Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारत्रिपाल प्रकरणमा उन्मुक्ति पाएका व्यवसायी तोदीद्वारा हार्डवेयरको कारोबारमा राजस्व छली

त्रिपाल प्रकरणमा उन्मुक्ति पाएका व्यवसायी तोदीद्वारा हार्डवेयरको कारोबारमा राजस्व छली


विराटनगर ।
लामो समयदेखि विराटनगरमा सञ्चालन रहेको गोविन्द हार्डवेयरले गत आर्थिक वर्षको आफ्नो व्यवसायी कारोबार विवरणमा व्यापक राजस्व छली गरेको पाइएको छ । लामो समयदेखि हार्डवेयरको कारोबार गर्दै आएको गोविन्द हार्डवेयरले एकछत्र व्यवसायी कारोबार गर्दा पनि भ्याट विवरणमा अत्यन्त न्यून कारोबार देखाएपछि आन्तरिक राजस्व कार्यालयबाट आवश्यक अनुसन्धान सुरु भएको छ ।

विराटनगरको शनि मन्दिर रोडमा रहेको गोविन्द हार्डवेयरका सञ्चालक प्रभुदयाल तोदी हुन् । हार्डवेयरको कारोबार गर्दै आएका तोदी देशमा भएको भयावह भूकम्पको समयमा त्रिपाल प्रकरणमा मुछिएका थिए । तर उक्त प्रकरणमा उनले आफूलाई जोगाउन सफल भएका थिए । त्रिपाल प्रकरणमा केही व्यवसायी मात्र छानबीनको दायरामा परी मुद्दा समेत बोकेपछि त्यसबेला तोदीलाई भने उन्मुक्ति दिइएको थियो ।

पछिल्लो समय बजारमा भएको डण्डी र सिमेन्टको कार्टेलिङ प्रकरणमा फेरि उनी विवादित बन्न पुगेका छन् । गोविन्द हार्डवेयरका सञ्चालक प्रभुदयाल तोदीले दुई महिनाअघि उद्योगबाट ६८ रूपैयाँमा खरिद गरी ल्याएको डण्डीलाई ८८ रूपैयाँ मूल्य कायम गरी बिक्री वितरणमा ल्याएपछि उनी फेरि चर्चामा आएका छन् । जसले गर्दा उनले सञ्चालन गरेको कारोबार नै शंकाको घेरामा पर्न पुगेपछि आन्तरिक राजस्व कार्यालयले छानबीन सुरु गरेको स्रोतको दाबी छ । व्यवसायी तोदीले आफ्नै ढुवानीमा उद्योगबाट डण्डी ढुवानी गरी ढुवानीबापतको भ्याट रिफण्ड डिमाण्ड गरेको विवरण कारोबारमा उल्लेख गरेको फेला परेपछि उनको कारोबारमा गम्भीर प्रश्न उब्जेको हो ।

उनले फलामे डण्डीको कार्टेलिङमा होस् वा सिमेन्टको मनपरी मूल्य कायम गरी कारोबार गर्ने गरेको छन् । गत आर्थिक वर्षमा सात करोडको मात्र कारोबार गरेर २२ लाख मात्र करयोग्य आय भन्दै उनले पाँच लाख मात्रै सरकारलाई कर बुझाएपछि उनको कारोबारमा व्यापक राजस्वदेखि राज्यलाई बुझाउने भ्याट समेत ठगी हुनेगरेको स्रोतको दाबी छ ।

कोभिड १९ का कारण सरकारले गत वर्षको चैतदेखि लकडाउन गर्दा समेत तोदीले व्यापक हार्डवेयरको कारोबार गरेको कुरा उनी निकट व्यवसायीले नै जानकारी दिएका छन् । लकडाउन हुनुपूर्व सरकारले आर्थिक वर्ष ०७४।०७५ देखि भारत तथा तेस्रो मुलुकबाट सामान आयात एवं निर्यात गर्दा अनिवार्य जीएसटी प्रणाली लागू गरेपछि तोदीको हार्डवेयर व्यापारमा केही शिथिलता आएको थियो ।

लकडाउनका समयमा भने उनी विराटनगरका विवादित भन्सार एजेन्ट गुलाव साह समेतको मिलेमतोमा लाखौँको सामान आयात गर्न सफल भएका थिए । तोदीले आन्तरिक राजस्वमा समेत हिसाब मिलानका लागि मात्र मूअ करको बिल प्रयोग गर्ने र बाँकी विनाबिल नै सामान बिक्री गरी राज्यलाई लाखौं राजस्व ठगी गरिरहेको दाबी स्रोतले गरेको छ । फेरि पछिल्लो समय लकडाउन खुलेसँगै सरकारले कडाइका साथ जीएसटी लागू गरेपछि भन्सार एजेन्टसँगको सहमतिमा नै तोदीको व्यवसायी कारोबारमा केही शिथिलता आएको छ ।

स्रोतका अनुसार गोविन्द हार्डवेयरका सञ्चालक प्रभुदयाल तोदी केही वर्षअघिसम्म सामान्य व्यापारिक घरानाका व्यक्ति थिए । तर पछिल्लो समय अर्बौँको कारोबारमा संलग्न भए । अर्बौँको कारोबारमा पनि सरकारलाई बुझाउने राजस्व भने अत्यन्त न्यून देखाएपछि उनी राजस्वको निगरानीमा परेका हुन् । जसले गर्दा उनले सरकारलाई बुझाउने राजस्वमा समेत व्यापक ठगी गरिरहेको रहस्य सार्वजनिक भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट गोविन्द हार्डवेयर फर्म प्रभुदयाल तोदीको नाममा २०५६ सालमा नै ३००००९८४३१ बाट मूअ कर दर्ता कायम गरि व्यापारिक कारोबार गरेको देखिएको छ । उनले आयकरमा भने २०५२ सालमा नै फर्म दर्ता गराएको राजस्वस्रोतले बताएको छ ।

एक व्यवसायीका अनुसार केही व्यापारिक प्रतिष्ठानमा हुने कारोबार एउटा र देखाउने कारोबार अर्को हुने प्रचलन विराटनगरमा पछिल्लो समय व्यापकरूपमा बढेको छ । व्यवसायी तोदीको राजस्व छलीसम्बन्धी कामका लागि उनकै सहोदर भाई गोपाल तोदीले महत्वपूर्ण भूमिका खेल्नेगरेका छन् । केही वर्षयता हार्डवेयरको कामबाट अपेक्षा गरेअनुसारको मुनाफा आर्जन गर्न नसकेपछि गोपाल तोदी र प्रभुदयाल तोदीले भारतको कोलकाता र दिल्लीमा निजी फल्याट भाडामा लिएर अवैध आर्थिक कारोबार समेत सञ्चालन गरिरहेको स्रोतको दाबी छ । उक्त कामका लागि प्रभुदयालले सहोदर भाइ गोपाल तोदीलाई जिम्मा लगाएको छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया