Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा क्षयरोग नियन्त्रणबाहिर !

नेपालमा क्षयरोग नियन्त्रणबाहिर !


काठमाडौं ।
नेपालमा क्षयरोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणबाहिर जानलागेको संकेत मिलेको छ । एक वर्षको तथ्यांक हेर्दा क्षयरोगबाट एकै दिन ४६ जनाको मृत्यु भएको पाइएको छ । क्षयरोग उपचार तथा निवारणका कार्यक्रमका लागि आवश्यक जनशक्ति नहुँदा बिरामीको पहिचान र उपचारमा कठिनाइ भएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा.अनुज भट्टचनले बताए । ‘केन्द्रदेखि जिल्लासम्म जनशक्ति कम रहेकोले यस कार्यक्रम नै प्रभावित बनेको छ ।

पहिले केन्द्रमा ७० जना स्वास्थ्यकर्मी रहेकोमा अहिले ३० जनामा सीमित छ’, निर्देशक भट्टचनले भने, ‘पहिले जिल्ला जिल्लामा क्षयरोग फोकल पर्सन थिए तर देश संघीयतामा गएपछि सो जनशक्ति पनि छैन जसले गर्दा रिपोर्टिङदेखि नमूना संकलनसम्मको काममा असर पुगेको छ ।’ सर्वेक्षणअनुसार हाल नेपालमा ४१ हजारभन्दा बढी क्षयरोगी रहेको तर उनीहरुलाई पत्ता नै लगाउन नसकिएको उपचारमा समस्या भएको निर्देशक भट्टचनले बताए । उनले सबै पालिकामा क्षयरोग हेर्ने स्वास्थ्यकर्मी भए क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन सहज हुने भएकोले सोको लागि गृहकार्य भइरहेको समेत बताए ।

आ.व. २०७५/०७६ मा सम्पन्न क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् भने अहिले एक लाख १७ हजार क्षयरोगका बिरामी छन् । नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ । तथ्यांकअनुसार नेपालमा एकै दिन ४६ जनाको क्षयरोगको कारण मृत्यु हुने गरेको छ ।

क्षयरोग माइक्रोब्याक्टिरियम ट्युबरक्युलोसिस नामक सूक्ष्म किटाणुबाट श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । क्षयरोग ६ महिनासम्म नियमित औषधि खाए पूर्णरुपमा निको हुन्छ । हरेक वर्षको २४ मार्चमा विश्व क्षयरोग दिवस मनाइने गरिन्छ । यस वर्ष संकेत समयको क्षयरोग अन्त्यको भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हाल नेपालमा सरकारले चार हजार नौ सय ५५ उपचार केन्द्रहरुबाट डट्स उपचार सेवा तथा सात सय ६५ प्रयोगशाला र ७२ वटा जीनएक्सपर्ट केन्द्र एवं दुईवटा राष्ट्रिय प्रेषण प्रयोगशालाहरुबाट क्षयरोगको उपचार हुँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया