Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगार बोर्डद्वारा कल्याणकारी कार्यमा ६० करोड वितरण

वैदेशिक रोजगार बोर्डद्वारा कल्याणकारी कार्यमा ६० करोड वितरण


काठमाडौं ।
वैदेशिक रोजगार बोर्डले आफ्नो नियमित काम कल्याणकारी कार्यअन्तर्गत ६० करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ । कल्याणकारी कार्यअन्तर्गत वैदेशिक रोजगारीको सिलसिलामा अशक्त भएका, मृत्यु भएका तथा शव व्यवस्थापनको लागि भन्दै बोर्डले चालू आर्थिक वर्षक फागुनसम्ममा ६० करोड ८७ लाख रुपैयाँ वितरण गरेको छ ।

बोर्डका अनुसार वैदेशिक रोजगारीको क्रममा सो अवधिमा नौ सय १० जनाको मृत्यु भएको हुदाँ आर्थिक सहयातास्वरुप मृतकका परिवारलाई ५६ करोड १७ लाख रुपैयाँ तथा वैदेशिक रोजगारीको सिलसिलामा अशक्त भएका ८६ जना कामदारहरुलाई तीन करोड ८४ लाख रुपैयाँ उपलब्ध गराएको छ  । यस्तै बोर्डले फागुनसम्ममा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका चार सय ९९ जना कामदारहरुको शव व्यवस्थापनको लागि ८६ लाख ५८ हजार रुपैयाँ वितरण गरेको छ ।

बोर्डले वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ अनुरुप आफ्नो कामकारबाही तथा कल्याणकारी कार्यहरु सञ्चालन गर्छ । बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको सरोकारावालालाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, विदेशमा सुरक्षित गृह सञ्चालन तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दछ ।

यस्तै वैदेशिक रोजगारीमा मृत्यु भएका/बिरामी वा अंगभंग भई शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारहरुका सन्ततिलाई छात्रवृत्ति, वैदेशिक रोेजगारीको क्रममा अप्ठ्यारोमा परेकालाई कानुनी सहायता र आर्थिक मन्दीका कारण अलपत्र परेका कामदारलाई समेत उद्धार गर्ने काम गर्छ ।

वैदेशिक रोजगारी असुरक्षित भएको अवस्थमा पनि मुलुकमा रोजगारी नहुँदा भने युवाहरु विदेशिन बाध्य छन् । एकतर्फ बोर्डले मृतक तथा समस्यामा परेका सर्वसाधारणलाई राहत तथा उद्धार गर्छ भने अर्कोतर्फ वैदेशिक रोजगार विभागले भने विदेश जानको लागि श्रम स्वीकृति प्रदान गर्छ । विभागका अनुसार चालु आवको आठ महिनाको अवधिमा ५० हजार आठ सय ९३ जनालाई पुनः श्रम स्वीकृति, २९ हजार ९७ जना युवाहरुलाई नयाँ श्रम स्वीकृति (व्यक्तिगत र संस्थागत) प्रदान गरेको छ । यस्तै तीन हजार १७ जना वैधानिकीकरण गरिएको छ ।

विदेशमा मात्र नभई स्वदेशमा समेत वैदेशिक रोजगार असुरक्षित रहेको छ । वैदेशिक रोजगारीको नाममा विदेश पठाउने भन्दै स्वदेशमा नै मेनपावर तथा व्यक्तिहरुले युवाहरुलाई ठगी गर्ने गरेका छन् । विभागका अनुसार आठ महिनाको अवधिमा विदेश पठाउने नाममा ठगी गरेको भन्दै दुई सय २२ वटा उजुरी प्राप्त भएको बताइएको छ ।

यस्तै प्राप्त उजुरीमध्ये विभागले ५१ वटा फछ्र्यौैट गरेको जानकारी दिएको छ भने १० वटा संस्थालाई दण्ड जरिवाना समेत गरिएको छ । व्यक्तिगत ठगीअन्तर्गतका ४० लाख बिगो दाबी गर्दै ४७ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा परेको छ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा विदेश जाने नाममा युवाहरुले विभिन्न समस्याहरु अर्थात् मृत्यु समेत झेल्नुपर्ने अवस्था छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया