Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘उपभोक्ता अधिकारबारे सचेतना बढाऊ’

‘उपभोक्ता अधिकारबारे सचेतना बढाऊ’


काठमाडौं । हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानुनले प्रत्याभूत गरिदिएको भए पनि उपभोक्ताहरू आफ्ना अधिकारका बारेमा बेखबर रहेको सरोकारवालाहरूले बताएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विश्व उपभोक्ता दिवसलाई लक्षित गरी मंगलबार आयोजना गरेको कार्यक्रममा उनीहरूले उपभोक्ता अधिकारका बारेमा सचेतना बढाउनुपर्नेमा जोड दिए । नेपालको संविधान, २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक नेपाली नागरिकका उपभोक्ताको हकलाई प्रत्याभूत गरेको छ । तर नागरिकले उक्त अधिकारको कार्यान्वयनको अनुभूति गर्न नसकेको उनीहरूको भनाइ छ । वस्तु तथा सेवाको मूल्यसूची नराख्ने, अद्यावधिक नगर्ने, उपभोक्ताले प्रष्ट देखिने र बुझ्ने गरी नराख्ने, बिक्री विजक नदिने, कारोबार रकमभन्दा कमको विजक दिने, म्याद गुज्रेका वस्तुको व्यवस्था नगर्नेलगायत समस्या बजारमा छन् । त्यस्तै, खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राख्ने, कतिपय वस्तुमा उल्लेख गरेभन्दा बढी रकम लिई बिक्री गर्ने, मूल्यसूची केरमेट गर्ने, सस्तोमा खरिद गरी जम्माखोरी गर्ने र केही समयपछि महँगोमा बिक्री गर्नेलगायतका खराब काम केही व्यापारीबाट हुने गरेको छ । यी समस्याको निराकरणका लागि कानुनी प्रबन्ध गरिएको भए पनि नियामकबाट त्यसको कार्यान्वयनमा देखिएको सुस्तता र उपभोक्ता आफैं सचेत नहुँदा समस्या हुने गरेको पाइएको छ ।

वस्तु तथा सेवाको उपयोग गर्दा उपभोक्ता आफैँ यी विषयमा सचेत हुनुपर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । स्वच्छ र प्रतिस्पर्धात्मक बजार कसरी बनाउने भनेर विभिन्न निकाय तथा सरोकारवालाबीच समन्वय हुनुपर्ने आवश्यकता रहेको उनले औँल्याए । यस पटकको उपभोक्ता दिवसमा सचेतनाका कार्यक्रमलाई बढी प्राथमिकतामा राखिएको उनले जानकारी दिए । उनका अनुसार उपभोक्ता अधिकार र सचेतनाका विषयमा अन्तक्र्रिया गर्ने, विद्यालयलक्षित उपभोक्ता शिक्षा कार्यक्रम चलाउनेलगायतका कार्यक्रम रहेका छन् । यस्तै, आयातकर्ता, ढुवानीकर्ता र व्यापार व्यवसायीसँग पनि विभागले अन्तर्क्रिया गर्नेछ । विभागले वस्तु तथा सेवाको स्रोत तहमा नै अनुगमन गरिरहेको पनि उनले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले उपभोक्ताको अधिकारबारे सबैलाई सचेत गराउने र यसको प्रवर्द्धन गर्ने जिम्मेवारी नियामक निकाय, निजी क्षेत्र, उपभोक्ता अधिकारकर्मी सबैको रहेको बताए । बजार निगरानी गर्न चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले उद्योग मन्त्रालयले उपभोक्ता अदालत स्थापनाका लागि काम गरिरहेको समेत जानकारी दिए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च–नेपालका अध्यक्ष ज्योति बानियाँले व्यापारीबाट उपभोक्ता ठगिएमा क्षतिपूर्ति पाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेको बताए । ठगिमा पर्दा वा गैरकानुनीरूपमा वस्तु तथा सेवा बिक्री भएको जानकारी पाउँदा उपभोक्ता आफैंले पनि त्यसको क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सबै स्थानीय तह र प्रदेश सरकारले नियमितरूपमा बजार अनुगमन गर्नुपर्ने बताए । बजारमा माग र आपूर्तिको यकिन र वैज्ञानिक तथ्याङ्क उपलब्ध नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । हालको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट उपभोक्ता हित संरक्षण हेर्ने छुट्टै निकाय स्थापना गर्न आवश्यक रहेको उनले बताए । कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले उपभोक्ताको हित संरक्षणका लागि स्थापना भएको विभागबाट नै उपभोक्ताले न्याय पाउँछन् भन्नेमा विश्वस्त हुनसक्ने आधार नरहेको गुनासो गरे ।

उपभोक्ताको अधिकारप्रति उत्तरदायी हुनुपर्ने वाणिज्य विभाग व्यापारीप्रति उत्तरदायी हुने गरेको आरोप पनि उनले लगाए ।

आगामी चैत २ गते पर्ने विश्व उपभोक्ता अधिकार दिवसका सन्दर्भमा मंगलबारदेखि चारदिनसम्म चेतनामूलक विविध कार्यक्रम आयोजनाने विभागले जनाएको छ । यसवर्षको उपभोक्ता दिवसको नारा ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया