Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्री लालीगुराँस सहकारीमा कर्मचारीकै रकम हिनामिना

श्री लालीगुराँस सहकारीमा कर्मचारीकै रकम हिनामिना

भण्डारी फरार


काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको छ नै त्यहाँ कार्यरत कर्मचारीकै रकम समेत हिनामिना भएको पाइएको छ । सहकारीको ऋण असुली शाखामा कार्यरत अञ्जु सिलवाल ढकाल यतिबेला सहकारीकै प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीबाट पीडित बनेकी छिन् । उनी अहिले आफू कार्यरत सहकारी र त्यसका कार्यकारी निर्देशक भण्डारीविरुद्ध बचत रकम फिर्ता पाऊँ भन्दै विभिन्न निकायमा उजुरी गर्न लागिपरेकी छिन् ।

स्रोतका अनुसार सिलवालको १५ लाख रुपैयाँ र उनका श्रीमान् सविन ढकालको ६५ लाख रुपैयाँभन्दा बढी रकम सहकारीमा फसेको छ । तर, बचत रकम फिर्ता माग्न पटक–पटक कोसिस गर्दा पनि फिर्ता नपाएपछि अहिले उनीहरूले विभिन्न निकायमा मुद्दा हालेका छन् । त्यतिमात्रै होइन अञ्जु र उनका श्रीमान्ले त जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेका छन् । जिल्ला अदालतको आदेशका आधारमा सिलवाल दम्पतीको रकम फिर्ता गर्नुको सट्टा भण्डारी सम्पर्कविहीन भएर हिँडेका छन् । अहिले उनीहरूले अदालतको अवहेलना गरेको र फैसलाअनुसार रकम नदिएको भन्दै फेरि अदालतमै मुद्दा दिएका छन् । सोही कारण आफूमाथि भएको अन्यायबारे उनीहरू मुख खोल्न चाहँदैनन् ।

संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको नेतृत्वमा सहकारीमा करोडौँ हिनामिना हुँदा पनि नियामक निकाय मौनजस्तै छ ।

सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरेको विषयमा पटक–पटक उजुरी पर्दा पनि सहकारी विभागले छलफल मात्रै गराएर उन्मुक्ति दिनेगरेको छ । सहकारी विभागका उच्च अधिकारीहरू भण्डारीको संरक्षणकर्ताको रूपमा देखिएका छन् । स्रोतका अनुसार सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरे भण्डारीसँग मिलेमतोमा छन् ।

यसअघि विभागमै आएको अर्को उजुरीमा समेत विभागले कुनै कारबाही नगरी उन्मुक्ति दिएको छ । कागजातअनुसार रजमान तामाङले उक्त सहकारीमा पटक–पटक गरी ३१ लाख रुपैयाँभन्दा बढी बचत गरेका थिए । जितपुर सिमारा बारा घर भएका तामाको उक्त बचत रकम फिर्ताका लागि पटक–पटक अनुरोध गर्दा पनि सहकारीले दिन सकेन । बचत मात्रै होइन यतिका वर्षको ब्याज समेत उनले पाएका छैनन् । सोही रकम नपाएपछि उनीहरूले विभागमै उजुरी दिएका थिए ।

उनको उजुरीको विषयमा २०८० असार ३१ गते विभागका रजिस्ट्रार नवराज घिमिरेको नेतृत्वमा छलफल भयो । छलफलमा सहकारीको सञ्चालक समितिका सचिव समेत रहेका सुरेन्द्र भण्डारी समेत सहभागी थिए । उनीहरूबीचको छलफलमा ९० दिनभित्र बचत रकम फिर्ता गर्ने सहमति भएको थियो । सहमतिमा भण्डारीले हस्ताक्षर गरेका छन् । तर, चार महिनाहुँदा समेत सहकारीले बचत रकम फिर्ता गर्न सकेको छैन । पीडित बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन पटक–पटक कोसिस गरेका छन् । तर, सहकारीले विभिन्न बहाना बनाएर झुलाउने गरेको छ । ९० दिनभित्र बचत रकम फिर्ता नदिए कारबाही गर्नुपर्ने सहकारी विभाग समेत मौन छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले सहकारीको बचतकर्ताको रकम हिनामिना गरी घरजग्गाको धन्दामा लगानी गरेका कारण अहिले सहकारी समेत टाट पल्टिएको हो । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरे उजुरी संख्या नपुगेको भन्दै पीडितलाई नै हप्कीदप्की गरेर पठाउने गरेका छन् । त्यसैले उनीहरूले न्याय पाउन सकेका छैनन् ।

सहकारीको रकमबाट खरिद भएका विभिन्न सम्पत्ति समेत यतिबेला उनले सब्बुसिंह भण्डारी नामक एक महिलाको नाममा पास गरेर लुकाइरहेका छन् । पुल्चोकस्थित सहकारीको स्वामित्व रहेको जय लालीगुराँस इन्भेष्टमेन्ट लेखिएको भवन पनि सुटुक्क सब्बु सिंहको नाममा पास गरिएको छ ।

विभागमै उजुरी परे कारबाही गर्छौं : टोलराज उपाध्याय
विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार सहकारीलाई पटक–पटक छलफल गराइएको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र पीडित पक्षलाई बोलाएर छलफल भएको उनको भनाइ छ । ‘विभागममा छलफल भएको हो । यदि सहमतिअनुसार रकम फिर्ता नपाएको भए पीडित पक्षले थप निवेदन विभागलाई दिनुभयो भने हामीले कारबाहीका लागि सीआईबीलगायत निकायलाई पत्राचार गर्ने कुरा हुन्छ । हाम्रोमा निवेदन नआएसम्म पीडितले रकम फिर्ता पाए÷नपाएको थाहा हुने कुरा भएन’, उनले भने, ‘यदि सहमतिअनुसार रकम नपाएको भए विभागमै उजुरी दिएपछि समस्याग्रस्त घोषणा गर्ने वा सीआईबीलाई कारबाहीका लागि पत्राचार गर्ने कुरा हुन्छ ।’

पीडित भन्छन्, ‘थप उजुरी दिएका छौ“, तर विभागले कुनै कारबाही गरेन’
यता पीडित परिवारका आफन्त भने थप उजुरी दिँदा पनि विभागले कुनै कारबाही नगरेको बताउँछन् । ‘हामीले ९० दिनभित्र बचत रकम नपाएपछि थप उजुरी दिएका थियौँ । तर, विभागका अधिकारीले उजुरी संख्या नपुगेको भन्दै फिर्ता पठाएको छ’, उनले भने, ‘पीडित भनेको संख्यामा गणना हुने विषय हो र ? कति जना पीडित खोज्न जाऊँ ?’

बचतकर्ताको रकम कुम्ल्याएर सुरेन्द्र भण्डारी सम्पर्कविहीन
पीडित बचतकर्ताहरूले सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई पटक–पटक सम्पर्क गरेका छन् । तर, उनको फोन कहिल्यै नउठेको उनीहरूको गुनासो छ । ‘बचतकर्ताको सम्पर्कबाट उहाँ भाग्नुभएको छ’, ती पीडितले भने, ‘विभागमा उजुरी गरेपछि मात्रै देखिनुहुन्छ । फोन गर्दा कहिल्यै उठ्दैन ।’ बचत(कर्ताको रकम फिर्ता नगरेको विषयमा प्रतिक्रिया लिन आर्थिक दैनिकले भण्डारीको मोबाइल नम्बरमा पटक–पटक फोन गर्दा उनले फोन उठाएनन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया