Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारको तीन वर्ष पूरा, अर्को वर्ष १० प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर : प्रम ओली

सरकारको तीन वर्ष पूरा, अर्को वर्ष १० प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर : प्रम ओली


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गरेका छन् । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माण सम्पन्न भएपछि सोमबार उद्द्दाटनलगत्तै मूलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पाँच वर्षे कार्यकालको तीन वर्षे अवधिमा भएका प्रगति विवरण सार्वजनिक गरेका हुन् । आफूले सरकारको नेतृत्व सम्हाल्दा अस्तव्यस्त, थलिएको र भद्रगोल रहेको अर्थतन्त्रलाई एक वर्षदिन पूरा हुँदानहुँदै लय समात्न सफल भएको दावी गरेका छन् ।

सरकारको पहिलो वर्षमा करिब सात प्रतिशतको आर्थिक वृद्धि भएको, दोस्रो वर्ष ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि भएको उनले बताए । अर्थतन्त्रका सबै क्षेत्रहरुको वृद्धिदर ५ प्रतिशतभन्दा माथि पुगेको, सातवटै प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा बढी रहेको उनले बताए । यही बेला संसारमा कसैले पनि नसोचेको कोभिड–१९ को महामारी आएर विश्व अर्थतन्त्रको संरचना नै भत्काए पनि सरकारको सुझबुझ, नीतिगत स्पष्टता र पूर्वसक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा नपरेको उनको दाबी छ ।

‘तीन वर्षको औसत वृद्धि साँढे पाँच प्रतिशतको हाराहारी रह्यो । कोभिड–१९ को असर घट्दै जाँदा अहिले हाम्रो अर्थतन्त्र फेरि पुरानै लयमा फर्किँदै छ’, उनले भने, ‘चालू आर्थिक वर्षको पहिलो ६ महिनाका केही तथ्यांकले हाम्रो अर्थतन्त्र, पुनः उच्च आर्थिक वृद्धिको बाटो समात्ने गरी चलायमान भइसकेको देखिन्छ ।’ अर्को वर्ष, पन्ध्रौँ योजनाले प्रक्षेपण गरेको १० प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर हासिल हुने सम्भावना प्रबल रहेको ओलीको दाबी छ ।

यसै आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत १२४ अर्ब रुपैयाँ पुगेको बताउँदै उनले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत २६ अर्ब मात्र रहेको जानकारी दिए । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५ प्रतिशत रहेको बताए । आयात ४.८ प्रतिशतले घटेको र निर्यात ६.१ प्रतिशतले बढेको बताउँदै उनले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको बताए । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलर १२ अर्ब ७८ करोड पुगेको उल्लेख गरे ।

संघीय सरकारको खर्च ४१५ अर्ब ७५ करोड र राजस्व परिचालन ४२२ अर्ब २४ करोड भएको बताउँदै प्रधानमन्त्री ओलीले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशतले वृद्धि भएको बताए । यो अवधिमा १ सय ८५ अर्बबराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको जानकारी दिए । तीन वर्षको अवधिमा सार्वजनिक खर्चको आकारमा झण्डै २९ प्रतिशतले वृद्धि भएको, सार्वजनिक बजेटको आकार १८६.६४ अर्बले बढेको, अमेरिकी डलरमा प्रतिव्यक्ति आय २३.६ प्रतिशत (८८७ बाट १,०९७) र नेपाली रुपैयाँमा ३५.२ प्रतिशतले बढेको, ९ लाखभन्दा बढी जनसंख्यालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उकालिएको उनले बताए ।

संयुक्त राष्ट्रसंघीय मानव विकास प्रतिवेदनले मानव विकास सूचकांकमा ५ प्रतिशतभन्दा बढीको विन्दुगत वृद्धिले कोभिड–१९ को चपेटामा पर्दा पनि नेपालमा गरिबी नबढेको, भोकमरी नरहेको देखाएको ओलीले बताए । व्यावसायिक आयकरको दायरा तीन वर्षअघिको तुलनामा झण्डै ४ लाखभन्दा बढी (५२.२ प्रतिशत) ले बढेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया