Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाकाली नदीको रोयल्टी विवाद मिल्यो

महाकाली नदीको रोयल्टी विवाद मिल्यो


धन बहादुर जप्रेल
कञ्चनपुर, साउन ११
कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाबीच लामो समयदेखि महाकाली नदीबाट उठ्ने रोयल्टी बाँडफाँटमा देखिएको विवाद सुल्झिएको बताइएको छ । भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाबीच दुई वर्षदेखि रोयल्टी बाँडफाँटबारे विवाद रहेको थियो ।भीमदत्त नगरपालिकामा बसेको दुई स्थानीय तहका जनप्रतिनिधिबीच भएको सहमतिअनुरुप महाकाली नदीबाट उठ्ने जम्मा राजस्व रकमको पाँच प्रतिशत प्रशासनिक खर्च कटाएर बाँकी रहेको रकमको ६२ प्रतिशत भीमदत्त नगरपालिकाले र ३८ प्रतिशत रोयल्टी महाकाली नगरपालिकाले पाउने भएका छन् ।

विगत दुई वर्षदेखि भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाबीच नदीबराबर हुने भएकाले रोयल्टी पनि आधा–आधा हुनुपर्ने भन्दै विवाद पर्दै आएको थियो । महाकाली नगरपालिकाले रोयल्टी रकम आधा आफूलाई दिनुपर्ने माग राखेको थियो भने भीमदत्तले ३० प्रतिशत मात्रै दिने र ७० प्रतिशत आफूले राख्ने बताउँदै आएको थियो । भीमदत्त नगरपालिकाले धेरैजसो बालुवा गिट्टी र ढुङगा भीमदत्ततिरै आउने भएको र नदीसम्मको बाटो मर्मतलगायतका सबै काम पनि भीमदत्तले नै गर्ने भएकाले ६० प्रतिशतदेखि ७० प्रतिशत रोयल्टी आफूले पाउनुपर्ने धारणा राखिरहेको थियो, जसले सहमति हुन सकिरहेको थिएन । यसभन्दा अगाडि साबिक जिल्ला विकास समितिले ठेक्कामा लगाएर काम सञ्चालन गरिरहेको थियो । स्थानीय तहलाई रोयल्टी संकलनको अधिकार प्रत्यायोजन भएपछि महाकाली र भीमदत्तले छुट्टा छुट्टै ठेक्का गर्ने गरेका थिए ।

भीमदत्त नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष हिमाल चन्दले दुवै पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि आर्थिक वर्ष २०७७/०७८ का लागि महाकाली नदीबाट संकलन गरिने नदीजन्य पदार्थको रोयल्टी बाँडफाँटको टुङ्गो लागेको बताए । ‘सम्पूर्ण ठेक्का प्रक्रिया भीमदत्त नगरपालिकाले गर्ने समेत सहमति भएको छ, ६२ प्रतिशत भीमदत्त र ३८ प्रतिशत महाकाली नगरपालिकाले राजस्व रकम प्राप्त गर्ने सहमति भएको छ’, प्रवक्ता चन्दले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x