Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहाकिमको गाली, कारिन्दाको कुर्सी खाली

हाकिमको गाली, कारिन्दाको कुर्सी खाली


काठमाडौं । नेपालको प्रशासन गजबको छ । यहाँको प्रशासन हेर्ने हो भने जो कोहीले पनि भद्रगोल र लथालिङ्ग देख्नसक्छ । सेवाग्राहीको ज्यादै भिड हुने कार्यालयलाई सरकारले व्यवस्थित गर्न सकेको छैन भने सेवाग्राहीको चहलपहल नहुने अड्डामा कर्मचारी कुर्सीमै उँघेर वा गफ चुटेर १०–०५ को समय त्यसै खेर फालिरहेको पाइन्छ । फुर्सदिलो कार्यालयका महिला कर्मचारी त झन् पुरुष कर्मचारीको भन्दा बढी गन्थन गर्ने गरेको पाइन्छ । ‘तरकारीमा नुन कति हाल्यौ, अचार केको बनायौ’ ? यस्तैयस्तै गफ हुन्छ महिला कर्मचारीहरूको। चैत महिनामा पनि हिटर बालेर ताप्नेगरेका कर्मचारीहरू पनि छन् यहाँ । त्यस्तै, गर्मीमा पङ्खा चलाएर बन्द नगरी बाहिरिने कर्मचारी पनि नभएका होइनन् नेपालका अड्डाहरूमा । यहाँ ‘जस्तो हाकिम उस्तै कारिन्दा’ भन्दा पनि केही फरक पर्दैन । हाकिम राम्रो भइदिए कारिन्दा पनि पक्कै राम्रा हुनेछन् ।

हाम्रो मुलुकमा हाकिम–कारिन्दाबीचको सहकार्य पनि असजिलो भएको देखिन्छ । हाकिमले नम्र व्यवहार नगरेपछि कारिन्दा रन्थनिएर बाहिरिने र उनको कुर्सी नै खाली हुने परिपाटी पनि नेपालमा यथावत् नै छ । स्नेहपूर्वक मीठो बचन गरेमा कारिन्दाहरूको मनोबल बढ्ने हुन्छ र उनीहरू सेवाप्रति पक्कै पनि बफादार हुन्छन्। तर यसतर्फ कैयन हाकिमहरू निर्दयी हुनेगरेको पाइन्छ । यो लेखक २०७६÷७७ मा कुनै कार्यालयको कार्यालय प्रमुख हुँदा आफू मातहतका कर्मचारीहरूलाई कहिल्यै पनि नराम्रो व्यवहार गरेको रेकर्ड छैन । त्यही भएर कार्यकालभर मप्रति सकारात्मक व्यवहार र सोच थियो कारिन्दाहरूमा । मैले कसैलाई पनि नराम्रो बचन व्यक्त गरिनँ । सायद म नै नेपालको त्यस्तो कार्यालय प्रमुख थिएँ, जसले स्वच्छ छवि बचाइराख्यो र अवकाशपछि पनि धेरैको नजरमा सुपरिचित भएको ठान्छु । अहंकार देखाएको चाहिँ होइन ।

सिंहदरबारभित्र उद्योग मन्त्रालयमा यो लेखक कार्यरत रहँदा एकजना अधिकृतले एक महिला सहायक कर्मचारीलाई आक्रोशित भएर कडा शब्दहरू प्रहार गरेपछि महिला कर्मचारीको आँखाबाट बरर आँशु झरेको सम्झना अझै पनि ताजै छ । यस्ता सामन्तवादी प्रवृत्तिका हाकिमहरू हुँदासम्म प्रशासनमा कदापि सुधार भएको भन्न सकिँदैन । कुनैकुनै हाकिमहरू त यस्ता पनि हुन्छन् कि, नमस्कार गर्दा पनि नमस्कार फर्काउँदैनन् । गमक्क परेर अहंकार प्रदर्शन गर्ने यस्ता हाकिमहरू रहँदासम्म सहायक कर्मचारी अर्थात् कारिन्दाहरूमा नैराश्यता पलाएर आउँछ ।

निजामती प्रशासन भनेको स्थायी सरकार हो, यसलाई दिगो तथा अस्तित्व कायम हुनेगरी सुधार गरिनु जरुरी हुन्छ । प्रशासन डामाडोल र अस्तव्यस्तता भयो भने त्यो देशकै लागि दुर्भाग्य हुन आउँछ । यो लेखक यस्तो पीडित पूर्वअधिकृत हो, जसले श्रेणीविहीन कर्मचारीको भन्दा पनि कम पेन्सन बुझ्नुपरेको छ । यस्तो अवस्था आउने भए डिग्रीसम्म किन पढ्नुपथ्र्याे र ? जब कार्यालय सहयोगी र वरिष्ठ अधिकृतको पेन्सनको रकम उस्तैउस्तै हुन्छ भने यस विषयमा सरकारले गम्भीररूपमा सोची तलब स्केलमा पुनरावलोकन गर्नैपर्ने हुन्छ । यहाँ कार्यालय सहयोगीलाई अपमान गर्न भने खोजिएको होइन । उहाँहरूलाई यो लेखकले सदैव सम्मान गर्छ । जति माथिल्लो श्रेणीकालाई गर्नेगर्छ । प्रजातान्त्रिक पद्धतिलाई अंगिकार गर्नु यो लेखकको पनि कर्तव्य हुन आउँछ । तर सामान्य लेखपढका कर्मचारीको तुलनामा डिग्री पढेका अधिकृतको पेन्सन कम आउनु विडम्बनाको विषय हुन आउँछ ।

जबसम्म देशको प्रशासन चुस्त दुरुस्त बन्दैन तबसम्म देशले समृद्धि हासिल गर्दैन र त्यसले दीर्घकालीन नकारात्मक प्रभाव मात्र पार्दछ । प्रशासनलाई सत्तासीन राजनीतिक दलहरूले पनि खेलौना तुल्याउने गरेको पाइन्छ । सरुवामा राजनीतिक दलका नेताहरू र दलका भ्रातृसंगठनका पदाधिकारीहरूले चलखेल गर्छन् । सरुवाकै लागि आर्थिक चलखेल गर्छन् भने कसरी पो प्रशासन गतिलो छ भन्न सकिएला र? मालदार अड्डामा जानका लागि मरिहत्ते गर्ने कर्मचारीको पनि कमी छैन यहाँ । सुरु नियुक्ति हुँदा खाएको सपथ जागिर खाएको केही समयमै कुल्चिने बानीले गर्दा कर्मचारीहरूमा सेवाभाव हराउँदै गएको पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रकै कर्मचारी मालदार अड्डामा सरुवा भएर गएको यो लेखकलाई राम्ररी सम्झना छ । उहाँहरूको पद र नाम पनि कण्ठ नै छ । नेपाली प्रशासनको परिपाटी विश्वसनीय त छँदैछैन । प्रशासनमा सुधार नभएसम्म यस मुलुक सधैं गञ्जागोल भइरहने छाँटकाँट देखिन्छ । यो लेखक पनि कुशासनको चपेटामा परेको थियो ।

म २०५६ देखि २०६० सालसम्म उद्योग मन्त्रालयमा कार्यरत रहँदा राति नौ बजेसम्म पनि खट्ने गर्थेँ । त्यस्तै, विभागमा रहँदा सार्वजनिक बिदाका दिनहरूमा समेत विनाभत्ता र विनाप्रोत्साहन खटेर काम गर्थेँ । घरबार नै लथालिङ्ग पारेर यसरी खटेर काम गर्दा पनि हरेक वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती पुरस्कार पाउने कर्मचारीहरूको सूचीमा मेरो नाम पर्न सकेन । टाठाबाठा र चतुर अनि कामचोरहरूले त्यस्तो पुरस्कार पाएको देख्दा मैले त्यो पुरस्कार नपाएकै ठीक ठानेँ ।

२०७५ चैत्रमा मलाई कार्यालय नै नभएको ठाउँमा पदस्थापन गरिदिएपछि मैले एकवर्षसम्म तनाव व्यहोर्नुपरेको थियो । २०७९ भदौमा स्थापना भएको कार्यालयमा २०७५ सालमै मलाई त्यहाँ हुत्याउनुको कारण के थियो ? यो जवाफ सरकारले दिनैपर्छ, सरकारको विरोध गर्ने मेरो चेष्टा भने होइन ।

जिल्ला विकास समिति कपिलवस्तुका लेखापालको बदमासीले पोसाक भत्ता ७५ सय गुमाएँ भने मालपोत कार्यालय रोल्पाका लेखापालको बदमासीले गर्दा नागरिक लगानी कोष कट्टी रकम ८५ सय गुमाउनुपरेको थियो । धेरैजसो निकायमा लेखापालहरूको दबदबा नै छ । उनीहरू अड्डा प्रमुखकहरूको प्यारो हुने हुँदा अन्य कर्मचारीहरूप्रति नरम बन्न सक्दैनन्, दुःख मात्र दिन्छन् । नेपालका अधिकांश लेखापालहरू बदनाम नै छन् ।

लामो समयसम्म सिंहदरबारमा कार्यरत यो एक अधिकृत हो । जसले वैदेशिक अध्ययन, तालिम र अवलोकन भ्रमणमा अवसर पाउन सकेन । चाकडी र चाप्लुसी नगर्ने प्रवृत्ति भएका कर्मचारीहरू सधैं पछाडि पर्छन् भन्ने कुराको उदाहरण हो यो लेखक । सहायकस्तरका कर्मचारीहरूले समेत पटकपटक विदेश जाने अवसर पाए । तर यो लेखकले दश वर्ष अधिकृतमा बिताए पनि त्यो अवसर पाएन । यति हुँदा पनि चित्त दुःखाइ भने छैन, जे पाइन्छ त्यसमै सन्तुष्ट हुनुपर्छ भन्ने मेरो मान्यता र सिद्धान्त छ ।

सिंहदरबारमा कार्यरत कुनै पनि कर्मचारीलाई कुनै पनि गेटबाट आउजाउ गर्न दिइएन । रत्नपार्क वा पुरानो बसपार्कमा गाडी चढ्न जाने कर्मचारीलाई अनावश्यकरूपमा समय बर्बाद हुनेगरी दक्षिण वा पूर्वी गेटबाट घुमाउरो बाटो भएर हिँडाउने काम पनि भएको थियो र त्यो अत्याचार अझै पनि कायम छ । कर्मचारीहरूप्रति नै अविश्वास गर्छ भने सरकारले जनतालाई कसरी व्यवस्थित तरिकाले सेवा प्रवाह गर्छ ।

संस्थान सेवाका कर्मचारीको जागिर धराप: निजामती सेवाका कर्मचारीहरूको तुलनामा संस्थान सेवाका कर्मचारीहरू बढी दत्तचित्त भएर कार्यरत रहनुपर्छ । चम्चागिरी र खुरापाती गर्ने कर्मचारीहरूले गर्दा कसैकसैको जागिर नै धरापमा परेको जानकारी पनि यस लेखकलाई छ । २०४० देखि २०५६ सालसम्म आफू कार्यरत नेपाल सरकारको पूर्ण स्वामित्व भएको वीरगञ्ज चिनी कारखाना लिमिटेडका केही कर्मचारी तथा मजदुरको यस्तै, खराब मान्छेकै कारण बिचल्ली भएको थियो । एकजना इञ्जिनियरलाई उद्योग विभागमा नै लट्काउने काम भएको थियो । एकजना मजदुरले आफ्नो बाबुको श्राद्ध गर्न बिदा माग गर्दा बिदा नदिएपछि कारखाना परिसरमै उनले बाबुको श्राद्ध गरेका थिए र उनलाई व्यवस्थापनले स्पष्टीकरण सोधेको थियो । पछि उनको जागिर पनि धरापमा परेको थियो । कतिपय कर्मचारी र मजदुरले त्यस्ता बदमास र खुरापाती मान्छेहरूकै कारण जागिरबाट हात धुनुपरेको थियो ।

जंगी प्रशासनमा पनि सुधार जरुरी: जंगी प्रशासनमा त झन् अधिकृतहरूबाट कारिन्दाहरूप्रति अश्लील शब्दहरू नै प्रयोग हुँदै आएको पाइन्छ । जंगी क्षेत्रमा पनि मर्यादित व्यवहार आदान प्रदान हुनु जरुरी देखिन्छ । पहिलेपहिले अधिकृतहरूले जवानहरूलाई घरायसी काममा समेत लगाउने गर्थे, घर निर्माणमा समेत मजदुरको रूपमा प्रयोग गरिन्थ्यो । हाल यस्ता नचाहिँदा काम के छ त्यो भने यस लेखकलाई थाहा भएन । तर जनताले तिरेको करबाट तलब खुवाइने जंगी जवानहरूलाई घरायसी काममा लगाइनु सरासर कुशासन र प्रशासनिक अपराध नै हो । सलाम गरेन भनेर जवानलाई स्पष्टीकरण सोध्ने र अप्ठेरो ठाउँमा सरुवा गर्ने जंगी अधिकृतले पनि आफूलाई सुधार गर्नु र प्रजातान्त्रिक मूल्य र मान्यतालाई अंगीकार गर्नु जरुरी छ ।

हाकिमहरूलाई सुझाव: हाकिमहरूले आफूलाई सधैं कारिन्दाहरूको प्यारो हुने गरी काम गर्नुपर्छ, निरंकुशता लाद्नुहुँदैन । जसको पनि आ–आफ्नो आत्मसम्मान हुन्छ, जो कोहीको पनि आत्मसम्मानमा चोट पु¥याउनु उचित हुँदैन । कारिन्दालाई जथाभावी अपमानित हुने गरी अपशब्दहरू प्रयोग गर्नुहुँदैन । विनम्रतापूर्वक व्यवहार गरियो भने कारिन्दाहरूले हाकिमलाई पक्कै पनि सम्मान गर्छन् । कारिन्दाले जानी नजानी गर्ने सानातिना गल्तीहरूलाई ठूलो ठानेर हाकिमहरूले दुव्र्यवहारपूर्ण कदम चाल्नु उचित हुँदैन । सहायक कर्मचारीको तुलनामा अधिकृतस्तरका कर्मचारीहरू वैदेशिक अध्ययन, तालिम तथा स्थलगत भ्रमणमा जानेगरेको पाइन्छ । तर विदेशमा रहेको प्रशासनिक पद्धति र त्यहाँको सुव्यवस्थालाई हाकिमहरूले आफ्नो देशमा लागू गरेको पाइँदैन । विदेशको संस्कार हेरेर आउने अनि पुरातनवादी पारा प्रयोग गर्ने गरियो भने त्यो कुनै पनि हालतमा राम्रो हुँदैन । विदेशबाट सिकेको र जानेको ज्ञान नेपालको प्रशासनमा पनि लागू गर्ने गरेमा धेरै नै सुधार हुनेमा कुनै सन्देह छैन । त्यसैले भएका प्रशासनिक ऐन नियमहरूलाई भित्री मनदेखि नै लागू गरौं, सबैले सबैलाई आ–आफ्नो क्षेत्रबाट मर्यादा गरौं । नेपालको प्रशासनलाई नमुना प्रशासनको रूपमा विदेशीहरूका सामु परिचित गराऔं ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया