Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसर्वोच्चद्वारा न्यायाधीश मरासेनीको निधनमा दुःख व्यक्त

सर्वोच्चद्वारा न्यायाधीश मरासेनीको निधनमा दुःख व्यक्त


काठमाडौँ । न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनप्रति सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ । सर्वोच्च अदालतले उनको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको जनाएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधनमा उच्च अदालत पाटन, हेटौंडा इजलास तथा ती मातहतका जिल्ला अदालत शोक बिदाका रूपमा बन्द रहने बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोट)ले निर्णय गरेको छ ।

“न्यायाधीश मरासेनीको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ”, पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार बिहान हृदयघातका कारण न्यायाधीश मरासेनीको निधन भएको थियो । उनी न्यायाधीशका रूपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवं न्याय र कानुनको क्षेत्रको विकासका लागि पुर्याएको योगदान अतुलनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्याङ्जामा २०२४ साल जेठ २८ गते जन्मिएका न्यायाधीश मरासेनीले २०५० साउन १ गतेदेखि नेपाल न्याय सेवामा शाखा अधिकृतको पदबाट सेवा प्रारम्भ गरेका थिए । उनी २०७० साल जेठ २७ गते जिल्ला न्यायाधीश पदमा नियुक्त भएका थिए । साथै उनी उच्च अदालतको न्यायाधीश पदमा २०८० पुस १९ गते नियुक्त भएका थिए । उनको मङ्गलबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया