Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्तान्यून सञ्चालन खर्चमा बढी प्रतिफल दिने बैंक प्राइम हो

न्यून सञ्चालन खर्चमा बढी प्रतिफल दिने बैंक प्राइम हो


नेपालमा अहिले २७ वटा वाणिज्य बैंकहरुहरु सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई सबल, सक्षम, व्यवस्थित र सुशासनयुक्त बनाउन मर्जर, प्राप्ति र बिग मर्जरलाई प्रोत्साहन गरिरहेको छ । सोही आधारमा बैंकहरुले पनि राष्ट्र बैंकको उक्त नीतिलाई व्यावहारिक रुपमा उतार्दै आएका छन् । जसको पछिल्लो उदाहरण प्राइम कमर्सियल बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई गरेको प्राप्ति हो । आफ्नो बैंकलाई सबल र सक्षम बनाउन प्राइमले केही महिनाअघि क्षेत्रीयस्तरको कन्काई विकास बैंकलाई प्राप्ति गरेको थियो । आगामी समय ललितपुर फाइनान्सलाई पनि आफूमा समाहित गर्ने प्रक्रिया प्राइमले सुरु गरिसकेको छ । अघिल्ला दुईवटा विकास बैंकहरुलाई प्राप्ति गरेपछि प्राइम वित्तीयरुपमा निकै सबल र सक्षम बन्न सफल भएको छ ।

देशव्यापी शाखा सञ्जाल, चुक्ता पुँजी, निक्षेप तथा कर्जा, पुँजीकोष सबै दृष्टिकोणले प्राइम निजी क्षेत्रद्वारा सञ्चालित ठूला बैंकहरुमध्ये उत्कृष्ट बैंकमा दर्ज हुनपुगेको छ । प्राइमलाई यो अवस्था ल्याउनको लागि बैंकमा कार्यरत कर्मचारीहरु, सेयरधनी, निक्षेप तथा कर्जातर्फका ग्राहक, लगानीकर्ता एवं शुभचिन्तक, नियमनकारी निकाय, सञ्चालन तथा व्यवस्थापन पक्ष सबैको ठूलो हात छ । व्यवस्थापन प्रमुखको रुपमा उभिएका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कुशल व्यवस्थापकीय क्षमता, बैंकलाई वित्तीयरुपमा सबल बनाउने दूरगामी नीति, सबै कर्मचारीहरुलाई संस्थाप्रति बफादार बनाएर राख्नसक्ने क्षमताले काम गरेको छ । सोही भूमिका निर्वाह गर्ने प्रमुख कार्यकारी मानन्धरसँग आर्थिक दैनिकका लागि सुरेश राउतले लिएको अन्तर्वार्ताको सम्पादित अंश :

प्राइम बैंकले वित्तीयरुपमा अहिले निकै फराकिलो बाटो तय गरिसकेको छ, यो बीचमा बैंकको वित्तीय अवस्था कस्तो छ ?

हामी कहिले पनि वित्तीयरुपमा अन्य बैंकहरुजस्तो आक्रामक भएनौँ । हाम्रो नियमित वृद्धिलाई कायम राख्दै सफलताको खुट्किला चढ्दै गयौँ । सोही कारण अहिले यो स्थानमा आउन सफल भएका छौं । केही समयअघि मात्र क्षेत्रीयस्तरको कन्काई विकास बैंकलाई प्राप्ति ग-यौँ । अहिले फेरि राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई प्राप्ति ग-यौँ । कैलाशलाई प्राप्ति गरेपछि प्राइमको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यसबीचमा बैंकको कुल निक्षेप एक खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा रकम एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुल पुँजीकोष १९ अर्बको हाराहारीमा पुगेको छ । बैंकको अधिकृत पुँजी २२ अर्ब रुपैयाँ पु-याउने निर्णय पनि ११औं वार्षिक साधारणसभाबाट पारित गरिसकेका छौं । पछिल्लो प्राप्तिपछि बैंकको सातै प्रदेशको ७७ वटै जिल्लामा दुई सय शाखाहरु सञ्चालनमा छन् । यिनै सूचकका आधारमा भन्न सक्छौँ – प्राइम बैंक निकै सबल र सक्षम बन्न सफल भयो ।

कसरी सम्भव भयो यो सफलता ?

कुनै पनि सफलता सजिलै प्राप्त हुँदैन । यो सफलताको लागि सिंगो प्राइम बैंक परिवारले ठूलो मिहिनेत गरेको छ । यसमा सबै सेयरधनीहरु, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, निक्षेपकर्ता तथा कर्जावाला ग्राहक, शुभ चिन्तकहरु, सरोकारवाला सबै निकायहरुको उल्लेखनीय साथ र सहयोग छ । यसकै कारण यो सफलता सम्भव भएको हो ।

तपाईंकै भाषामा भन्नुपर्दा वित्तीय क्षेत्रलाई सबल बनाउन अन्य बैंकहरुले पनि त त्यति नै ठूलो मिहिनेत गरेका होलान् नि ?

अन्यको हकमा त म भन्न सक्दिन । तर प्राइममा जुन खालको कार्यगत एकता र कार्यशैली छ । त्यही शैलीका कारण हामी सफल भएका हौं । एक–एक मिलाएर दुई हुने गणितको सामान्य नियम हो । तर एक र एक मिलाएर दुई मात्र हुँदैन बढी पनि हुन्छ । हामी दुई संस्थाको सिनर्जी प्रतिफलमार्फत जादुयी उपलब्धिको नम्बर तीन प्राप्ति गर्न कोशिस गर्छौं । दक्ष जनशक्ति बनिबनाउ पोर्टफोलियो र शाखा सञ्जाल तथा कोषको व्यवस्थापन गर्नसक्ने प्राइमको आफ्नै मौलिक कार्यकुशलता छ । हामी सबैले अपेक्षा गरेको उपलब्धि यसैले प्राप्त भएको हो ।

प्राइमले हालसम्म दुईवटा संस्थालाई प्राप्ति गरिसक्यो, अझै तेस्रो संस्थालाई प्राप्ति गर्ने प्रक्रियामा रहेको छ, यो प्राप्तिको शृंखलाले आगामी समय पनि निरन्तरता पाउँछ ?

प्राप्ति र मर्जरको शृंखलाले कुन हदसम्म निरन्तरता पाउँछ भन्ने कुरा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र बजारको आवश्यकताले निर्धारण गर्छ । अहिले हामीले जुन जुन संस्थालाई प्राप्ति ग-यौँ, त्यो पनि नियमनकारी निकायको नीति र वित्तीय बजारको आवश्यकताकै आधारमा ग-यौँ । सोही आवश्यकतालाई मध्यनजर गरी बैंकको सर्वोपरी हितमा हुने र सेयरधनीहरुको प्रतिफलमा नकारात्मक असर नपुग्ने गरी आगामी दिनमा पनि मर्जर तथा एक्विजिसन गर्ने नीतिलाई अगाडि लानेछौं ।

बैंकिङ बजारमा प्राइमले जुनरुपमा ग्रोथ गर्नुपथ्र्यो, त्यो रुपमा गर्न नसकेको भन्नेहरु पनि छन् नि ?

हेर्नुहोस्, बजार जुनसुकै होस्, चाहे त्यो वस्तु बजार होस् वा सेवा बजारअन्तर्गत बैंकिङ क्षेत्र नै किन नहोस्, सकारात्मक र नकारात्मक कुरा गर्नेहरु धेरै हुन्छन् । तर म ठोकुवाका साथ भन्न सक्छु । हाम्रो ग्रोथ उत्साहजनक छ । यदि यस्तो थिएन भने हामीले आज यो उपलब्धि हासिल गर्नसक्ने थिएनौं होला । प्राइमले स्थापनाकालदेखि नै निक्षेपकर्ताहरुलाई उच्चरुपमा ब्याज दिँदै आएको छ भने तुलनात्मकरुपमा न्यून ब्याजदरमा कर्जाका उपभोक्ताहरुलाई वित्तीय स्रोतको बन्दोबस्त गरिदिएको छ । लिने र दिने ब्याजदरको अन्तर स्प्रेडदर न्यूनतम राखेर काम गर्ने हाम्रो नीति हो । हामीले सेयधनीहरुलाई पनि उच्च लाभांश दिँदै आएका छौँ । यसैगरी कर्मचारीहरु वर्गलाई पनि बैंकिङ उद्योगकै औसतभन्दा माथि सेवा सुविधाहरु दिइरहेका छौँ । यिनै आधारमा पनि भन्न सक्छौँ – प्राइमले जुनरुपमा ग्रोथ गर्नुपर्थ्यो गर्न सकेन भन्ने हल्ला निराधार हो ।

कर्मचारीहरुलाई बैंकिङ उद्योगकै औसतभन्दा माथि सेवा सुविधा दिँदा सञ्चालन खर्च बढ्ला नि ?

बढ्न सक्छ । यदि कोषको सही रुपमा व्यवस्थापन गर्न सकिएन भने तपाईंले भनेजस्तो हुनसक्छ । आजको दिनमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको भीडमा सञ्चालन एवं व्यवस्थापन खर्च कम भएको कुनै बैंक छ भने त्यो बैंक प्राइम नै हो, यसमा कसैको दुईमत नै छैन । न्यून सञ्चालन खर्च र कोषको उत्कृष्ट व्यवस्थापनका साथै सिर्जनशील, नवीन आविष्कारक एवं कडा मिहिनेत गर्ने कार्यसंस्कृतिको विकास गरी आश्चर्यजनक र असम्भवजस्तै लाग्ने यो नीति अवलम्बन गरेकैले खर्च कम भएको हो । बैंकका निक्षेपकर्ता, कर्जावाला ग्राहक, सेयरधनी र कर्मचारीहरु सबैलाई सन्तुष्ट बनाएर पनि सबैभन्दा न्यून सञ्चालन खर्च भएको तथा बढी प्रतिफल दिने बैंकको रुपमा प्राइम बैंकको नाम लिइँदा गौरव लाग्छ । यो गौरवलाई हामी आगामी दिनमा पनि कायम राख्नेछौँ ।

सेयरधनीलाई उच्च लाभांश र कर्मचारीलाई समकालीन बैंकहरुभन्दा बढी सुविधा दिन कसरी सम्भव भयो ?

अधिकांश अवस्थामा बैंकले कमाएको मुनाफाबाट सेयरधनीहरुलाई स्टक डिभिडेण्ड दिइएकोले पनि राष्ट्र बैंकले तोेकेको पुँजीकोष पु-याउन सजिलो भयो । अर्कोतर्फ मुनाफा वितरणको यो रणनीतिबाट सर्वसाधारण सेयरधनीहरुले पनि दोस्रो बजारको मूल्यअनुसार बोनस सेयरबाट उच्च प्रतिफल प्राप्त गरेका छन् । त्यसैगरी न्यूनतम सञ्चालन खर्च र उच्चतम प्रतिफलको व्यवस्थापनबाट बोनसको रुपमा कर्मचारीहरुले पनि समकालीन बैंकहरुभन्दा बढी सुविधा प्राप्त गर्न सफल भएका हुन् । हामीलाई आशा छ कैलाशको आगमनले आगामी दिनमा अझै बढी सफलता हासिल गर्नेछ ।

बैंकिङ क्षेत्रलाई चुस्त राख्न कर्मचारीको ठूलै भूमिका रहन्छ, यसबारे के भन्नुहुन्छ ?

कर्मचारीहरु भनेको कुनै पनि संस्थाका लागि खम्बा हुन । त्यो खम्बा कमजोर भयो भने संस्था ढल्न पनि सक्छ । कुन संस्थाको आयु कतिसम्म रहने भन्ने कुरा त्यो संस्थामा कार्यरत कर्मचारीहरुको आचरणमा पनि भर पर्छ । जहाँसम्म प्राइमको कुरा छ, प्राइमलाई सबल र सक्षम बैंक बनाउन प्राइम बैंक परिवार सक्षम छ । हामीले कर्मचारीहरुलाई बैंकिङका हरेक विधामा काम गर्नसक्ने बनाएका छौँ । अन्य संस्थामा नभएको तर प्राइम बैंकमा मात्र भएको थप सुविधा भनेको वार्षिक अतिरिक्त विदाको व्यवस्था हो ।

बहुआयामिक सकारात्मक प्रभाव दिने यो सुविधाअन्तर्गत मानसिक शान्ति तनाव व्यवस्थापन र नैतिक मूल्य मान्यता एवं संस्कारको विकासको लागि १०/१२ दिनको ध्यान शिविरमा भाग लिएमा बंैकबाट छ दिनको अतिरिक्त विदा दिने विशेष व्यवस्था गरिएको छ । प्राप्तिपश्चात् पनि कर्मचारीहरुलाई विभिन्न तालिम तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरी बैंकका प्रत्येक कर्मचारीहरुलाई क्षमताअनुसारको उचित जिम्मेवारी दिइनुको साथै हरेक विधामा काम गर्नसक्ने जनशक्तिको रुपमा विकास गर्र्ने रणनीति बैंकको छ । यसका अतिरिक्त वृत्ति विकासका लागि अन्य सुविधाहरु पनि बैंकले उपलब्ध गराउनेछ ।

बैंकिङ क्षेत्रमा पछिल्लो समय संस्थागत सुशासनको पक्ष कमजोर बन्दै गएको छ, भनिन्छ नि ?

अन्य बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत सुशासनको पक्ष कस्तो रहेको छ, त्यो त भन्न सक्दिन । तर जहाँसम्म प्राइम कमर्सियल बैंक लिमिटेडको कुरा छ, यहाँ संस्थागत सुशासन बलियो छ । संस्थागत सुशासन, व्यावसायिकता, कार्यसंस्कार एवं पद्धतिको विकासमा हामीले उत्कृष्ट काम गरेका छौं । यसक्रममा कानुनी, विभिन्न आम्दानी र जोखिममा आधारित लेखापरीक्षण समेत गरिएको छ । यसबापत सम्बन्धित निकायहरुबाट हामीले प्रशंसा पाएका छौँ । यसले गर्दा पनि बैंकको व्यावसायिक छवि अर्थात् भनौं कर्पोरेट इमेज माथि उठेको हो ।

अन्तमा के भन्नुहुन्छ ?

प्राइम कमर्सियल बैंक हाम्रो आफ्नो बैंक हो, सबै नेपालीको बैंक हो । पछिल्लो प्राप्ति प्रक्रियाले हामीले प्रत्येक नेपालीको घरआँगनसम्म पुग्न सफल भएका छौं । हामी सिंगो नेपाल र नेपालीको समृद्धिको साझेदार बन्न चाहन्छौँ । प्रत्येक नेपालीको सुखदुःखको साझेदार बन्न चाहन्छौँ । नियमनकारी निकायको ऐन नियमको परिधिभित्र रहेर प्राइम बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएका सबैको समृद्धिको साझेदार बन्नेछौं । आशा छ, यो अभियानमा सबै ग्राहकहरुको साथ र सहयोग रहनेछ ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया