Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक सहायतामध्ये ९० प्रतिशत बढी ऋण

वैदेशिक सहायतामध्ये ९० प्रतिशत बढी ऋण


काठमाडौं ।
चालू आर्थिक वर्ष २०७७/०७८ को माघसम्मको अन्तर्राष्ट्रिय विकास सहायतामध्ये ९० दशमलव तीन प्रतिशत ऋण र नौ दशमलव सात प्रतिशत मात्र अनुदान सहायता उपलब्ध भएको तथ्यांक सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले बिहीबार अर्थ बुलेटिन प्रकाशित गरी चालू आवको माघ मसान्तसम्म कुल एक खर्ब ८७ अर्ब ४३ करोड ६० लाख रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको जनाएको हो । प्रतिबद्धतामध्ये माघ मसान्तसम्म सात अर्ब ४६ करोड अनुदान र २५ अर्ब ३९ करोड ऋण गरी ३२ अर्ब ८५ करोड रुपैयाँ प्राप्त गरिसकेको छ ।

अघिल्लो आवको सोही अवधिमा एक खर्ब नौ अर्ब २८ करोड रुपैयाँ मात्र अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको थियो । चालू आवमा भने गत वर्षभन्दा ७१ दशमलव पाँच प्रतिशतले विकास सहायताको रकममा वृद्धि भएको हो । सबैभन्दा बढी सडक तथा सुशासनमा वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार ५४ अर्ब रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । यो रकम चालू आवको माघ मसान्तसम्मको कुल सहायतामध्ये २८ दशमलव आठ प्रतिशत हो ।

दोस्रोमा ऊर्जा क्षेत्रमा वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । ऊर्जा क्षेत्रमा ४६ अर्ब १४ करोड ५० लाख रुपैयाँ अर्थात् कुल सहायताको २४ दशमलव छ प्रतिशत प्राप्त भएको छ । उक्त तथ्यांकले सरकारले पूर्वाधार र ऊर्जा क्षेत्रको विकासमा विशेष चासो दिएको प्रस्ट भएको छ ।

वैदेशिक सहायतामध्ये सहरी विकासमा १७ अर्ब ७६ करोड ३० लाख, शिक्षामा चार अर्ब ४६ करोड २० लाख, क्षमता विकासमा १७ अर्ब ७६ करोड ३० लाख, बजेटरी सहायतामा २३ अर्ब ६८ करोड ४० लाख, कृषिमा १० अर्ब ६५ करोड दश लाख, स्वास्थ्यमा तीन अर्ब ४० करोड २० लाख, वन तथा वातावरणमा एक अर्ब ७५ करोड, कोभिडको लागि एक अर्ब ३२ करोड ४० लाख, पुनर्निर्माणको लागि ६० करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त सहायता प्रतिबद्धतामध्ये द्विपक्षीय सहायता प्रतिबद्धता तीन दशमलव तीन प्रतिशत र बहुपक्षीय प्रतिबद्धता ९६ दशमलव सात प्रतिशत रहेको छ ।

चालू आवको माघ मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा विदेशी लगानीमा दर्ता भएको उद्योगको संख्यामा २२ प्रतिशतले कमी आएको छ । यस अवधिमा एक सय ३१ वटा मात्र उद्योग दर्ता भएको छ । कुल लगानीमा पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ दशमलव एक प्रतिशतले कमी आई २५ अर्ब ३२ करोडमा सीमित भएको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्म एक सय ६८ वटा उद्योग दर्ता भएर २८ अर्ब ८२ करोड रुपैयाँ विदेशी लगानी आएको थियो ।

कोभिडको कारण गत आवको सोही अवधिको तुलनामा यस अवधि अर्थात् माघ मसान्तसम्म नेपालमा आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । गत आवको सोही अवधिको तुलनामा चालू आवको यस अविधमा विदेशी पर्यटकको आवागमनमा ८७ दशमलव चार प्रतिशतले कमी आएको छ । यस अवधिमा १८ हजार २० जना मात्र पर्यटक नेपाल भित्रिएका छन् ।

कैयौँ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको कारण पर्यटक आवागनमा कमी आएको हो । पर्यटन व्यवसायमा विश्वभर नै मन्दी आएको छ । अधिकांश देशले आफ्ना नागरिकलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको कारण पर्यटन व्यवसाय धराशायी बनेको हो । पर्यटन लक्षित होटल व्यवसाय पनि धरापमा परेको छ । अधिकांश स्टारवाला होटलहरु विश्वभर नै धराशायी बनेका छन् । कोभिडमा कमी नआएसम्म पर्यटन क्षेत्र सुध्रिने सम्भावना कम छ । अहिले विश्वभर नयाँ किसिमको कोभिडको भाइरस देखा परेको कारण पर्यटन व्यवसाय अझै प्रभावित हुने देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया