Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१२ वटा चिया उद्योगलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत

१२ वटा चिया उद्योगलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत


काठमाडौं ।
१२ वटा चिया उद्योगहरूले ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त गरेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा फिक्कल इलाममा भएको एक कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरेका हुन् ।

योसँगै नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिकरूपमा कार्यान्वयनमा आएको छ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत दिइएको हो । ट्रेडमार्क प्रयोगका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेस गरेका थिए ।

चियाको ट्रेडमार्क कार्यान्वयनमा ल्याउन विगत एक दसकभन्दा लामो अवधिदेखि छलफलमा रहेको थियो । पहिलो चरणमा ट्रेडमार्क प्रयोगका लागि प्रक्रिया पूरा गरी ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त गरेका चिया उद्योगहरूमा इलामको सन्दक्फु टी प्रोसेसर्स प्रालि, हिमालयन सांग्रिला टी प्रोड्यूसर्स प्रालि, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था लि., जस्बिरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रिन टी एण्ड स्पेसियालिटी, ओएसिस टी इन्डस्ट्रिज, तारागाउँ टी स्टेट र साखेजुङ हिल रेन्ज चिया प्रशोधन उद्योग रहेका छन् । यसैगरी संखुवासभाको सगरमाथा टी स्टेट प्रालि, तेह्रथुमको बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग र सिंहदेवी चिया उत्पादक सहकारी संस्था लि.ले ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले भारतलगायत तेस्रो मुलुकमा निर्यात गर्दा भन्सारमा व्यहोर्नुपर्ने समस्या, चियाको हरियो पत्तीको न्यूनतम मूल्य विवाद, श्रमिकका समस्या र कोभिड–१९ को कारण उत्पन्न समस्याको भुमरीमा घुमिरहेको नेपालको चिया क्षेत्रले बजारीकरणमा रहेको एउटा समस्यालाई समाधान गर्ने प्रयास गरेको बताए ।

नेपाले उत्पादन गरेको चिया विश्वमै अब्बल गुणस्तरको रहेको उनले दाबी समेत गरे । ‘स्वच्छ हावापानी पाएर उर्बर भूमिमा उत्पादन भएको नेपाली चियाले सबै चिया पारखीहरूको मन जितेको छ । तर यति हुँदाहुँदै पनि आजसम्म हाम्रो चियाले आफ्नै पहिचान पाएको थिएन, आफ्नै नाम पाएको थिएन’, उनले भने, ‘नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क लागेर तेस्रो देशमा लामो समयदेखि बिक्री भइरहेको थियो । यसलाई रोक्न नेपाली चियाले आफ्नै पहिचान स्थापित गर्न जरूरी थियो ।’ विगत एक दशकदेखिको निरन्तर प्रयासपछि बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएको उनले बताए ।

नेपाल टी क्वालिटी फ्रम द हिमालयज नामको ट्रेडमार्क उद्योग विभागमा २०७२ असार २२ गते नै दर्ता भएको थियो । तर यो ट्रेडमार्क प्रयोगमा ल्याउन केही कानुनी तथा प्राविधिक कठिनाइहरू थिए । ‘ट्रेडमार्क त दर्ता भयो, तर यसको गरिमालाई कायम गर्न चुनौतीपूर्ण विषय थियो । ट्रेडमार्क प्रयोग गर्ने चिया उद्योग, सम्बद्ध चिया उत्पादक कृषक, सङ्कलनकर्ता र चियाको मूल्य शृंखलामा क्रियाशील सबैको लागि मापदण्ड तय गरी निर्देशिका बनाउन केही वर्ष लाग्यो’, मन्त्री भुसालले भने, ‘बोर्डले यसमा घनीभूत छलफल नै चलायो । निर्देशिका बनेर स्वीकृत भएपछि अब यो कार्यान्वयनमा आउने चरणमा पुगेको छ ।’

बोर्डले गतवर्ष नै यस ट्रेडमार्क प्रयोगका लागि इच्छुक चिया उद्योगहरूलाई निवेदन दिन सार्वजानिक आह्वान गरेको थियो । निर्देशिकाले तय गरेका मापदण्डहरू पालना गरि चिया उत्पादन भए÷नभएको बारे बोर्डले स्थलगत अनुगमन गरी प्रतिवेदन बनाई सोही प्रतिवेदनका आधारमा १२ वटा चिया उद्योगहरूले मापदण्ड पूरा गरेको आधारमा ट्रेडमार्क पाएका हुन् । मापदण्ड पुरा नभएका बाँकी चिया उद्योगहरूको प्राविधिक क्षमता विकासका लागि बोर्ड र मन्त्रालयले आगामी दिनमा काम गर्ने मन्त्री भुषालले बताए । नेपालमा उत्पादन हुने सबै चियाले गुणस्तरीयता कायम गरेर ट्रेडमार्क लागेर मात्रै स्वदेश तथा विदेशमा नेपाली चिया विक्री हुने दिन आउने उनको भनाइ छ ।

ट्रेडमार्क कार्यान्वयनमा आएसँगै यसको गरिमामा आँच आउन नदिनका लागि सबै चिया कृषक, सङ्कलनकर्ता, उद्योग, ढुवानीकर्ता, प्याकेजर र सम्बद्ध सबैले आ–आफ्नो तर्फबाट चियाको गुणस्तर कायम गर्नका लागि भूमिका खेल्न जरूरी रहेको भन्त्री भुषालको भनाइ थियो । नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएसँगै अब चियाको बजारीकरणमा समस्या नआउने उनले बताए । नेपाल र भारतको बजारमा नेपाली चियाको बिक्रीवितरण भएको भए पनि अब चीन, अमेरिका र युरोपेली बजारमा पनि बिक्री गर्न आक्रामक ब्राण्डिङ र मार्केटिङ गर्न जरुरी रहेको उनले बताए । विदेशस्थित सबै कूटनीतिक नियोग र महावाणिज्यदूतमार्फत नेपाली चियाको ब्राण्ड प्रवद्र्धन गर्न मन्त्रालयले समन्वयात्मक भूमिका खेल्ने समेत उनले बताए ।

चिया क्षेत्रका अन्य समस्याहरू श्रमिक मजदुरको ज्यालाको विषय, हरियोपत्तीको मूल्यसम्बन्धी विषय र यो कोभिड–१९ ले चिया क्षेत्रमा पारेका असरहरूबारे आफू जानकार रहेको भन्दै मन्त्री भुषालले आगामी दिनहरूमा यी समस्याहरूको पनि क्रमैसँग सम्बोधन गर्दै जाने बताए । मुलुकको आर्थिक समृद्धिको यात्रामा चिया क्षेत्रले अग्रणी भूमिका खेल्ने उनको भनाइ थियो । नेपालमा एक सय ५७ वर्ष अघिदेखि चिया खेती गर्न थालिएको हो । विसं १९२० मा इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापाले इलाममा चिया रोपण गरेर चिया खेतीको सुरुवात गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया