Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५४ हजार सवारी चालक कारबाहीमा

५४ हजार सवारी चालक कारबाहीमा


काठमाडौं, माघ ३
ट्राफिक उज्यालो अभियान प्रभावकारी बन्दै जाँदा सवारी चालकहरु कारबाहीमा पर्ने क्रम बढेको छ । ‘समुदाय प्रहरी साझेदारी’अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट तीनमहिने विशेष ट्राफिक उज्यालो अभियान सञ्चालन भएको छ । यही अभियानअन्तर्गत यही पुस मसान्तसम्म ट्राफिक नियमहरु उल्लंघन गर्ने ५४ हजार पाँच सय ११ सवारी चालकहरु कारबाहीमा परेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यसअन्तर्गत विशेष मोबाइल चेकिङ तथा कारबाही अभियानअन्तर्गत सडक तथा फुटपाथमा जथाभावी पार्किङ गर्ने पाँच हजार आठ सय १७, जथाभावी हर्न बजाउने एक हजार पाँच सय ६१, मा.प.से. सेवन गरी सवारी चलाउने दुई हजार सात सय ८४, लेन अनुशासन पालना नगर्ने तीन हजार ४१, जथाभावी पिक एण्ड ड्रप गर्ने दुई हजार ४२, बढी भाडा लिने आठ सय २९ लगायत अन्य ट्राफिक नियम उल्लंघन गने समेत गरी उक्त संख्यामा चालकहरु कारवाहीमा परेका ढकालले बताए ।

यसैगरी ट्राफिक उज्यालो अभियानको सचेतनापश्चात् सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियमसम्बन्धी जिम्मेवारी बोध गराउने उद्देश्यसहित सार्वजनिक भाडाका सवारी चालक र सहचालक पाँच हजार छ सय ४६ जना, ट्याक्सी चालक एक हजार छ सय ४४ जना, मोटरसाइकल चालक नौ हजार ७५ जना, सरकारी चालक ५७ जना, पैदलयात्री २१ हजार तीन सय ७६ जना, संघ/संस्थाका चालक सात सय १७ जना र विद्यार्थी तीन हजार दुई सय २० जना गरी जम्मा ४१ हजार सात सय ३५ जनालाई सचेतना प्रदान गरिएको महाशाखा प्रमुख ढकालले बताए । ‘यस अभियानअन्तर्गत दैनिकरूपमा महाशाखा र मातहतका ४० कार्यालयहरूबाट ट्राफिक नियम र सडक अनुशासनबारे पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृश्य प्रदर्शनी गरी सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूल र कलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा लिने गरिएको उनको भनाइ छ ।

‘ट्राफिक उज्यालो अभियान’अन्तर्गत पैदलयात्री सुरक्षा अभियानमा भने जथाभावी बाटो काट्ने एक हजार छ सय १० जना पैदलयात्रीलाई तत्काल सोही स्थानमा २० मिनेटको सचेतना कक्षा समेत दिइएको महाशाखा प्रमुख ढकालले जानकारी दिए । ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पु-याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने उद्देश्यले यी अभियानहरू सुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसासर यो अभियान पुस १ गतेबाट सुरू भई फागुन मसान्तसम्म सञ्चालन हुने र अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिईने कार्यक्रममा आम जनमानसको उल्लेखनीय सहभागिताले निकै प्रभावकारी बन्दै गइरहेको छ । त्यस्तै भाडाका सार्वजनिक सवारीको बेथिति सुधारका लागि पाँच सय ९० सवारीलाई समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा सवारीसाधन र सवारी चालक र सहचालकमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्न प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराइएको प्रवक्ता श्रेष्ठले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया