Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसशस्त्रका इन्स्पेक्टर कोइरालाको अवैध धन्दा

सशस्त्रका इन्स्पेक्टर कोइरालाको अवैध धन्दा


काठमाडौं ।
सुन्दा आश्चर्य लाग्ला– सुरक्षाकर्मीका अधिकृत नै लागूऔषध तस्कर ! तर आश्चर्य नमाने हुन्छ– सशस्त्र प्रहरीका इन्स्पेक्टर दीपक कोइरालाले लागूऔषध कारोबारीहरुसँग रकम असुल्दै कमाउ धन्दामा लागेको तथ्य आर्थिक दैनिकले फेला पारेको छ ।

सशस्त्र प्रहरीका इन्स्पेक्टर दीपक कोइराला एक विवादास्पद छवि भएका तर सबैमाझ परिचित व्यक्ति हुन् । उनी विगत आठ वर्षदेखि सबै तहका अधिकृतको रोजाइमा पर्ने दुई नम्बर प्रदेशमा कार्यरत छन् । हाकिमको चाकडी र चाप्लुसीमा पोख्त उनले कुनै न कुनै च्यानल प्रयोग गर्दै शक्तिकेन्द्रको नजिक बसेर माथिल्लो दर्जाका वरिष्ठ अधिकृतहरुलाई दुरुपयोग गरी आफ्नो स्वार्थपूर्ति गरेका हुन् । विगतझैँ उनी यसपटक पनि पहिले प्रयोग गर्ने गरेको शक्तिकेन्द्रको अन्तिम पटक दुरुपयोग गर्दै दुई नम्बर प्रदेशकै अत्यधिक कमाउ अड्डा भनेर चिनिने सिरहा जिल्लाको गोलबजार बेसमा कार्यरत छन् ।

सशस्त्र प्रहरीमा सनतकुमार बस्नेत आईजीपी भएपछि राजमार्गमा हुने लुटपाट तथा डकैतीको रोकथाम तथा नियन्त्रण गर्न देशका विभिन्न स्थानहरुमा स्थायी तथा अस्थायी राजमार्ग सुरक्षा पोष्टहरु स्थापना भएको थियो । त्यतिबेला देशमा एकातर्फ सशस्त्र विद्रोहलाई दबाउनुपर्ने र पछिल्लो समय लडाकुदस्ताबाट योङ्ग कम्यिनिष्ट लिग (वाईसीएल)को रुपमा परिवर्तित समूहहरुबाट शान्ति सुरक्षामा पर्नजाने खतराका कारण पनि सकेसम्म धेरै टुकडीमा छरेर राख्न सशस्त्र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।

यही सिलसिलामा सिरहाको गोलबजारमा सशस्त्र प्रहरीको उक्त राजमार्ग सुरक्षा पोष्टको स्थापना भएको थियो । हाल यसैका प्रमुख छन्– सशस्त्रका इन्स्पेक्टर दीपक कोइराला । कोइराला बेसमा हाजिर भएको धेरै पनि भएको छैन । जम्मा दुई महिना मात्र भएको छ । उनले इन्स्पेक्टर रोशन थापालाई गत पुसमा पालो दिएका हुन् । हाइटीमा रहेको मिनुस्ता शान्ति मिसनमा सँगै बसेको सम्बन्धलाई दुरुपयोग गर्दै अवकाश हुन लागेका एआईजी नारायणबाबु थापाको विगतको अस्त्र यस पटक पनि अन्तिम पटक प्रयोग गर्दै उनी त्यहाँ गएका हुन् ।

सिरहाको ठाडी, नवराजपुर, वडहरी र वरियारपुरलगायतका छोटी नाकाबाट हुने तस्करीमा संलग्न स्थानीय भाषामा प्रयोग हुने ‘ब्ल्याकी’हरुसँग हाल उनले असुली धन्दा चलाउँदै आएका छन् । सशस्त्र प्रहरीको गोलबजार बेसको बाटो भएर ठाडी, नवराजपुर, वडहरी र वरियारपुरलगायतको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)बाट आएका सामानहरु अन्यत्र जाने गर्दछ । त्यसैले पनि उक्त बेसलाई चारवटा बीओपीको रुपमा दाँज्ने गरिन्छ । किनभने चारवटा नाकामा सेटिङ्ग गरे पनि यो बेसलाई बाइपास गर्ने अरु विकल्प छैन । त्यसैले पनि उनले राजतन्त्रको झल्को दिने गरी चारवटै बीओपीका प्रमुखहरुसँग आफू चारवटा बीओपीको क्षेत्रपाल भएको र आफूलाई मिल्न मन नलागे नमिल्ने (लाइन नखोल्ने) भन्दै धम्क्याउने गरेका छन् ।

इन्स्पेक्टर कोइरालाले नेपालबाट भारततर्फ तस्करी हुने स्थानीय घरेलु र कम गुणस्तर भएको सोफीलगायतका रक्सी, केराउ, मरिच, छोकडा, कत्था र सुपारीको -याकेटिङ्ग चलाउँदै आएका छन् भने भारतबाट नेपालतर्फ हुने मलखाद, कपडा, मोर्टर तथा मेसिनरी सामानहरु, कपडा र खाद्यान्नहरुको निर्बाधरुपमा तस्करी गराएको पाइएको छ । इन्स्पेक्टर रोशन थापाबाट असन्तुष्ट तस्करहरु कोइराला त्यहाँ पुगेपछि हौसिएर तस्करीमा जुटेका छन् ।

दुई नम्बर प्रदेशको भेष्वा र भेषमपुरबाट विगतमा तराई र पहाडको संगमस्थल महाभारत चुरे पर्वत शृंखलामा उत्पादन हुने गाँजा र चरेस जाने गथ्र्यो । सशस्त्र प्रहरीले भारतीय दबाबमा शून्य सहनशीलताको रणनीति अख्तियार गरेको भन्दै चेतावनीपूर्ण पत्राचार गरेपछि उक्त नाकाका सशस्त्र प्रहरी हच्किएर उक्त काम बन्द गरेका थिए । उनी त्यस बेसमा गएपछि गत माघको पहिलो हप्तामा सिरहाकै मनोज होटलमा भेटेर मकवानपुरका केसी थरका एक व्यक्तिसँग चरेस र गाँजा भारत छिर्न दिने भन्ने ‘डिल’ गरेका थिए ।

उनी ‘डिल’ गर्न जाँदा सशस्त्र प्रहरीको वरिष्ठ अधिकृतले चढ्ने सरकारी नम्बर भएको टाटा कम्पनीको सुमो प्रयोग गरेपछि उक्त भेद खुलेको थियो । त्यसो त उनले नेपाल सरकार औषधि व्यवस्था विभागले प्रतिबन्धित तथा नियन्त्रित सूचीमा राखेको मनोद्दीपकलगायतका लागूऔषध तथा यौनशक्तिवर्धक औषधिहरु तस्करहरुसँग मिलेर नेपालतर्फ तस्करी चलाउन एक हवल्दारलाई जिम्मा नै दिएका छन् । जसका लागि सर्लाहीकै एक कार्यालयमा कार्यरत मण्डल थरको एक असईको भाइको प्रयोगसमेत भएको पाइएको छ ।

सशस्त्र प्रहरीमा घुमुवा खटाउन नपाउने नियमको ठाडो उल्लंघन गर्दै उनले एक जना हवल्दारलाई घुमुवाको रुपमा खटाएर ‘आको वात छैन, जे आउँछ मजाले पचाउँछ’ भन्दै जे जस्तोसुकै पनि तस्करीको लागि बाटो खोलिदिएर रकम असुल्न थालेका छन् । त्यसो त उनी सशस्त्रको दुई नम्बर प्रदेश हेर्ने वाहिनीमा रहेर सशस्त्रका दुई नम्बर प्रदेशका सबै घुमुवाहरुसँग रकम असुल्थे । किनकि उनी नै दुई नम्बर प्रदेशका डीआईजीपछिका हर्ताकर्ता थिए । जे जति घुमुवाहरुको उजुरी र गुनासो आए पनि उसैले घुमुवाहरुसँग पैसा लिएर मिलाइदिन्थे । त्यसैले त सशस्त्रको दुई नम्बर वाहिनी र गणहरुबाट खटिने घुमुवाहरु उनलाई चिढ्याउन चाहँदैनन् ।

प्रत्येक पाँच वर्षमा क्षेत्र परिवर्तन अनिवार्य गराउने सशस्त्रको नियमलाई ठाडो चुनौती दिएर उनी दुई नम्बर प्रदेश बसेको एक दशक हुन लागिसकेको छ । तथापि उनी गत असारमा स्थापना भएको तर दुई नम्बर वाहिनीसँग रहने गणमा दुई नम्बर वाहिनीबाटै पुनः दरबन्दी हाल्न सफल भएका छन् । सशस्त्र प्रहरीमा जुनसुकै गण र प्रदेशमा रहेको बीओपी र बेसमा कमाण्ड गर्न जान खटाउने कार्यालयमा हाजिर भएको मितिको आधारमा ज्येष्ठ हुनुपर्ने नियम भए पनि उनको हकमा भने यो नियम लागू नहुने गरेको समेत पाइएको छ ।

को हुन् सशस्त्रका इन्स्पेक्टर दीपक कोइराला ? दोलखा जिल्लाको पोवटी भन्ने स्थानमा स्थायी घर रहेका कोइराला अवकाशप्राप्त नेपाली सेनाको तल्लो दर्जाको कर्मचारीका जेठो छोरा हुन् । सशस्त्रको तेस्रो ब्याचको असई उनले २०६० सालमा लामापाटनमा असई तालिम सकेका थिए । घरबाटै प्रशिक्षकहरुलाई चाकडी बुझाउन स्कुलिङ पाएका उनले चाकडीकै कारण तालिम सक्नेबित्तिकै सई भएका थिए । उनी सातौँ ब्याचका इन्स्पेक्टर हुन् ।

बालुवा तस्कर कोइराला यसरी भए ‘कमिना’ कोइरालाको बाल्यकाल दोलखाको पोवटीमै बितेको उनका एक बालसखा बताउँछन् । उनको पिताले नेपाली सेनाको घोडतबेलामा काम गर्दा कमाएको पैसाले काठमाडौंको शान्तिनगरभित्र सुकुम्बासी टोलनजिकै घडेरी किनेपछि उनीहरु शान्तिनगरमै घर बनाएर बसेका थिए । त्यसपछि उनको पढाइ मध्यबानेश्वरको रत्नराज्य स्कूलमा भएको थियो ।

दोलखा भीरकोटका नवराज खत्री उनको विगत सम्झिँदै भन्छन्, ‘उनी थर लेख्नलाई कोइराला लेखे पनि खत्री नै हुन् ।’ खत्रीका अनुसार कोइराला बाल्यकालमै चतुर थिए । रत्नराज्य स्कूलमा पढ्दाको समयमै उनले फलामको औँठी किनेर ‘बाउको अफिसबाट ल्याएको घोडाको टापको औँठी जुन लगाए शनिको दोष नलाग्ने र ग्रहशान्ति हुने’ भन्दै बेचेर खाजा खर्च जुटाउँथे । उनी बानेश्वर क्याम्पस पढ्दै गर्दा दोलखा र रामेछापबाट काठमाडौं आएर शान्तिनगर र सिनामंगलको सुकुम्बासी टोलमा बस्ने मान्छेहरु भेला गरेर वाग्मती खोलाको बालुवा निकाल्न लगाई बेचेर कमिसन खाने काम गर्ने गर्थे ।

दश कक्षामा पढ्दा थालेको व्यवसाय एसएलसी पास गरेपछि केही समयसम्म मात्र चल्यो । वाग्मती नदीको गहिराइ बढेर कुरुप हुनसक्ने र पशुपति मन्दिरलाई विश्वसम्पदा सूचीबाट हटाउनसक्ने भएकोले बालुवाको अवैध उत्खनन चोरी निकासी र पैठारी बन्द गराउन पशुपति विकास कोषले प्रहरीलाई अनुरोध भएपछि प्रहरीबाट उनको बालुवा तस्करीमा रोकतोक हुन थाल्यो । त्यसपछि उनले उनकै भिनाजु नाता पर्ने व्यक्तिसँग मिलेर भारतबाट केमिकल नेपाल ल्याएर पानी मिसाउँदै प्याकिङ गरेर फिनेल र हार्पिकको व्यापार गर्नथाले ।

सशस्त्र प्रहरीमा आबद्ध भएर जब उनी २०६६ सालमा इन्स्पेक्टर बने । त्यसपछि सशस्त्रको भिडियोग्राफी शाखामा डीएसपी (हाल एसपी) नरबहादुर रावतलाई हटाएर आफू प्रमुख हुन गरेको कमिनाको खेलसँगै बनेको उनको कमिनाको उपमालाई उनले अझै छोड्नसकेका छैनन् । त्यसो त सशस्त्रको भिडियोग्राफी शाखामा रहँदा उनले गरेको भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुल्तबीमा रहेको बताइन्छ ।

त्यस समयमा एआईजी जीवनकुमार थापाले दीपको सामु दीपक ठड्याई बस्न्याती सुनपानी छर्केर उनीलाई चोख्याएका थिए । उनीविरुद्ध अख्तियारको अगुल्टो झोसिएपछि बिजुली चम्कँदाको कुकुर जसरी उनी काइते काठमाडौंबाट पलायन भई दुई नम्बर प्रदेशमा झुल्किनपुगेका थिए । त्यसपछि भने उनले षड्यन्त्रपूर्ण र ‘कमिना’ खेल खुलेरै खेल्न थाले । उनले आफ्नो ब्याची तथा सहकर्मीहरुलाई हटाएर आफू त्यस ठाउँको प्रमुख बन्न कतिसम्म पनि कमिनाको खेल खेल्न बाँकी छोडेनन् ।

भनिन्छ, फौजमा सहकर्मी र समकक्षीहरुको भूमिका गहन र अमूल्य हुन्छ । तर उनले भारतीय बजारबाट तस्करलाई सामान ल्याउन लगाएर चोरी नाकाबाट त्यस ठाउँको सुरक्षाकर्मीहरुको आँखा छलेर नेपाल भित्र्याउन लगाउने र वाहिनी र गणको घुमुवालाई पक्रिन लगाएर समाचारका लागि सूचना स्थानीय सञ्चारमाध्यमलाई दिने गर्थे । पक्राउ परेको ठाउँको इन्स्पेक्टरले खोलेको लाइनको चोरी निकासी पैठारीको सामान गण र वाहिनीको घुमुवाले पक्रियो भन्दै समाचार छाप्न लगाउँथे । त्यसपछि समाचारको पत्रिकाको कटिङ्ग बोकेर गण र वाहिनीका प्रमुखसमक्ष पुग्थे र अनुसन्धानको लागि झिकाउन दबाब दिन्थे र उसको ठाउँमा आफू जान लबिङ्ग गर्न थाल्थे ।

यतिसम्म कि एउटा बीओपीको कार्यक्षेत्रमा पक्रेको सामान रातारात अर्को बीओपीको कार्यक्षेत्रमा पु¥याउन लगाएर डीआईजीलाई रिपोर्टिङ गर्न लगाउँथे उनी । त्यसैले उनी आजभोलि सहकर्मीहरुसँग ठट्यौली पारामा हाक्काहाक्की भन्ने गर्छन्, ‘घरले मलाई चाकडी सिकायो, स्कूलले विद्वान् गरायो अनि जागिरले मलाई कमिना बनायो ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया