Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमनाङमा छ महिनामा नौ हजारभन्दा बढी पर्यटक

मनाङमा छ महिनामा नौ हजारभन्दा बढी पर्यटक


मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ ।

यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापका प्रमुख ढकबहादुर भुजेलले राससलाई बताए । उनका अनुसार आन्तरिक तथा बाह्य गरी नौ दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् भने पाँच सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् ।

असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । भुजेलका अनुसार वैशाखमा तीन हजार दुई सय ६६, जेठमा छ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । गतवर्षको साउनदेखि मङ्सिरसम्ममा एक हजार ७२ पर्यटक भित्रिएका उनले जानकारी दिए ।

गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रुपमा पर्यटक वृद्धि भएको प्रमुख भुजेलले बताए । “यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हो । पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ । यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ”, उनले भने । यहाँका स्थानीयवासी होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा आवद्ध रहेका छन् ।

आयातित वस्तुभन्दा यहीँ उत्पादित खाद्यवस्तु पर्यटकलाई उपलब्ध गराउने गरेका पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । “सिजनमा यसवर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । यसले व्यावसायिकलाई उत्साह थपेको छ”, उनले भने, “आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।”

बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको पनि उल्लेख्य आगमन भएको गुरुङको भनाइ थियो । “बाह्य पर्यटकले पहिले नै बुकिङ गरेका हुन्छन् । जसले गर्दा उनीहरुलाई सहज रुपमा बस्ने स्थानको निश्चित भइसकेको हुन्छ । आन्तरिक पर्यटकले यहीँ आएर मात्रै होटल खोज्दा समस्या हुने गरेको छ”, उनले भने, “यस सिजनमा मनाङ आउँदा पहिलेदेखि नै होटल बुकिङ भइसक्ने भएकाले होटल तथा अन्य व्यवस्थासम्बन्धी जानकारी लिएर आउन न आग्रह गर्दछु ।”

अहिलेको मौसममा अलिअलि हिमपात, सेता हिमाल टल्कने, डाँडापाखामा नै हिउँ देखिँदा पर्यटकलाई लोभ्याउने गर्दछ । अहिले नेपालीहरु प्नि घुम्ने, नयाँ पर्यटकीय गन्तव्यमा पुग्ने गर्न थालेकाले मनाङ आउने आन्तरिक पर्यटक पनि बढे्का गुरुङले बताए ।

आन्तरिक पर्यटकको तथ्याङ्क नराखिए पनि दैनिक रुपमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एक्यापका प्रमुख भुजेलले जानकारी दिए । दैनिक रुपमा एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी बाबुराम गुरुङले बताए । पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा बन्द भएका व्यापारव्यावसायमा उत्साह थपिएको उनको भनाइ थियो ।

“हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुआतको समय गरी दुई सिजनमा मनाङ घुम्नका लागि अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी यहाँ पर्यटक आउने गर्दछन्”, व्यवसायी गुरुङले भने, “पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै यहाँबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्दछन् ।”

अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ–आफ्नो गन्तव्यतर्फ जाने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । पर्यटकले यहाँबाट सुरु गरेको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् ।

काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत स्थानबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत यहाँ आउन सकिन्छ । पदमार्गबाट यहाँका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्न सकिन्छ ।


क्याटेगोरी : नेपाल, पर्यटन उधोग

तपाईको प्रतिक्रिया