Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको उद्योगमा उत्साहजनक लगानी

नेपालको उद्योगमा उत्साहजनक लगानी


काठमाडौं ।
चालू आर्थिक वर्षको आठ महिनामा एक सय ३६ वटा उद्योग स्थापना गर्नका लागि एक खर्ब १८ अर्ब १९ करोड ९३ लाख लगानी आएको छ । उक्त लगानीलाई उद्योग विभागले उत्साहजनक भनेको हो ।

विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार कोरोना महामारीको अन्त्य नभएको अवस्थामा पनि उद्योगका लागि सवा खर्बभन्दा बढी लगानी स्वीकृत हुनु उत्साहजनक हो । ‘कोरोनाको कारण विश्वबजारमा आर्थिक संकुचन आएको समयमा नेपालको उद्योग क्षेत्रमा सवा खर्बभन्दा बढी लगानी आउनु राम्रो कुरा हो’, सूचना अधिकारी पराजुलीले आर्थिक दैनिकसँग भने, ‘हामीले सेवा प्रवाहको क्रममा गरेको सहजीकरणसँगै विदेशी लगानी समेत नेपालमा भित्रिएको अवस्था रहेको छ ।’

उद्योग क्षेत्रमा स्वदेशीका साथै विदेशी लगानीकर्ताबाट लगानी रकम आउनु भनेको नेपाल लगानीको आकर्षणको केन्द्रको रुपमा रहेको छ भन्न सकिने उनको भनाइ छ । गत आवको सोही अवधिमा उद्योगमा आएको लगानीको तुलनामा भने करिब नौ अर्ब २७ करोड रुपैयाँले कमी हो । गत आवको आठ महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत उद्योगमा एक खर्ब २७ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ लगानी आएको थियो । दुई सय ४२ वटा उद्योग स्थापना गर्नका लागि सो लगानी विभागबाट स्वीकृत गराइएको हो ।

चालू आवको आठ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलना गर्दा ऊर्जामा लगानी बढ्दा अन्य उद्योग अर्थात् कृषि तथा वन पैदावर, सूचना, सञ्चार तथा प्रविधि, उत्पादन , सेवा र पर्यटनमूलक उद्योगहरुमा गरिने लगानीमा कमी आएको छ ।

चालू आवको समीक्षा अवधिमा लगानीकर्ताहरुले विभागबाट ऊर्जामा ९२ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ, उत्पादनमा नौ अर्ब ११ करोड रुपैयाँ, कृषि तथा वन पैदावरमा तीन अर्ब ६८ करोड ५५ लाख रुपैयाँ, पर्यटनमा छ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ लगानी गर्ने भन्दै विभागबाट लगानी स्वीकृत गराएका छन् ।

यस्तै उनीहरुले चालू आवको सोही अवधिमा सेवामा तीन अर्ब ८६ करोड ३४ लाख, खनिजमा १२ करोड ३४ लाख, पूर्वाधारमा एक अर्ब ५७ करोड ४४ लाख र सूचना, सञ्चार तथा प्रविधिमा ६५ करोड लगानी गर्ने भन्दै विभागबाट लगानी स्वीकृत गराएका छन् । योसँगै लगानीकर्ताहरुले आठ महिनाको अवधिमा सबैभन्दा बढी लगानी ऊर्जामा र सबैभन्दा कम खनिजजन्य उद्योगमा गरेका छन् । उनीहरुले सो लगानी स्वीकृत एक सय ३६ वटा उद्योग स्थापना तथा सात हजार नौ सय ५४ जनालाई रोजगारीसहित गरेका हुन् ।

लगानीकर्ताहरुले चालू आवमा उक्त लगानी स्वीकृत क्रमशः २१ वटा ऊर्जा, १५ वटा कृषि तथा बन पैदावारजन्य उद्योगमा र पाँच वटा सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित, ४० वटा उत्पादनमूलक, २७ वटा सेवामूलक, २६ वटा पर्यटनमूलक र एक/एक वटा पूर्वाधार र खनिजजन्य उद्योगमा रहेको छ ।

यस्तै गत आवको सोही समयमा उनीहरुले ८० अर्ब ७९ करोड ३७ लाख रुपैयाँ ऊर्जामा, १६ अर्ब ९४ करोड ११ लाख रुपैयाँ उत्पादनमूलकमा, एक अर्ब १२ करोड ६४ लाख रुपैयाँ कृषि तथा वन पैदावरमा, १९ अर्ब ३७ करोड ७२ लाख रुपैयाँ पर्यटनमा, छ अर्ब ८४ करोड पाँच लाख रुपैयाँ सेवामा र दुई अर्ब ८४ करोड रुपैयाँ सूचना, प्रसारण तथा सञ्चार प्रविधि उद्योगमा लगानी गर्ने बताएका थिए ।

यस्तै गत आवमा उनीहरुले स्वीकृत गराएको लगानी रकम दुई सय ४२ वटा उद्योग स्थापना तथा १५ हजार ७ सय १३ जनालाई रोजगारी दिनेसहित हो । नेपालको उद्योग क्षेत्रमा लगानी गर्नको लागि विदेशी लगानीकर्ताहरु भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुरुप आउने गर्छन् । उल्लेखनीय रुपमा ऊर्जा र पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताहरुले विशेष चासो दिने भए पनि कोरोना महामारी न्यून नहुँदा विदेशी लगानीकर्ताहरु भने अझै आउन नसकेको अवस्था रहेको विभागका अधिकारीहरुको भनाइ छ ।

यसैबीच पछिल्लो समय सरकारले विद्युत् निर्यात व्यापारलाई सुधार गर्दै लगेको पाइन्छ जसले गर्दा ऊर्जामा लगानी बढाउनको लागि आवश्यक कदमको रुपमा बुझ्न सकिन्छ । यस्तै विभागको कामकारबाही प्रविधिमैत्री बनाइने भएको छ जसले लगानीकर्ताहरुलाई लगानी गर्न थप सहज हुने विभागको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया