Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसरी मोरङ औद्योगिक करिडोरमा कोरोनाका कारण खाद्य उत्पादन कटौती

सुनसरी मोरङ औद्योगिक करिडोरमा कोरोनाका कारण खाद्य उत्पादन कटौती


विराटनगर ।
कोरोना महामारीको दोस्रो लहरका कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित खाद्यान्न उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । छिमेकी देश भारतसहित नेपालमा पनि महामारीको अवस्था भयावह बन्दै गएपछि श्रमिकहरू उद्योगमा आउन नै छाडेका छन् ।

कोरोनाको त्रास बढेकाले उद्योगमा काम गर्ने श्रमिकहरू उद्योगमा आउन नसक्ने अवस्था सिर्जना भएपछि खाद्य उत्पादन गर्दै आएका उद्योगहरू धमाधम बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरूको भनाइ छ । देशलाई आवश्यक पर्ने दाल, चामल र तेललगायत खाद्यान्न उत्पादन गर्ने अधिकांश उद्योगहरू सुनसरी मोरङ औद्योगिक करिडोरमा नै सञ्चालनमा रहेका छन् ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रमा खाद्य उद्योग सञ्चालन गर्दै आएका उद्योगीका अनुसार पछिल्लो समय विराटनगरलगायत आसपासका क्षेत्रमा कोरोना संक्रमण हुने त्रासका कारण उद्योगमा काम गर्ने श्रमिकहरू उद्योगमा आउन हिचकिचाइरहेका छन् ।

सरकारले तोकेअनुसारको मापदण्ड बनाएर उनीहरूलाई उद्योगमा राखेर काम गराउन सक्ने अवस्था पनि छैन । जसले गर्दा अहिले नै करिब ७५ प्रतिशत खाद्यान्न उद्योग बन्द भइसकेका छन् । बाँकी उद्योगहरू पनि बन्द हुने अवस्था आइसकेको उद्योगीहरूको भनाइ छ ।

अहिले धेरै मानिसहरूले रोजगारी गुमाएका कारण उपभोक्ताको आम्दानी घट्न गई माग पनि घटेको उद्योगीहरूले बताएका छन् । संक्रमणको अवस्था यस्तै रहिरहे अबको एक हप्ताभित्र सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित सबै खाद्य उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आउनसक्ने खाद्य उद्योगीको भनाइ छ ।

खाद्य उद्योगीका अनुसार अहिले श्रमिकहरूमा त्रास बढेकै कारण एक सिफ्टमा मात्र उद्योगहरू चलिरहेका छन् । कतिपय श्रमिकहरू आफैँ संक्रमित भएर काम गर्न आउन सकेका छैनन् भने कतिपय उद्योगीहरूका परिवारका सदस्य समेतमा संक्रमण देखिएपछि उद्योगीहरू पनि उद्योगसम्म जान सकेका छैनन् । यस्तो अवस्थामा उद्योग कसरी सञ्चालन गर्ने भन्ने मूल प्रश्न रहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सुनसरी मोरङ औद्योगिक करिडोरमा लामो समयदेखि खाद्यान्न उत्पादन गर्दै आएको बोहोरा ग्रुपका सञ्चालक अविनास बोहोरा बताउँछन् ।

सामान्य अवस्थामा सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित खाद्यान्न उद्योगहरूले मागको करिब ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेलको उत्पादन गर्नेगरेको बोहोराले जानकारी दिए । तर अहिले उद्योग आफैँले आफ्नो उत्पादन कटौती गरी रोटेशनमा उद्योग सञ्चालन गरेको कारण खाद्यान्य उत्पादनमा कमी आएको बोहोराको भनाइ छ ।

उद्योगी बोहोराका अनुसार कोरोना संक्रमणको त्रास एकातर्फ छ भने कच्चा पदार्थको महँगीले गर्दा अर्कोतर्फ उद्योगहरूमा कच्चा पदार्थको अभाव पनि चुलिँदै गएपछि बाध्य भएर उद्यागहरूले उत्पादन नै कटौती गर्नुपरेको छ ।

कोरोनाको त्राससँगै पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको समेत मूल्य बढेको छ । मूल्यवृद्धि र महामारीका कारण नगदमा कारोबार गर्नसक्ने अवस्था नभएकाले आवश्यक परेको कच्चा पदार्थ ल्याउन नसकिएको खाद्य उद्योगीहरूको भनाइ छ । उद्योगीका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा तोरीको मूल्य पाँच सय ८० डलर प्रतिटनबाट बढेर आठ सय २० डलर प्रतिटन पुगेको छ ।

यसैगरी सोना मन्सुली धानको मूल्य पनि प्रतिक्वीन्टल दुई सय ५० रुपैयाँले बढेर अहिले तीन हजार रुपैयाँमा कारोबार हुनपुगेको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा नै खाद्यान्न उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेपछि आयात गरेर उत्पादन गरी बजारमा पठाउँदा मूल्यवृद्धि हुने भएकाले पनि उत्पादन कटौती गर्न बाध्य भएको उनीहरूको गुनासो छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया