Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रमा हुने घोटालामा अख्तियारले हात बढायो

बैंकिङ क्षेत्रमा हुने घोटालामा अख्तियारले हात बढायो

तत्कालीन रोयल मर्चेन्ट फाइनान्ससँग जोडिएका महाप्रबन्धकसहित १२ जनाको नाममा पत्राचार


काठमाडौँ ।
सरकारी कार्यालय एवं सरकारमातहतका विभिन्न निकाय एवं संस्थानहरुमा हुने आर्थिक अनियमिततामा मात्र पक्राउ तथा अनुसन्धान गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरुमा हुने वित्तीय घोटालामा पनि अनुसन्धान सुरु गरेको छ । आयोगले यही मंसिर २४ गते तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्ससँग सम्बन्धित रकम घोटाला प्रकरणमा छानबिन गर्नको लागि भन्दै उक्त फाइनान्सका महाप्रबन्धक, ऋणी एवं मूल्यांकनकर्ता समेतका १२ जनाको नाउँमा पत्र काटेको छ ।

‘आयोगमा दर्ता भएको सार्वजनिक सम्पत्तिको हानि÷नोक्सानी समेत गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा तपाईंहरुसँग केही कुरा बुझ्नुपर्ने भएकाले तपाईंहरुको घर ठेगानामा सूचना पठाउँदा बेपत्ते तामिल भइआएकाले यो सूचना प्रकाशित गरिएको हो’, अख्तियारले भनेको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र यस आयोगको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखामा सम्पर्क राख्न आउनुहोला अन्यथा कानुनबमोजिम भइजाने व्यहोरा अनुरोध छ ।’

अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन २०५१ को दफा ४३ बमोजिम तत्कालीन रोयल मर्चेन्टसँग जोडिएका १२ जना व्यक्तिहरुको नाउँमा यही मंंसिर २४ गते सार्वजनिक सूचना जारी गरिएको हो । यसरी सार्वजनिक रुपमा सूचना जारी गरिएका व्यक्तिहरु साबिक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपि फाइनान्स मर्जरपश्चात् एपेक्स बैंकको नाममा कारोबार गरिएका व्यक्तिहरु भएको जानकारी पनि अख्तियारले दिएको छ ।

हाल एपेक्स डेभलपमेन्ट बैंक भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)सँग विलय भएको हो । आयोगका अनुसार सार्वजनिक सूचना जारी गर्दै पत्र काटिएका व्यक्तिहरुमा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका तत्कालीन महाप्रबन्धक प्रदिप बहादुर कर्माचार्य, सोही फाइनान्सका सञ्चालक भरतकाजी श्रेष्ठ, ऋणी बादशाह फुडल्याण्ड चितवनका सञ्चालक ऋषीश्वर थपलिया, ऋणी एनबीएस सुपरमार्ट धनुषाका सञ्चालक अनोज श्रेष्ठ, फाइनान्सका सहायक महाप्रबन्धक रामचन्द्र बसौला, ऋणी हजुरको हार्डवेयर पसल भक्तपुर दुवाकोटका सञ्चालक मुकुन्द प्रसाद पराजुली रहेका छन् ।

यसैगरी फाइनान्सको स्वतन्त्र मूल्याकंनकर्ता सिटी इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक नरेश स्वाँर, तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सहायक अधिकृत सन्तोष धिताल, ऋणी राम शाह बहुमुखी व्यापार कम्पनीका सञ्चालक राम बहादुर शाह, रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका कर्मचारी देवराज ढुंगाना, रोशन इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक कोमानन्द अधिकारी र पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाल रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया