक्सामा नेपालको सिमाना काली नदि नै उल्लेख छ । त्यो नक्सा पनि हाम्रो बलियो प्रमाण हो । अर्को कुरा हामीले त इष्टइण्डिया कम्पनीसँग सन्धि गरेको हो । त्यसैले ब्रिटिस सर्भेयर जनरल अफ इण्डियाको नक्सा खोजौँ । भारतले त्यो नक्सा निकालेन भने बेलायतसँग त हुन्छ नि । हामीसँग छ÷छैन थाहा छैन । अर्को कुरा नदिविज्ञानको कुरा त सबैले मान्ने र वैज्ञानिक विधि पनि हो । मूल नदीमा मिसिने सबैभन्दा ठूलो नदी कुन हो त्यही कालीको स्रोत हो । अझ माथिसम्म जाने हो भने पानी आउँदा सबैभन्दा माथिको टरेन अर्थात् खोल्सा नै काली नदिको मुहान हो । जुन सर्वव्यापी सिद्धान्त नै हो । यसरी यो सीमाको निराकरण गर्न सकिन्छ ।
नेपाल र भारत दुवै देशमा स्थायी र बलियो सरकार छ । राजनीतिकरूपमा नेपालको प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच छलफल गरेर टुङ्ग्याउनु पर्छ । भारतले बंगलादेशसँगको सीमानाको टुंगो लगाइसकेको अवस्था छ । अब भारतले सानो चित्त नगरी असल छिमेकीको भूमिका निर्वाह गर्नुपर्छ ।

१५ मे २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा भारत र चीनबीच कालापानी र लिपुलेक भञ्ज्याङ त्रिदेशीय व्यापार सम्झौता भएको थियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली २०७५ साल असारमा चीन जाँदा यो विषय उठान भएन । अब त्यो नाका खुल्यो भने फेरि विवादको नाममा असन्तोष पोख्नुभन्दा अरु केही गर्न सकिन्छ र ?

यो कुरामा चीनले पनि नेपाललाई बिर्सेकै हो । नेपाल र चीन मित्रराष्ट्र हुन् । त्यतिबेला नेपालको धारण बुझ्न जरुरी ठानिएन । नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु हालसम्म एकिन भइसकेको छैन । नेपाल र चीन सीमास्तम्भ सन् १९६० तिर भएकोमा १९६२ मा चीन भारतबीच युद्ध भएपछि तिनीहरूमा तिक्तता कायम भयो । त्यसैले नेपाल–चीनको सीमालाई त्रिदेशीय सीमा अर्थात् शून्य सीमा पिल्लर नराखेर एकबाट सुरु भयो । अब नेपाल, चीन र भारतको त्रीदेशीय बिन्दु खोजिनु पर्छ । नेपाल, भारत र चिनको त्रिदेशीय बिन्दु कायमै नगरी भारत र चीनबीच मात्र सन्धि हुनु गलत थियो । हामी पनि गम्भीर भएनौँ । केपी शर्मा ओली हिजोका दिनसम्म एउटा दलका नेता मात्र थिए । अब देशकै नेता बन्न जरुरी छ । यो विषयमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई भेट्न म, प्राध्यापक मोहनप्रसाद लोहनी, विहारीकृष्ण श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ र राजेश्वर आचार्य (चीनका लागि नेपालका पूर्वराजदूत) गएका थिएँ । यस्ता विषयमा राज्यले प्राज्ञिकहरूको सहयोग र सल्लाह माग्नका लागि आमन्त्रण गर्नुपर्ने थियो । त्यसबेलामा हामीहरूसँग प्रमाण पुग्ने कागजात छ कुुरा उठाउनुस् भनेका पनि थियौँ । तर, उहाँले हामीलाई बेवास्ता गर्नुभयो । पछि उहाँले डा. सूर्यनाथ उपाध्यायको नेतृत्वको छानबिन समिति बनाएको थियो । उपाध्यायले बुझाएको तीन सय पृष्ठको प्रतिवेदन सरकारमा अनाथ भएर बस्यो । पहिले किन समिति बनायो र पछि सरकारले बनाएको समितिको आधारमा किन कुरा गर्न सकेन ?

नेपाल–भारत सीमा विवाद बारम्बार आइरहनुको प्रमुख कारण के हो ?

नेपाल–भारतबीच १८ सय ८० किलोमिटर लामो सीमा छ । नेपालको २६ जिल्लाहरूले भारतलाई छोएको छ । जसमध्ये २३ जिल्लाका ७१ ठाउँमा सीमा मिचिएको पाइएको छ । जसमध्ये छ सय छ दशमलव तीन वर्ग किलोमिटर जमिन भारतले अतिक्रमण गरेको तथ्याङ्क पाइएको छ । नेपाल–भारत सीमा जोडिएको जिल्लाहरू धनुषा, बैतडी र डडेलधुरामा मात्र अतिक्रमण नभएको पाइन्छ । जसमध्ये सबैभन्दा धेरै कालापनी—लिम्पियाधुरा—लिपुलेक तीन सय ९७ वर्ग किमि (३७ सय हेक्टर) जमिन भारतले मिचेको छ । पहिलो कुरा त सरकारले पश्चिमतर्फको नक्सालाई सुगौली सन्धि र नदिविज्ञानको आधारमा लिम्पियाधुराको नक्सा समेटेर नेपालको औपचारिक नक्सा निकाल्नु पर्छ । छिमेकीहरूमा यस्तो आइरहनु सामान्य हो । तर, नागरिक समाजले झक्झक्याउनु प¥यो । अनि नेपालका शासक वर्ग प्रतिपक्षलगायतका राजनीतिक दलले पनि राष्ट्रभक्त भएर कुरा उठाउनु प¥यो । अहिले थामथुम पार्नका लागि केही गर्न खोजेको जस्तो मात्र गरेको छ, जुन राष्ट्रहितको दृष्टिले उपयुक्त र सही काम होइन ।

नेपाल–भारत सीमा विवादको स्थायी समाधान कसरी गर्न सकिन्छ ?
दायित्व बोध । केवल दायित्व बोध हुनुपर्छ सबैमा । तपाईं, हामी, राजनीतिकर्मी, शासक, नेतृत्व सबै जागरुक हुनुप¥यो । बलियोसँग कुरा उठाउनु प¥यो । खुट्टा कमाउनु भएन । खाली सबैले झारा टार्ने काम मात्र गर्नुभएन । सबै अद्यावधिक हुनु प¥यो । समस्या पालेर बस्नुभएन । प्रमाणसहित वार्ताका लागि आह्वान गर्नु प¥यो । कुरा कार्यान्वयनको चरणमा ल्याउनु प¥यो । अहिले माहोल बनेको छ । अहिले समाधान भएन भने हाम्रो भूमि गुम्यो भनेर जाने भयो । अर्को कुरा सरकारले स्पेसल एमिशरी बनाएर परराष्ट्र मन्त्रीलाई दिल्ली पठाएर प्रधानमन्त्रीहरूबीच आपसी कुराको वातावरण मिलाउनु प¥यो । यदि भारतले मानेन भने अन्तर्राष्ट्रिय न्यायालय या संयुक्त राष्ट्र संघमा पु¥याउनु पर्छ ।तपाईंको भनाइअनुसार के राजनीतिकर्मीहरू राष्ट्रिय अखण्डताप्रति उदासीन देखिएका हुन् ?हो, निर्वाचनको समयमा सीमाको मुद्दा उठाउने अनि अन्य समयमा चुपचाप बस्ने । केवल चुनावको समयमा यो विषयले प्राथमिकता पाउँछ तर समय गएपछि गौण भइदिन्छ । फेरि हालका सत्तामा भएका दल तत्कालीन नेकपा माओवादीका जनयुद्धमा जानुभन्दा अघिका अधिकांश मागहरू यसैसँग सम्बन्धित थिए । अब सरकारमा आएको बेलामा कार्यान्वयनको लागि पहल गर्नु उनीहरूको दायित्व पनि हो । तर, सत्तामा आएपछि उनीहरूले कसको शब्द बोल्छन् बुझ्नै गाह्रो ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया