Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमदन स्मारकको आठ वर्ष पुन:निर्माणकै आशामा बित्यो

मदन स्मारकको आठ वर्ष पुन:निर्माणकै आशामा बित्यो


ललितपुर । ललितपुर महानगरपालिका कार्यालय छेउमै जगदम्बा कुमारीदेवीले आफ्ना श्रीमान् मदन शमशेरको सम्झनामा २०११ सालमा स्थापना गरेको मदन स्मारक माध्यामिक विद्यालयको नाममा २७ रोपनी जमिन भए पनि अहिलेसम्म सोचेजस्तो स्तरोन्नति गर्न सकिएको छैन ।

२०७२ सालको भूकम्पले उक्त विद्यालयको तीन वटा भवनमा क्षति पुर्याएपछि जोखिमको मूल्याङ्कन गरेर रातो स्टिकर टाँसिएको थियो । विद्यालय स्थापना हुँदा निर्माण भएको २४ कोठे राणकालीन भवन हाल जीर्ण छ । दुईवटा भवन हाल प्रयोगमा छैनन् । अर्को चर्किएको भवनमा भने रातो स्टिकर टाँसेपनि पठनपाठन हुने गरेको छ ।

विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले भूकम्पले क्षति पुर्याएको भवनमा रातो स्टिकर टाँसिएपछि पुनःनिर्माणको आशामा दुई वर्षसम्म टहरामा पठनपाठन सञ्चालन गरिएको बताए । उनले भने, “जगदम्बा कुमारी देवीको २०४५ सालमा निधन भएपछि नेपाल सरकारका तर्फबाट प्राप्त ५० हजारबाट भवन निर्माण पुनः निर्माण गरिएको थियो ।

भूकम्पले क्षति पुर्याएको भवनमा अहिले विद्यार्थी अध्ययन गरिरहेका छन् । हालसम्म सरकारले विद्यालयको स्तरोन्नतिका लागि खासै चासो देखाएको छैन । २०११ सालदेखियता छाना फेरिएको छैन । वर्षा सुरु हुने वित्तिकै कक्षा कोठामा पानी चुहिन थाल्छ । भूकम्प गएको आठ वर्ष पुग्न लागिसक्यो अझै पुनःनिर्माणको सुर छैन ।

विद्यालय ललितपुरको केन्द्रमा रहेको र विद्यालयको नाममा २७ रोनी जमिन रहेको हुँदा सरकारी लगानीमा नमुना सरकारी विद्यालय बनाउन सकिने विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले बताए ।

हाल यस विद्यालयमा कक्षा एकदेखि १२ सम्म जम्मा ६०० विद्यार्थी छन् । कक्षा छ देखि १२ सम्म विद्यार्थीको भर्ना सङ्ख्या ठीकै भए पनि बालविकासदेखि कक्षा पाँच सम्मको भर्ना सङ्ख्या त्यति चित्तबुझ्दो नमएको बताइएको छ । बालबिकासदेखि कक्षा पाँचसम्म विद्यार्थीहरुको भर्ना दर चित्तबुझ्दो नहुनुको पछाडिको कारण सरकारी स्कुलप्रतिको बुझाइ र गलत प्रचार रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया