Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार प्रमुख भण्डारी र राजस्व प्रमुख खड्काको सेटिङमा भन्सार एजेन्ट पौडेललाई क्लिनचिट

भन्सार प्रमुख भण्डारी र राजस्व प्रमुख खड्काको सेटिङमा भन्सार एजेन्ट पौडेललाई क्लिनचिट


विराटनगर ।
गत हप्ता विराटनगर भन्सारबाट सेटिङमा भन्सार जाँचपास गरी छाडेको ट्र्याक्टरसहितको सामान राजस्व छलीको आरोपमा प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाएको हप्तादिन बित्न नपाउँदै राजस्वले क्लिनचिट दिएको छ ।

मोरङ प्रहरीले गत हप्ता बीआर ३८ जे ८४५४ नम्बरको ट्र्याक्टरबाट हवनमा प्रयोग हुने भनेर उल्लेख गरिएका सातवटा व्यावसायिक फार्मको सामग्री र ट्र्याक्टर चालक भारतीय नागरिक पप्पु यादव समेतलाई पक्राउ गरी राजस्वमा बुझाएको थियो । राजस्व सुनसरीले पनि हवनमा प्रयोग हुने सामग्रीका नाममा अरु नै वस्तु प्रज्ञापनपत्रमा उल्लेख गरी आयात भएको बताएको थियो ।

राजस्वले अनुसन्धान थाल्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी परिणामको सामान र अरु नै सामग्री राखेर ल्याइएको पाइएको कर्मचारीस्रोतले पुष्टि गरेको छ । स्वयम् राजस्व कार्यालय सुनसरीका प्रमुख दिपक खड्का आफैँले विराटनगर भन्सारबाट प्रक्रिया पूरा गरेजस्तै देखाएर सहमति र मिलेमतोमा सामानको तस्करी गर्दै राजस्व छलेर राज्यलाई नोक्सानी पु-याउने धन्दा नै चलिरहेको पाइएको भन्दै सार्वजनिकरूपमा आफ्ना धारणाहरू सार्वजनिक समेत गरेका थिए ।

राजस्वले अनुसन्धान थाल्दा समेत हवनको सामान रहेको भनिएको ट्र्याक्टरमा सिलाइ मेसिन, बिजुलीको स्वीच, ट्र्याक्टरका पार्टसहरू, गमलगायत भेटिएको थियो । तर उक्त ट्र्याक्टरको भन्सारपास भन्सार एजेन्ट महासंघका केन्द्रीय उपाध्यक्ष चेतनाथ पौडेलले जाँचपास गराएका कारण त्यसै ओझेलमा परेको पाइएको छ ।

विराटनगर भन्सारका प्रभुख भन्सार अधिकृत शिव भण्डारी र भन्सार एजेन्ट चेतनाथ पौडेलबीच लामो समयदेखि सेटिङमा नै भन्सार जाँचपास हुनेगरेका कारण यो पटक राजस्व कार्यालय समेत सेटिङको भरमा भन्सार एजेन्ट पौडेललाई क्लिनचिट दिन सहमत भएको दाबी स्रोतले गरेको हो ।

राजस्व कार्यालय सुनसरीका प्रमुख दिपक खड्का र विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारीबीचको सेटिङमै भन्सार एजेन्ट पौडेललाई राजस्वबाट क्लिनचिट दिएको स्रोतको दाबी छ । प्रहरीले सामानसहितको ट्र्याक्टर राजस्व पु-याउँदा समेत कारबाही प्रक्रिया नै अगाडि नबढाउँदा राजस्व प्रमुख खड्कालाई भन्सारबाट भन्सार जाँचपासका नाममा अवैध धन्दालाई लुकाएर मिलिभगत गरी घटना गुपचुप पार्दै उन्मुक्ति दिने चलखेल गरेको आरोप पहिले नै लागेको थियो ।

अहिले राजस्व प्रमुख खड्काले उक्त आरोपलाई पुष्टि गर्दै भन्सार एजेन्ट चेतनाथ पौडेललाई क्लिनचिट दिएर प्रमाणित नै गरेको दाबी स्रोतले गरेको हो । स्रोतका अनुसार राजस्व प्रमुख खड्काले भारतीय नागरिक ट्रयाक्टर चालकलाई छोडिसकेपछि नै भन्सारको सेटिङमै राजस्वको निर्णय आउने करिब–करिब पक्का भएको थियो ।

विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारी र राजस्व अनुसन्धान कार्यालय सुनसरीका प्रमुख दिपक खड्का भन्सारभित्र चलेको लामो समयदेखिको सेटिङ विवादमा पछिल्लो पटक भएको राजस्वको भन्सार एजेन्ट क्लिनचिट निर्णयबाट आफैँ विवादित बन्नपुगेका छन् ।

दुवै राजस्व संकलनको मुख्य भूमिकामा रहेका कार्यालय प्रमुखले कानुन र नियमलाई आफूअनुकूल व्याख्या गर्दै कानुनी छिद्राको प्रयोग गरेर प्रक्रियागतरूपमा हुँदै आएको तस्करी गर्नेलाई सहज बनाइदिनेतर्फ केन्द्रित बनेको सरोकारवालाले आरोप लगाउन थालेका छन् । जसका कारण भन्सारकै मिलेमतोमा हुने तस्करी र संस्थागत राजस्व छली नियन्त्रण आगामी दिन अझै चुनौतिपूर्ण बनेर जाने निश्चित भएको छ ।

भन्सारका कर्मचारीको मिलेमतो देखिएपछि कागजी प्रक्रिया मिलाएर जोगाउने खेललाई राजस्व कार्यालय सुनसरीले समेत साथ दिएपछि भन्सारभित्रको सेटिङ प्रकरण थप पेचिलो बन्नपुगेको छ ।

भन्सारसँगै राजस्व कार्यालय सुनसरी पनि सेटिङमै रहेको देखिन पुगेको छ । पछिल्लो पटक सार्वजनिक भएको भन्सार राजस्व छली प्रकरण छानबिनमा प्रहरीले सप्रमाण मानिससहित बुझाउँदा समेत राजस्वले कारबाही नगरी भन्सार एजेन्टसहित संलग्न भन्सार कर्मचारीलाई उन्मुक्ति दिएपछि राजस्व सुनसरी र कार्यालय प्रमुख खड्का समेत विवादित बनेको बताउन थालिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया