Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमालपोत र नापीको सेवा ढिलासुस्ती

मालपोत र नापीको सेवा ढिलासुस्ती


सोलुखुम्बु ।
जिल्ला मालपोत र नापी कार्यालय सोलुखुम्बुले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवाप्रवाहको शैली असहज तथा अत्यधिक ढिलासुस्ती रहेको एक सेवाग्राही छिन्डील्हमु शेर्पाले गुनोसो गरिन् । कार्यालयमा सबैभन्दा नामसारीसम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाइ छ । असोज २१ गते कार्यालयमा नामसारीको लागि निवेदन दिएको र कागजात पूरा भए पनि अझैसम्म समेत काम सम्पन्न हुन नसकेको अर्को सेवाग्राही दावा तामाङले गुनासो गरे । महिनौँ भए पनि सेवा नपाउँदा दुःख लागेको तामाङको भनाइ छ । प्रविधिको समय भए पनि नागरिकले पाउने सास्ती कम नहुँनु दुःखद् भएको उनको भनाइ छ ।
नामसारीका लागि कर्मचारी नभएकै कारण समस्या भएको कार्यालयको भनाइ छ ।

यता मालपोतका प्रमुख सूर्यप्रसाद कोइरलाले नामसारीबाहेकका काममा हस्ताक्षर नगर्ने हुँदा अन्य कर्मचारीलाई कामको बोझ थपिएको लेखापढी व्यवसायीको भनाइ छ । विगतको दिनमा एक दिनमा सकिने काम समेत अहिले कम्तीमा पनि ३ दिनसम्म लाग्ने गरेको नागरिकको गुनासो छ । यस्तै एक हप्ताअगाडि श्रीमान्को नामबाट जग्गा नामसारीको लागि कार्यालयमा निवेदन दिएको भए पनि कर्मचारी नभएको कारण अहिलेसम्म काम नभएको शारदा कटुवालले बताइन् । अहिले मालपोत अधिकृत खुम्बु क्षेत्र गएपछि नामसारीसम्बन्धी काम नै ठप्प बनेको हो । कार्यालयमा सेवा लिने ठाउँदेखि नागरिक बडापत्रमा समेत ध्यान नदिँदा समस्या भएको लेखापढी व्यवसायी कुन्जाङ शेर्पाले बताए । शेर्पाले भने– ‘मालपोतको हाकिमसाब दुईवटा कम्प्युटर राखेर बस्नुहुन्छ, उहाँले एउटामा सेयर कारोबार गरिरहनुहन्छ तर कार्यालयको कम्प्युटर चाहिँ सधैँ बन्द हुन्छ ।’

कोरोनाको कारण देखाउँदै सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश निशेध गरेपछि असहजीलो ढंगले सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही छिन्डील्हमु शेर्पाले बताइन्  । ‘कुलेसोमा बसेर सेवा लिनुपर्ने, सेवाग्राही लाइन लाग्ने ठाउँ पनि छैन, होचो मान्छेले त कर्मचारी छन् कि छैनन् भन्ने पनि देख्न मुस्किल पर्ने रहेछ, उता नापीको हालत पनि उस्तै रहेछ ।’ कांग्रेस जिल्ला नेता समेत रहेकी शेर्पाले भनिन्, ‘यही विषयलाई लिएर जिल्ला प्रशासनमा गएर सीडीओको ध्यानकर्षण समेत गराएका छौँ, केही दिनसम्म सेवा प्रवाह सहज भएन भने तालाबन्दी गर्ने भन्नेसम्म हाम्रो सभापतिज्यूसँग छलफल भएको छ ।’

सेवाग्राहीको अत्यधिक गुनासोपछि नेपाल लेखापढी कानुन व्यवसायी जिल्ला समिति सोलुखुम्बुले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भए पनि कर्मचारीको उपस्थिति नभएको समितिका अध्यक्ष आङजाङ्बु शेर्पाले बताए । छलफलमा बसेर समस्या समाधानको बाटो अवलम्बन गर्नुपर्ने भए पनि विभिन्न बहानामा कर्मचारी अनुपस्थित रहेको उनको भनाई छ । अध्यक्ष शेर्पाले मालपोत र नापी कार्यालयका कर्मचारीको व्यवहारले गर्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको दाबी गरिन् ।

कतिपय अवस्थामा अबेरसम्म सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीले व्यवसायी र सेवाग्राही हेरेर हस्ताक्षर मात्रै बाँकी रहेको कामलाई समेत अर्को दिनका लागि बोलाउने गरेको उनको भनाइ छ । यही बिहीबार मात्रै पनि खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट आएका एक सेवाग्राहीको काम साँझ ६ बजेसम्म भएको भए पनि शुक्रबार पुर्जामा हस्ताक्षर गर्नकै लागि मात्रै ३ बज्यो भन्दै कर्मचारी हिँडेको बताइएको छ । यता नापी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सिकेश कोइरलाले अनलाइन सिस्टम भएका कारण केही ढिलासुस्ती भएको स्वीकार गरे । तर यस विषयमा मालपोत अधिकृतसँग भने सम्पर्क हुन सकेन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया