Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताविदेशमा सीप सिक्नुहोस्, अनुभव बटुल्नुहोस् अनि आफ्नै देश फर्किनुहोस्, काम गर्नुहोस्

विदेशमा सीप सिक्नुहोस्, अनुभव बटुल्नुहोस् अनि आफ्नै देश फर्किनुहोस्, काम गर्नुहोस्

सुधिर शरण केसी राशोभा


‘राशोभा’ संस्कृत नाम हो, यसको वास्तविक अर्थ के हो ?

अहिले नै त मलाई थाहा छैन, म यो नामको वास्तविक अर्थ के हो ? अझै गहिरिएर बुझ्नेछु । तर मैले बुझेको एउटै अर्थ राशोभा हाम्रो जीवन हो, यसको प्रत्येक अक्षरहरू हामीसँग अर्थात् भनौँ हाम्रो परिवारसँग जोडिएको छ । सधैँ जोडिरहनेछ । साँचो अर्थमा भन्नुपर्दा राशोभा मेरो बाबा र आमाको नामबाट केही अक्षर निकालेर हामीले बनाएका हौँ, जसले अहिले हाम्रो सिंगो परिवारलाई एकै सूत्रमा बाँधेको छ, एउटा सुन्दर फूलको मालासरी । मेरो बाबाको नाम रामशरण केसी हो, मेरो आमाको नाम शोभा केसी हो । यसैबाट हामीले राशोभा बनाएका हौँ, जुन कम्पनीमार्फत अहिले हामीले हिराको व्यापार गर्ने आएका छौँ । राशोभा जसले तपाईँलाई चम्काउनेछ भन्ने स्लोगनसहित हामीले यो कम्पनी सुरु गरेका हौँ, यसलाई हामीले नेपालको पहिलो प्राइभेट ज्वेलरीको रूपमा चिनाउने लक्ष्य राखेका छौँ’, यो भनाइ हो राशोभाका निर्देशक शुधीरशरण केसीको । उमेरले केही कम भए पनि व्यापार, व्यवसायमा अब्बल र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पनि व्यावसायिक अनुभव हासिल गरेका व्यक्ति हुन् केसी । उनैसँग आर्थिक दैनिकका तर्फबाट सुरेश राउतले गरेको कुराकानीको सम्पादित अंश ।

तपाईँको भाषामा राशोभा भनेको के हो ?

यो संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ त अहिले मलाई त्यति जानकारी छैन । तर यो नाम हामीले आफ्नो आमा र बुबाको नामबाट केही शब्द निकालेर बनाएका हौँ । ज्वेलरी कारोबारको लागि हाम्रो शरण फाइन ज्वेलरी नामक एउटा कम्पनी छ, त्यो कम्पनीलाई हामीलाई राशोभाको नामबाट ब्रान्डिङ गरेका हौँ ।

युवा हुनुहन्छ, अन्य व्यवसाय पनि त गर्न सक्नुहुन्थ्यो, कसरी लाग्नुभयो हिराको व्यापारमा ?

हिरा हाम्रो पुर्ख्यौली व्यवसाय हो । मेरो बुबाको सिंगो जीवन त्यही हिराको व्यापारमा बितेको छ । उहाँको जीवनमा धेरै उतारचढावहरू, धेरै हन्डरहरू आएका थिए । ती सबैलाई चिर्दै पन्छाउँदै अहिले हामीले राशोभा ब्राण्डलाई चिनाउने प्रयास गरेका हौँ । मैले अन्य व्यवसाय पनि गर्नसक्थे । तर मेरो परिवार, आमाबुबाको सपनासँग जोडिएको व्यवसायबाट टाढा हुन् सकिनँ । म जे गर्छु, जहाँ गर्छ, यसमा नै केही गर्छ, यहीसँग जोडिएर नै केही गर्छु भन्ने लक्ष्यसहित म यसमा लागेको हुँ ।

Open photo

भनेपछि तपाईँहरूले गर्ने व्यापार हिरा मात्र हो ?

अहँ होइन, हामीसँग अहिले चारवटा कम्पनीहरू रहेका छन् । शरण फाइन ज्वेलरी, शरण हस्पिट्यालिटी प्रालि, ट्रेड हाउस अफ नेपाल बीभी र शरण इन्टरपाइजेज । यी कम्पनीहरूको नामअनुसार काम पनि फरक–फरक रहेको छ । यी सबै कम्पनीहरूमा गरी अहिले झण्डै ५० जना जति कर्मचारीहरू कार्यरत रहेका छन् ।

मैले फेरि हिरालाई नै फोकस गरेँ, हिराको व्यापार गर्न त, अनुभव र अध्ययन पनि चाहिन्छ नि होइन र ?

हो नि अनुभव र अध्ययनबिना कुनै पनि व्यापार व्यवयाय गर्न गाह्रो हुन्छ, व्यापार व्यवसाय गरे पनि टिक्न गाह्रो हुन्छ । जहाँसम्म मेरो व्यावसायिक अनुभवको कुरा छ, मैले नेदरल्याण्डमा इन्टरनेसनल बिजनेस एडमिनिस्ट्रेसन पढेको हो । मलाई इन्टरनेसनल ट्रेडको बारेमा राम्रो जानकारी छ । मैले जेम्स एन्ड ज्वेलरीको बारेमा पनि धेरै अध्ययन गरेको छु । व्यापार व्यवसायको क्रममा युरोपका धेरै देश, धेरै सहर घुमे, एसियाका पनि धेरै देश र सहर घुमे । भारतको जयपुर जेम्स एन्ड ज्वेलरी बजारमा विश्वकै सबैभन्दा ठूलोमध्येको एउटा हब हो । जयपुरमा पनि म निकै लामो समय बसेँ, काम गरेँ । जयपुरबाट नै युरोपको धेरै देश र सहरहरूमा गहना निर्यात हुने गर्दछ । यस्तै अनुभव र भोगाइबाट आफ्नै देशमा केही गर्ने सोच आयो । त्यही सोचका साथ म नेपाल फर्किए । त्यसपछि हामीले सन् २०१९ मा राशोभा सुरु ग-यौँ ।

नेपाल, त्यसमाथि पनि काठमाडौंमा गहनाको लागि नाम चलेका हिराका धेरै गहनापसलहरू छन्, राशोभा नै किन आउने ?

राशोभाको लागि हाम्रो स्लोगान रहेको छ, ‘साइन अन यु’ अर्थात् जसले तपाईँलाई चम्काउनेछ । राशोभाले यही स्लोगानलाई चरितार्थ गर्छ । हामी नेपालमा पहिलो प्राइभेट ज्वेलरीको रूपमा स्थापित हुन चाहन्छौँ । काठमाडौंको न्युरोडजस्ता ठाउँको गहनाबजार र ती गहनाको गुणस्तरको बारेमा त त्यति भन्न सक्दिनँ तर जहाँसम्म राशोभाको कुरा छ, हामीकहाँ जीआईएद्वारा प्रमाणित गुणस्तरको गहना पाइन्छ । अन्तर्राष्ट्रियरूपमा प्रमाणित गहना मात्र हामी बेच्छौँ । बेचिसकेपछि जो हाम्रा ग्राहक हुनुहुन्छ, उहाँहरूले पहिले किनेको गहना आफ्नो घरायसी अथवा अन्य कुनै समस्याका कारण बेच्न, चाहनुहुन्छ भने त्यो पनि हामी आफैँ किनिदिन्छौँ । अर्कोतर्फ गहना किनेपछि त्यसको हेरचाह र सुरक्षा पनि राम्रोसँग गर्नुपर्छ । त्यसको लागि आवश्यक जानकारी र फलोअप पनि हामी गरिदिन्छौँ । हाम्रा लागि ग्राहक भनेका भगवान् हुन्, भगवान्को स्याहरसुसार गर्नु हाम्रो दायित्व हो । हामी यो दायित्व पूरा गरी हाम्रा ग्राहकहरूलाई सधैँ खुसी र सन्तुष्ट राख्छौँ, राखेका छौँ र सधैँ राख्नेछौँ ।

ग्राहक भगवान् भएका कुरा गर्नुभयो, अहिले कति हुनुहुन्छ यहाँहरूसँग सन्तुष्ट ग्राहक ?

यो व्यवसायमा हामी पुरानो भए पनि सन् २०१९ बाट मात्र हामीले राशोभा सुरु गरेका हौँ । मैले माथि नै भनेँ यसलाई हामीले नेपालको पहिलो प्राइभेट ज्वेलरीको रूपमा चिनाउने लक्ष्य लिएका छौँ । विदेशमा यस्तो लक्ष्य लिएका धेरै कम्पनी हुन्छन् । अन्य गहना पसलहरूमा जस्तो पसलमा नै गएर भिडभाड गरेर गहना यहाँ किनिँदैन । हाम्रो यही शरण हस्पिट्यालीटीकै हाताभित्र शोरुम रहेको छ । शोरुममा भएका सबै गहनाहरू हाम्रो फेसबुक, इन्स्टाग्राम, हाम्रो आधिकारिक वेबसाइट आदिमा राखिएका छन् । ती साइटमार्फत नै ग्राहकहरूले कुन गहना किन्ने, आफूले किन्ने गहना बजेटअनुसार छ कि छैन भनेर निर्णय गर्नुहुन्छ । तिनै साइटमार्फत गहना बुक गर्नुहुन्छ अनि शोरुममा आएर किन्नुहुन्छ । हामीकहाँ गहना किन्ने सबैजसो व्यक्तिहरू भीभीआईपीहरू नै रहनुभएको छ ।

हिराको गहना त महँगो होला नि होइन र ?

हो, यसको कुनै निश्चित मूल्य हुँदैन, त्यही भएर यसलाई बहमूल्य मानिएको हुनसक्छ । तर यसको अन्तर्राष्ट्रिय मापदण्ड त हुन्छ नि । त्यही मापदण्डका आधारमा यसको मूल्य निर्धारण हुन्छ । फेरि अर्कोतर्फ हिरा भन्दैमा त्यति धेरै महँगो हुन्छ भन्ने पनि होइन । कुनै पनि ग्राहकले आफ्नो बजेटअनुसार, आफ्नो इच्छाअनुसारको साइज र आकारमा हिराको गहना बनाउन सक्नुहुन्छ । त्यति महँगो हुँदैन ।

Open photo

लामो समयसम्म हिराको व्यापारमा संलग्न हुनुहुन्छ, यसको बारेमा ग्राहकहरूबाट कस्तो प्रतिक्रिया पाउनुहुन्छ ?

हिरा अहिले आम मानिसको सुख, खुसी हाँसोसँग जोडिएको छ । त्यही कारण पनि प्रत्येक खुसीको पलहरूलाई अझ खुसी बनाउन, अझै यादगार बनाउन, जो आफ्नो हो, जो सधैँको लागि आफ्नो हुन्छ, आफूसँगै जोडिएको हुन्छ, त्यही व्यक्तिको केही पलको हाँसो र खुसीको लागि हिरा किनिन्छ, जो जीवनभर यादगार रहन्छ, त्यही हाँसो खुसीको लागि हिरा किनिन्छ । यसमा पैसाले त्यति अर्थ राख्दैन, किनकि पैसाभन्दा धेरै माथि आत्मीयता र खुसी हुन्छ । मैले ग्राहकबाट पाएको अनुभव यही हो । सायद अब पाउने अनुभव पनि यस्तै नै हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

विदेशमा काम छ, दाम छ, तर नाम त छैन नि । तर नेपालमा काम गर्नुहोस् काम, दाम र नाम सबै छ, विदेशमा सीप सिक्नुहोस्, अनुभव बटुल्नुहोस् । अनि आफ्नै देश फर्किनुहोस्, जसरी म फर्किए, मेरो परिवार फर्कियो अनि राशोभा जन्मियो । अहिले धेरै नेपालीहरू विदेशमा हुनुहुन्छ, पैसा अनुभव सबै कमाउनुहोस् । अनि आफ्नै देश फर्किनुहोस् । सानो–ठूलो जे हुन सक्छ, व्यवसाय गर्नुहोस् । त्यो व्यवसायले केहीले रोजगारी पाउनुहुनेछ । त्यो रोजगारीले देश नछोडीकन एउटा परिवारको हाँसो खुसी दिलाउन सक्छ । हाम्रो कर्म, हाम्रो परिवारको कर्म भनेको हो यही हो, हामीले अहिले यही कर्म गरिराखेका छौँ । केहीलाई रोजगारी दिएका छौँ । आफ्ना ग्राहकहरूको हाँसो, खुसी र सुखको एउटा अंग हुन पाएका छौँ । आशा छ हामीसँगै जोडिएर अझै धेरै ग्राहकहरूको हाँसोखुसी साटिनेछ, हामी उहाँहरूलाई खुसी राख्न सक्नेछौँ ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया