Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयो मनसुनमा पूर्वानुमानविपरीत अधिक पानी पर्ने सम्भावना कति ?

यो मनसुनमा पूर्वानुमानविपरीत अधिक पानी पर्ने सम्भावना कति ?


काठमाडौं, मनसुनी प्रभावका कारण अहिले देशका विभिन्न क्षेत्रमा हल्का तथा मध्यम वर्षा भइरहेको र त्यो क्रम आगामी केही दिनसम्म जारी रहने मौसमविद्‌हरूले बताएका छन्।

दिनहुँ पानी परिरहेकाले कतिपयले यस वर्ष औसतभन्दा कम वर्षा हुन सक्ने भनी गरिएको पूर्वानुमान “नमिल्न सक्ने” आशङ्का गरेका छन्।

तर मौसमविद्‌हरू “अहिले नै यस वर्षको मनसुनभरिको वर्षालाई तुलना गर्ने बेला भइनसकेको” बताउँछन्। उनीहरूका भनाइमा नेपालमा मनसुन भित्रिएपछि जुन महिनाको औसत वर्षा हेर्दा कम पानी पर्ने भनी गरिएको पूर्वानुमान मिल्ने जस्तो देखिन्छ।
मौसविदहरूका अनुसार नेपालमा प्रायः जुन १३ मा मनसुन सुरु भएर अक्टोबर २ सम्म सरदर ११२ दिन मनसुन रहन्छ। यो पटकको मनसुन औसतभन्दा एक दिन ढिलो गरेर जुन १४ मा नेपाल प्रवेश गरेको थियो।

अहिले देशको मौसमी अवस्था
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।“मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ,” महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ।
“हाल देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।”

महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशैभरि मौसम बदली रहने र पानी पर्ने सम्भावना छ।

मौसमविद्हरूले “हावाहुरी, भारी वर्षा, चट्याङ, बाढीपहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम”बाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह पनि गरेका छन्।

बाढी पहिरोका घटना
यो वर्ष मनसुन सुरु भएको पहिलो सातामै पूर्वी नेपालमा बाढी र पहिरोका कारण धनजनको क्षति भयो।पछि देशका विभिन्न स्थानमा विपद्‌का घटनाहरू भएका छन्।

अहिले देशका सबै भागमा मनसुनी वायुको प्रभाव रहेको विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।
उनले भने, “मनसुनी प्रभाव रहेकाले अहिले दिनैभरि झरी नपरे पनि पानी पर्ने क्रम जारी रहेको छ।”गृह मन्त्रालयका अनुसार नेपालमा यस वर्ष मनसुन प्रवेश गरेको जुन १४ यता कुल ३०९ वटा बाढीपहिरोका घटना भएका छन्।

त्यसमा परेर २४ जनाको ज्यान गइसकेको छ भने २५ जना बेपत्ता छन्। त्यस्तै १३ जना घाइते भएका छन् भने ६०२ परिवार प्रभावित भएका छन्।

कम पानी पर्ने पूर्वानुमान
यो वर्ष नेपालका विभिन्न भूभागमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान मौसमविद्हरूले छन्। उनीहरूका अनुसार समग्रमा न्यून वर्षाको सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ।

यद्यपि वाग्मती प्रदेशको दक्षिणपूर्वी भूभाग, मधेश प्रदेशका अधिकांश भूभाग र कोशी प्रदेशको मध्य तथा उत्तरपूर्वी भूभागमा भने सरदर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले सार्वजनिक गरेको मनसुनको हावापानी आकलनबारे एउटा प्रतिवेदनका अनुसार ती ठाउँमा औसत वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

मनसुन अवधिभरि देशमा गर्मी बढ्न सक्ने समेत जनाइएको छ। विभागकी सूचना अधिकारी विभूति पोखरेल हालसम्मको अवस्था हेर्दा उक्त पूर्वानुमान अनुसारकै अवस्था रहने देखिएको बताउँछिन्।

“अहिलेको अवस्था हेर्दा गर्मी पनि बढी हुने र पानी पनि कम पर्ने पूर्वानुमान अनुसार नै मौसम रहेको देखिएको छ,” उनले भनिन्।

पानी कति पर्ला?
यद्यपि यो वर्ष औसतभन्दा कम पानी पर्छ वा बढी भन्ने अहिले नै भन्न नसकिने उनको भनाइ छ। पोखरेलले भनिन्, “अहिले नै यसै भन्न सकिन्न। तत्कालको अवस्था हेर्दा सुक्खा नै देखिएको छ तर फेरि वर्षा पनि भइरहेको छ। अझै केही समय हेर्नै पर्ने हुन्छ।”

त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल पनि कतिपयले “पूर्वानुमानभन्दा बढी पानी पर्ने” अनुमान गरे पनि त्यस्तो अवस्था आउने जस्तो नदेखिएको बताउँछन्।

उनले भने, “अहिले दक्षिणी र मध्य भारतमा मनसुन बढी सक्रिय छ। मध्य जुलाईबाट नेपालमा बढी सक्रिय हुन्छ र भारी वर्षा हुन्छ भन्ने प्रक्षेपण छ।”

तर त्यो विगत ३० वर्षको औसतका तुलनामा कम हुन्छ भन्ने अनुमान रहेको र जुन महिनाको अवस्था हेर्दा त्यस्तै देखिएको उनको भनाइ छ।

सिग्देल अहिले नै चार महिनाको मनसुनको तुलना गरेर वर्षा बढी भएको भन्न नमिल्ने बताउँछन्।मौसमविद् पोखरेलका अनुसार औसतमा कम वर्षा हुने वर्ष बाढी पहिरो पनि धेरै जाने सम्भावना रहने गरेको विगतमा देखिएको छ।

त्यसको कारणबारे उनले भनिन्, “यस्ता वर्षमा गर्मी पनि बढी हुन्छ र सुक्खा बढेका बेलामा एक्कासि ठूलो वर्षा हुँदा त्यसले विपद् निम्त्याउने गरेका उदाहरणहरू धेरै छन्।” (बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया