Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा आईसीयू र भेन्टिलेटरमा बस्नेको संख्या बढ्दो

नेपालमा आईसीयू र भेन्टिलेटरमा बस्नेको संख्या बढ्दो


काठमाडौं ।
लकडाउन र निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबारसम्म ६५ हजार दुई सय ७६ जनामा सङ्क्रमण देखिएको छ भने सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा बस्ने संक्रमितको संख्या पनि दैनिक बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म एक सय ९६ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आईसीयूमा प्रदेश नं. १ मा १०, प्रदेश नं. २ मा १६, वाग्मती प्रदेशमा एक सय २८, गण्डकी प्रदेशमा पाँच, प्रदेश नं. ५ मा २२ र कर्णाली प्रदेशमा १५ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नंं. १ मा एक, वाग्मती प्रदेशमा २८ र प्रदेश नं. ५ मा दुई जना रहेका छन् ।

कोभिड–१९को सङ्क्रमणबाट सोमबार एकै दिन ११ जिल्लाका १६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका छ जनासहित १६ जनाको निधन भएको हो । निधन हुनेमा तीन महिला र १३ पुरुष छन् । यससँगै नेपालमा कोरोनाबाट अहिलेसम्म निधन हुनेको सङ्ख्या चार सय २७ पुगेको छ । नेपालमा सङ्क्रमणबाट निधन हुने सङ्क्रमितमध्ये ०.७ प्रतिशत हो ।

सोमबार निधन हुनेमा काठमाडौं जिल्लाका ५८ र ७३ वर्षीय पुरुष, भक्तपुरका ८४ र ६२ वर्षीय पुरुष तथा ललितपुरका ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष छन् । यस्तै झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, मकवानपुरका १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष, दोलखाकी ५२ वर्षीया महिला, रूपन्देहीका ६७ वर्षीय पुरुष तथा बाँकेका ५० र ५९ वर्षीय पुरुष छन् ।

यस्तै, सोमबार मात्रै कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट पीडित हुनेको संख्या एक हजार एक सय ५४ जना थप भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार महिला चार सय १८ र पुरुष सात सय ३६ जनामा कोरोना देखिएको छ । यस्तै सोमबार एक हजार पाँच जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।

अहिलेसम्म ४७ हजार दुई सय ३८ जना सङ्क्रमित निको भई घर फर्किसकेका छन् । यसरी सङ्क्रमणमुक्त भई घर फर्किने कुल सङ्क्रमितको ७२ दशमलव चार प्रतिशत रहेको मन्त्रालयको दाबी छ । यस्तै सक्रिय सङ्क्रमित १७ हजार छ सय ११ मध्ये होमआइसोलेसनमा आठ हजार छ सय ९० र संस्थागत आइसोलेसनमा आठ हजार नौ सय २१ तथा क्वारेन्टाइनमा सात हजार चार सय तीन जना रहेका छन् ।

सोमबारसम्म पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला आठ रहेका छन् । ती जिल्लामा मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रूपन्देही छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला सङ्क्रमणमुक्त जिल्ला हुन् ।

यस्तै, सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लिँदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्यरूपमा साबुनपानीले हात धुनसमेत अनुरोध गरे ।

‘अत्यावश्यक कामका लागि घरबाहिर निस्किनै पर्दछ, सबैले आ–आफ्नो जीवन सामान्यीकरण गर्दै लैजानुपर्दछ’, पत्रकार सम्मेलनमा उनले भने, ‘आफ्नो काममा निस्किनका लागि सार्वजनिक यातायात नै चढ्नुपर्ने हुन्छ, एक व्यक्ति र अर्को व्यक्ति दुई मिटर टाढा लाइन बसेर चढ्नुपर्दछ ।’ सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पूरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुनथालेका छन् ।

सार्वजनिक यातायात सरकारले सङ्क्रमणलाई नियन्त्रण गर्दै जीवनलाई सामान्यीकरण गर्नका लागि सञ्चालन गरेको उनले बताए । सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको उनको भनाइ छ । स्वास्थ्य मापदण्ड अपनाई यात्रा गरौँ र आफू, आफ्नो परिवार तथा समाजलाई सङ्क्रमणबाट जोगाउन आवश्यक छ ।

यस्तै ६० वर्षका वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई घरबाट ननिस्किनसमेत उनले आग्रह गरे । कोभिड–१९ को सङ्क्रमणबारे केही विज्ञले समाजमा भ्रम सिर्जना गर्न थालेकाले त्यस्ता विज्ञको कुरा नपत्याउन समेत सर्वसाधारणलाई आग्रह गरे । मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारले सङ्क्रमणको उपचारका लागि धेरै नै मिहिनेत गरेको उल्लेख गर्दै नेपालजस्तो गरिब देशले सर्वसाधारणको उपचार निःशुल्क गर्नु सन्तोषजनक रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया