Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताकर्मचारीलाई न्यूनतम तलब पनि नदिने कम्पनीहरू कोषमा आउन आनाकानी गरिरहेका छन्

कर्मचारीलाई न्यूनतम तलब पनि नदिने कम्पनीहरू कोषमा आउन आनाकानी गरिरहेका छन्


जुन उद्देश्य र लक्ष्यसाथ सामाजिक कोषको स्थापना गरिएको थियो, सोहीअनुरुप सफलता कोषले प्राप्त गर्न सकेको अझै छैन । सरकारले कोष स्थापना गर्दा नेपालमा नयाँ युगको सुरुवात भएको उद्घोष गरेको थियो । सामाजिक कोषले जस्तै काम गर्ने उस्तै प्रकृतिका अरु संस्थाहरु पनि छन् । तर यो नेपालको हकमा भने नयाँ कामको सुरुवात नै थियो । अरु संस्था र यसको सिद्धान्त नै फरक रहेको बताउँछन् कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली ।

कतिपय अवस्थामा श्रमिकहरु आफैँ आबद्ध हुन इच्छुक देखिएका छैनन् । यसैगरी रोजगारदाता कम्पनी पनि नै आबद्ध हुन चाहिरहेका छैनन् । किन यस्तो भइरहेको छ त ? ज्ञवाली भन्छन्, ‘श्रमिकलाई त यो कसका लागि र केका लागि भनेर पनि थाहा छैन । श्रमिकहरुले हिजो बुझाएको पैसा आजै प्रयोग गर्न पाए हुन्थ्यो भन्ने सोचेका छन् । यो नेपालको हकमा नितान्त नौलो कार्यक्रम पनि हो । यसभित्र बुझने र बुझाउने कुरा नै महत्वपूर्ण पाटो हो ।’ योगदानकर्ता, त्यसका प्रतिनिधि, ट्रेड युनियनका नेताहरु र कोष मिलेर सातवटै प्रदेशमा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको उनको भनाइ छ । कोषले लिएको लक्ष्य, भावी योजना र आगामी दिनमा यसले खेल्नसक्ने भूमिकाबारे आर्थिक दैनिकले ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले कोषको नेतृत्व गरेपछि गर्नुभएको उल्लेखनीय कामहरु के–के हुन् ?

म सामाजिक कोषमा संलग्न भएको छ महिना भएको छ । म यहाँ आउँदा रोजगारदाताको संख्या ३ हजार ८ सय थियो । यसैगरी योगदानकर्ता ३१ हजारको हाराहारीमा थिए । योगदानको रकम संकलन सुरु भएको थिएन । कोषमा कर्मचारीको दरबन्दी समेत थिएन । नेपाल सरकारका कर्मचारीहरु अस्थायी दरबन्दीमा आएर काम गरिरहेको अवस्था थियो । अहिले कोषको लागि चार तहदेखि ११औँ तहका ६० जना स्थायी कर्मचारीको व्यवस्था भएर पनि काम सुरु गरिसक्नुभएको छ । रोजगारदाताको संख्या अहिले १२ हजारभन्दा माथि पुगिसकेको छ । यसैगरी योगदानकर्ताको संख्या १ लाख ४० हजारको हाराहारीमा पुगेको छ ।

कोषमा कन्ट्रिब्युसनको काम म यहाँ आएपछि मात्र सुरु भएको र गत भदौ महिनाको अन्तिम हप्ताबाट यसको सुरुवात भएको हो । यसबाट आहिलेसम्म ४६ करोड रकम जम्मा भएको छ । योगदानकर्ताहरु जो हुनुहुन्छ, तीमध्ये चार जनाको दुर्घटनामा परेर मृत्यु भयो । निधन हुनेहरुको परिवारलाई कोषबाट उपलब्ध हुने सेवा सुविधाहरु उपलब्ध गराइएको र उहाँहरुले बुझ्ने प्रक्रियामा रहेको छ । कन्ट्रिब्युसन गरेको तीन महिनापछि नै सुरक्षा योजना कार्यान्वयनमा आउने हो, सुरक्षा योजनाअन्तर्गत विभिन्न योजनामा ८० भन्दा बढीको भुक्तानीको लागि दाबी पनि आइसकेको छ ।

यो नेपालको हकमा नितान्त नौलो कार्यक्रम पनि हो । यसभित्र बुझ्ने र बुझाउने कुरा नै महत्वपूर्ण पाटो हो भन्ने मलाई लागेको छ । योगदानकर्ता, त्यसका प्रतिनिधि, ट्रेड युनियनका नेताहरु र हामी अर्थात् सामाजिक सुरक्षा कोष मिलेर चेतनामूलक कार्यक्रमहरु सातवटै प्रदेशमा सम्पन्न गरेका छौँ । त्यसैगरी प्रतिष्ठानस्तरका अम्रेला (छाता) अर्गनाइजेसन (संस्था)हरु प्याब्सन, सहकारी विभाग, एनजीओ, आईएनजीओ, नेपाल उद्योग वाणिज्य महासंघ, सीएनआईलगायत धेरै संघ/संस्थाका फोरमहरुसँग बसेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन ग-यौँ । ती कार्यक्रमहरुमा सामाजिक सुरक्षाबारे धेरै बहस र छलफलहरु पनि भए । यसको फलस्वरुप कोषले अहिले गति लिएको छ ।

यहीबीचमा दोहोरो करको कुरा पनि बाहिर आए । अहिले लगानी कार्यविधि तयार भएर पनि अन्तिम चरणमा पुगेको छ । आन्तरिक रुपमा हामीले गर्नुपर्ने स्वास्थ्य संस्थाहरुसँग सम्झौताको काम अन्तिम चरणमा पु-याएका छौँ । यो काम पनि म आइसकेपछि नै भएको हो । छ महिनाको बीचमा म कोषको कार्यकारी भएर आइसकेपछि भएका कामको विवरण मोटामोटी विवरणहरु यिनै हुन् ।

पटक–पटक कोषमा सहभागी हुन म्याद थप गर्ने काम भइरहेको छ । कोषप्रति विश्वास कम भएको हो कि ?

सामाजिक सुरक्षाबारे बुझ्न र जानकारी दिन त्यसो गरिएको हो । आजसम्म सञ्चय कोष, उपदान, बीमा गरेर अगाडि बढिरहेकाहरुले त त्यसको हिसाबकिताब मिलाएर अगाडि बढ्नुपर्ने भएकोले पनि यसले समय केही बढी लिएको हो । यसलाई अन्यथा रुपमा बुझ्नुपर्ने कुनै कारण छ जस्तो मलाई लाग्दैन । यहाँ जम्मा गरेको पैसाबाट मैले के पाउँछु र हिजो गरेको संस्थाभन्दा मैले बढी फाइदा पाउँछु कि पाउँदिन भनेर उहाँहरुले बुझ्ने मौका पनि त पाउनुप-यो । म्याद थप्नेभन्दा पनि यो निरन्तर चल्ने प्रक्रिया हो भनेर बुझ्न आवश्यक छ । सञ्चालनमा आएका प्रतिष्ठान र तिनमा काम गरिरहेका मजदुरहरु सबै सहभागी हुन किन आएनन् भन्ने तपाईंकोे जिज्ञासा हुनसक्ला । कोषले अहिलेसम्म अख्तियार गरेको नीतिअनुसार नै काम भइरहेको छ ।

ऐनले सामाजिक सुरक्षा कोषमा सहभागी हुन अनिवार्य भने पनि सबै कुरा मिलाएर आउन समय लाग्ने भएकोले पनि यसले केही समय लिएजस्तो देखिएको हो । तर एक वर्ष बीचमा एक लाख ४० हजार सहभागी हुनु भनेको नराम्रो पनि होइन । हाल ७४ जिल्लाको कोषमा प्रतिनिधित्व भइसकेको छ । सर्भिसको क्षेत्रवाट पनि कुनै क्षेत्रबाट प्रतिनिधित्व हुन बाँकी छ जस्तो लाग्दैन । हरेक क्षेत्रबाट सूचीकृत र प्रतिनिधित्व हुन बाँकी छ भन्ने अवस्था अहिले छैन । संख्या बढ्ने भन्ने कुरा विस्तारै बढ्दै जानेछ ।

नेपालमा नौ लाखभन्दा बढी कम्पनीहरु दर्ता छन् तर अहिलेसम्म १२ हजार मात्र कोषमा आएका छन्, खोइ त बाँकी कम्पनीहरु सहभागी हुन आएका ?

यो संख्या नौ लाख २३ हजार तथ्यांक विभागले निकालेको डाटा हो । यीमध्ये ४ लाख ६२ हजारले दर्ता गरेका हुन् । यो संख्या भनेको ५० प्रतिशत हो । बाँकी संस्थाहरु त दर्ता भएका हैनन् । हामीले सूचना निकालेको यही दर्ता भएका भित्रबाट हो । यही भित्रबाट आफ्ना परिवारका सदस्यले तलब नलिई गरेको संख्या पनि त होला ? यो संख्यालाई स्वरोजगार मानिएको छ । ४ लाख ६२ हजार उताको संख्या इनफर्मल सेक्टरमा गए होलान् । यसभित्र चलाइएकाहरुलाई त आइज भनिएको छैन । जसले संस्था दर्ता गरेर किराना, तरकारी र पान पसल खोलेर बसेका होलान्, उनीहरुलाई अहिले बोलाइएको हैन । उनीहरुका लागि अर्को चरणमा आह्वान गरिनेछ । दर्ता भएको संख्याभन्दा पनि सञ्चालनमा आएको कति भन्ने मुख्य विषय हो ।

उदाहरणको लागि सहकारी संस्थाको.दर्ता संख्या ३५ हजार रहेको बताइएको छ । उनीहरुको तीनवटा छाता संगठनभित्र २० हजार सहकारी आबद्ध छन् । हो, ती २० हजारलाई सहभागी हुनका लागि उनीहरुले भनिसकेका छन् । १ हजार सहकारी सहभागी भइसकेका पनि छन् । बाँकी १९ हजारलाई अब हामीले के भन्ने ? हामीले आउँदै छन् भनेर बुझ्न आवश्यक छ । सुरुवात भइसकेको छ । विस्तारै सहभागिता बढ्दै जाने अपेक्षा हामीले गरेका छौँ । यो कार्यक्रममा आज नै हुनुपर्छ भन्ने अनिवार्यता पनि छैन । प्रक्रियाको सुरुवात भएको छ । आउनेक्रम विस्तारै बढ्दै जानेछ ।

तलबको ३१ प्रतिशत रकम मजदुरले कोषमा जम्मा गर्नुपर्ने भएपछि परिवारको खर्च धान्न नै मुस्किल परेकोले पनि सहभागीको संख्यामा कमी आएको विश्वास गरिन्छ, वास्तविकता के हो ?

यो कुरामा कुनै सत्यता छैन । ऐनमा नै उल्लेख भएको कुरालाई कसैले नकार्न सक्दैन । ३१ प्रतिशत भनेको कुल तलबको २.६७ प्रतिशत हुन आउँछ । यहाँ सहभागी नभए पनि श्रमिकले पाउने रकम नै यो होेइन । बाँच्नेभन्दा पनि बचाउने हो यो रकम । औषधि, दुर्घटना, अंगभंगको लागि त्यो रकम छुट्याइएको हो । मृत्यु नै भएमा पेन्सन खाने हो । आधार तलबको २.३१ प्रतिशत भनेको भत्तासहितको होइन, त्यसबाहेकको हो । २.६७ सेफ्टी र सेक्युरिटीको लागि हो । इम्प्लोयरको जम्मा हुने भनेको २८.३३ मात्र बाँकी प्रतिशत त हो । बीमाको २० प्रतिशत सञ्चय कोष हो । ८.३३ भनेको उपदान हो । २८.३३ हरेक महिना कुन कर्मचारीले तलबको रुपमा बुझेका छन् र ? अहिले पनि त्यो रकम जम्मा भइरहेकै थियो ।

अवकाश पाएपछि सम्बन्धित कार्यालयले चिठी लेखेर पठाएपछि मात्र उसले पाउने हो । जसले ५८–६० वर्ष उमेरसम्म जागिर खाएर सञ्चयकोषको रकम एकैचोटि झिक्न पाएको छ ? पाएको केमा छ भने ऋण मात्र हो । त्यो पनि जम्मा गरेको रकममा एक÷दुई प्रतिशत बढी तिरेर ऋण खाने हो । हो, त्यो व्यवस्था यहाँ पनि त होला नि ! जम्मा गर्ने रकमको अन्तर्वस्तुमा कुनै तात्विक भिन्नता छैन । तर यसले दिने भनेको ६० वर्षपछि बाँचुन्जेल पेन्सनको ग्यारेन्टी गर्दछ । यो सुविधा अरु कुनै पनि संस्थाले दिएका छैनन् । जागिर अवधिभर उपचार, दुर्घटना भए त्यसको बीमा, अशक्त भए वृत्ति, मृत्यु नै भएको खण्डमा आश्रित परिवारलाई जीवनभर सुविधा दिने भनेपछि त यो कुरालाई सबै पक्षले बुझ्न जरुरी छ र बुझ्नुप-यो ।

तर कोषले दोहोरो कर लिएको विषयमा पनि कुरा उठेका छन् नि ?

१ लाख २५ हजार मासिक रुपमा आधार तलब खानेहरुको हकमा दोहोरो कर छैन । त्योभन्दा बढी आधार मासिक तलब खानेहरुको हकमा दोहोरो कर देखिन्छ । यो विषय बाहिर आइसकेपछि यस विषयलाई समेटेर हामीले रिक्वेस्ट पत्र लेखेर मन्त्रालयमा पठाएका छौं । मन्त्रालयले पनि यो विषयका बारेमा लेखेर अर्थ मन्त्रालयमा पठाएको छ । मेरो विचारमा केही दिनभित्र यस विषयको छिनोफानो भएर आउनेछ । त्यसपछि काम गर्न सजिलो पर्नेछ र अहिले देखिएको दोहोरो कर समस्याको हल समेत हुनेछ ।

कोषको लगानी कार्यविधि कहिले तयार हुने अपेक्षा गर्न सकिन्छ ?

लगानी कार्यविधि तयार भएर पनि सम्बन्धित मन्त्रालय पठाइसकेका छौं । सो मन्त्रालयबाट अर्थ मन्त्रलयले राय÷सुझावसहित दिएर कानुन मन्त्रालयमा पठाइसकेको छ । अब सो कार्यविधि मन्त्रिपरिषद् जानेछ र मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि तुरुन्त लागू हुनेछ । सो कार्यविधिमा धितोमा आधारित भएर ऋण लगानी गर्ने समेतको प्रक्रिया समेटिएको छ । कार्यविधिअनुसार एक करोड रकमसम्मको ऋणको लागि सीमा राखिएको छ । त्यसका लागि बीमांकको मूल्यांकन गर्नुपर्दछ । त्यसपछि ऋण दिने प्रक्रिया पनि अगाडि बढाइनेछ ।

कोषले दिने सुविधामा कर्जासम्बन्धी स्पष्ट नभएको कारण अन्योल बढेजस्तो देखिएको छ, किन ?

मैले माथि पनि भनिसकेँ । कोषले लगानी कार्यविधि तयार गरेर पारित गरिसकेको छ । कर्जासम्बन्धी सम्पूर्ण कुराहरु ऐनमा नै उल्लेख गरिएको छ । कोषले राम्रो प्रतिफल दिनका लागि पनि लगानी गर्न आवश्यक पर्छ । लगानी नगरी कोषमा रकम होल्ड भयो भने त कोषले आम्दानी पनि गर्न सक्दैन । योगदानकर्ताले जम्मा गरेको पैसा त लगानी गर्नैपर्छ । कर्जासम्बन्धी कार्यबिधि आउन केही ढिलाइ भएको कारण नकारात्मक कुराहरु बाहिर आएका हुन् । यो लागू भएपछि यी कुराहरु स्वतः समाप्त हुनेछन् । साथै योगदानकर्ताहरुले धितोको आधारमा शैक्षिक, आवासीय र सामाजिक कर्जा लिन सक्नेछन् ।

सामाजिक कोषको आगामी दिनका रणनीतिहरु के–के छन् ?

सुरक्षा योजनाको कार्यविधिमा केही सुधार गर्न सकिने रहेछ भने त्यो गर्ने तयारीमा छौं । दोहोरो करको विषयमा सरकारले नै निर्णय गर्नेछ । लगानी कार्यविधि पनि छिटटै आउँदै छ । यो लगानीकर्तामैत्री होस् भन्ने पक्षमा हामी छौँ । त्यसपछि निश्चित समय तोकेर नोटिस जारी गर्छौँ । त्यसपछि कोषमा सहभागी हुन चाहने र नचाहनेहरुबारे एकीन गरेर कानुनी प्रक्रिया अगाडि बढाउनेछौँ ।

अझै पनि धेरै ठूला रोजगारदाता कम्पनीहरु कोषमा आबद्ध भएका छैनन्, उनीहरुलाई ल्याउने योजना के छ ?

जुन कम्पनीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिएको छैन, तिनीहरु कोषमा आउन आनाकानी गरिरहेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि रोजगारदाता कम्पनीले आधारभूत पारिश्रमिक अनिवार्य रुपमा नै दिएकै हुनुपर्छ ।

बैंक तथा वित्तीय संस्थालगायतले अवकाश कोष भनेर यसअघि नै सञ्चालन गरेको कोष यहाँ आबद्ध भएपछि के हुन्छ ?

हो, बैंक तथा वित्तीय संस्थाहरुको अवकाश कोष सञ्चालनमा छन् । ती कोषहरु पछि पनि सञ्चालनमा रहनेछन् । यसमा मर्ज हुन आवश्यक छैन । उनीहरुको हिजोसम्मको पैसा त्यही कोषमा छ, त्यो पैसा उनीहरुले नै प्रयोग गर्नेछन । यहाँ आउने भनेको आधारभूत मात्र हो । श्रम ऐनले नै उनीहरुले कमाएको सबै रकम ल्याऊ भनेको छैन । जस्तो उदाहरणको लागि बैंकहरुले १५ वर्ष काम गरिसकेपछि तीन महिनाका दरले कर्मचारीलाई अवकास कोषमा जम्मा भएको रकमको प्रतिफल दिन्छ ।

सामाजिक सुरक्षा कोषसरहकै काम गर्ने सरकारकै अरु अंगहरुमाथि हस्तक्षेप गर्न यसको स्थापना गरिएको आरोप लगाउने गरेका छन् । यस विषयमा तपाईंको धारणा के छ ?

हस्तक्षेप र आशंका गर्नेहरुलाई कोषको ऐन पढ्नको लागि मेरो सुझाव छ । सबैको आ–आफ्नै फरक ऐन नियम हुन्छन् । त्यसकै आधारमा तिनीहरुको गठन भएको हो ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया