Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालघरेलु तथा साना उद्योगहरूलाई ऋण सहजीकरण गर्न कार्यदल गठन गरिने

घरेलु तथा साना उद्योगहरूलाई ऋण सहजीकरण गर्न कार्यदल गठन गरिने


काठमाडौं ।
घरेलु तथा साना उद्योगहरूलाई ऋण प्रवाहमा सहजीकरण गर्न कार्यदल गठन गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसिएसनले साना उद्योगीलाई ऋण दिलाउन सहजीकरण गर्न कार्यदल गठन गर्ने सहमति गरेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालबीच महासंघको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमति भएको हो ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले भेटमा महासंघ र बैकर्स एसोसिएसनबीच घरेलु तथा साना उद्योग (एसएमईजहरू) क्षेत्रमा हुनसक्ने सहयोग/सहकार्यका विषय प्रवेश गराएका थिए । घरेलु तथा साना उद्योगहरूलाई ऋण सहजीकरणदेखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा एउटा सानो कार्यदल गठन गर्ने र विस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि कार्यदल विस्तार गरी अगाडि बढ्ने दुई संस्थाबीच सहमति भएको महासंघले जनाएको छ । यसका लागि दुवै संस्थाबीच छिट्टै एक सहमतिपत्रमा हस्ताक्षर गरी अगाडि बढ्ने तयारी थालिएको छ ।

महासंघको घरेलु तथा साना उद्योग समितिको माघ २० गते बसेको पहिलो बैठकले एसएमईजहरूलाई लगानी सहजीकरणका लागि बैंकर्स संघ र नेपाल राष्ट्र बैंकसँग सहजीकरण गर्ने सम्बन्धमा गरेको निर्णयअनुसार उक्त भेटवार्ता भएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेजहरू कतिपय जिल्लामा लागू गर्न बैंकहरू अनिच्छुक देखिएका गुनासाहरू विभिन्न जिल्लाहरूबाट महासंघको आएका सन्दर्भमा दुवै संस्थाबाट भएको यो प्रतिबद्धताबाट कार्यान्वयन तहमा आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन २०७७ अनुसार कोभिडको समय असारसम्म ६३ दशमलव छ प्रतिशत सञ्चालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरूमा १३ दशमलव शून्य एक प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेको छैनन् । नेपाल राष्ट्र बैंकद्वार गरिएको एक अर्को अध्ययनअनुसार नयाँ व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाहरूमा १६ प्रतिशतको मात्रै पहुँच रहने गरेको छ । निर्यात प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगहरूको रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया