Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘एनसेलको सेयर खरिदबिक्री रोक’

‘एनसेलको सेयर खरिदबिक्री रोक’

वैदेशिक लगानीको सुरक्षामा विदेशी कम्पनीको धम्की


काठमाडौं । मलेसियन टेलिकम्युनिकेसन कम्पनी अक्जियटाले एनसेलमा रहेको आफ्नो सम्पूर्ण सेयर स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको विषयलाई यथास्थितिमा राख्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन गरेको छ ।

एनसेलमा अक्जियटाको मात्रै ८० प्रतिशत सेयर स्वामित्व छ । सन् २०१६ मा एक खर्ब ४३ करोड रूपैयाँभन्दा बढीमा खरिद गरेको सेयर छ अर्ब ६५ करोडमा मात्र बिक्री गरेको सूचना बाहिरिएपछि नेपालले पुँजीगत लाभकार, स्वामित्व हस्तान्तरणलगायतका कर गुमाउने देखिएको छ । खरिद गरेको भन्दा बिक्री गर्दा अक्जियटाले झण्डै साढे ९६ प्रतिशत मूल्य घटाएको छ । करिब साढे ३ प्रतिशत मात्र मूल्यमा बिक्री गरेको कारण सो सेयर खरिदबिक्रीका बारेमा चौतर्फी प्रश्न उठेको हो ।

राजनीतिक दलका शीर्ष नेतृत्वको संरक्षणमा त्यसरी अक्जियटाले नेपालमा कर छली गरेको आशंका गरिएको छ । बुधबार छुट्टाछुट्टै रूपमा बसेको संसद्को सार्वजनिक लेखा र अर्थसमितिको बैठकमा सांसदहरूले राजनीतिक दलका शीर्ष नेतृत्वको संरक्षणमा अक्जियटाले त्यसरी सेयर बिक्री गरेर कर छली गरेको बताएका थिए । आफ्नै नेतृत्वको आर्थिक पारदर्शीताको विषयमा सांसदहरूले प्रश्न उठाए पनि राजनीतिक दलका शीर्ष नेतृत्वबाट एनसेलको सेयर खरिदबिक्रीको विषयमा स्पष्ट धारणा आएको छैन ।

एनसेलको उक्त सेयर खरिद–बिक्रीले छ वर्षपछि कानुनतः नेपाल सरकारको स्वामित्वमा आउने अवस्थालाई अनिश्चिय बनाइदिएको छ । एनसेलमा रहेको आफ्नो सबै सेयर बिक्री गरेको अक्जियटाले नेपालमा लगानीको वातावरण छैन भनेर भ्रमपूर्ण सन्देश नै प्रवाह गरिदिएको छ । राजनीतिक दलका शीर्ष नेतृत्वको आर्थिक अपारदर्शी व्यवहारले एउटा विदेशी कम्पनीले नेपालको समग्र वैदेशिक लगानीमाथि नै प्रश्न उठाइदिएको हो ।

संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया शंकास्पद रहेको भन्दै त्यसलाई यथास्थितिमा राख्न तथा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्यसम्पादन गर्नेगरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न÷गराउन पनि सरकारका नाममा निर्देश गरेको छ । संसद्को अर्थ समितिले पनि एनसेलको सेयर खरिदबिक्री शंकास्पद भएको बताएको छ ।

नेपालमा लगानी सम्मेलन हुनै लागेको बेला अक्जियटा नामको कम्पनीले नेपालमा लगानीको वातावरण नभएको भनेर भ्रमपूर्ण विज्ञप्ति प्रकाशित गरेपछि त्यस बारेमा ४८ घण्टाभित्र सरकारको धारणा सार्वजनिक गर्न पनि लेखा समितिले सरकारका नाममा निर्देश गरेको छ । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्न लागेकै बेला नेपालमा रहेको सबैभन्दा ठूलो वैदेशिक लगानीको कम्पनीले नेपालमा वैदेशिक लगानीलाई सहज गर्ने वातावरण नभएको भन्नुले अन्तर्राष्ट्रिय असर पर्नेछ । यस विषयमा सरकारको धारणा बाहिर नआउँदा वैदेशिक लगानीमा असर पर्ने सांसद्हरूको भनाइ छ ।

अक्जियटाले सेयर बिक्रीको बारेमा पूर्वजानकारी नेपाल सरकारलाई दिएको कतै पनि देखिएको छैन । यही भएर राजनीतिक दलका शीर्ष नेतृत्वको सो प्रकरणमा साँठगाँठ रहेको आशंका सांसदहरूले नै गरेका हुन् । उक्त कम्पनीले सेयर बिक्री गर्दा वा स्वामित्व हस्तान्तरण गर्दा आधिकारिकरूपमा नेपाल दूरसञ्चार सेवा प्रदायक संस्थाको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्र्राधिकरणलाई पूर्वजानकारी दिनुपर्ने थियो । तर, अक्जियटाले सेयर बिक्री गरेको विज्ञप्ति जारी गरेपछि मात्र दूरसञ्चार प्राधिकरणलाई प्रक्रिया पूरा गर्छु भन्ने जानकारी दिएको छ । यसले एउटा विदेशी कम्पनीले नेपालको कानुनी छिद्रको भरपुर लाभ उठाएको देखिन्छ । त्यही भएर लेखा समितिले विभिन्न कम्पनीको चलखेल रोक्न तथा लगानीकर्ताहरूको सुरक्षा र देशले पाउने लाभ सुनिश्चित हुनेगरी कानुन तर्जुमा गर्न सरकारलाई संसद्को आगामी अधिवेशनमा संशोधन विधेयक संसद्मा दर्ता गर्न भनेको छ । उक्त अक्जियटा कम्पनीले नेपालमा भएको वैदेशिक लगानीको सुरक्षाको बारेमा उठाएको प्रश्नको विषय, एनसेलको सेयर बिक्रीलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुझ्ने निर्णय पनि गरेको छ । यद्यपि प्रधानमन्त्रीलाई कहिलेको बैठकमा बोलाउने भन्ने विषयमा समितिले निर्णय भने लिएको छैन ।

उक्त सेयर खरिदबिक्री विवादमा परेपछि अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाबोर कायुमोभलाई समितिमा बोलाउने निर्णय भने गरेको छ । समितिको बुधबारको बैठकले उक्त निर्णय गरेको हो ।

समितिले एनसेलको सीईओलाई बोलाउने निर्णय गरे पनि बैठकमा केही सांसदहरूले आजियटाका सीईओलाई पनि बुझाउनुपर्ने अडान लिएका थिए । बैठकमा उपस्थित भएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटालाई कानुनी कठघरामा उभ्याउन नेपालको प्रचलित कानुनमा बाधा रहेको जानकारी गराएका थिए । त्यही कानुनी छिद्रको बाटोबाट आजियाटाले आफ्नो सेयरको मूल्य घटाएर बिक्री गरेको हो ।

यता कम्पनी रजिस्ट्रारको कार्यालयले बुधबार संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै एनसेलको सेयर बिक्री बारेमा थाहा नभएको जनाएको छ । आजियटाले शुक्रबार छ अर्ब ६५ करोड रुपैयाँमा एनसेलको सेयर स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको विज्ञप्ति जारी गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया