Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालबाट तस्करी भएको चाइनिज स्याउ भारतमा पक्राउ

नेपालबाट तस्करी भएको चाइनिज स्याउ भारतमा पक्राउ


विराटनगर ।
लकडाउनको मौका छोपेर दुई महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि सशस्त्र र नेपाल प्रहरीकै लेनदेनको विवाद सतहमा आएको छ । सुरक्षा संवेदनशीलता तथा राजस्व छलीको हिसाबले विराटनगर भन्सारमा महत्वपूर्ण मानिएको भन्सार राजस्व गस्तीको काम कारबाही फितलो भएका कारण बेला बेला मोरङ जिल्लाका विभिन्न नाकाबाट पेट्रोलियम पदार्थ, हरियो केराउ, सुपारी तथा मरिचको भारततर्फ तस्करी हुँदै आएको छ । पछिल्लो समय भन्सार राजस्व गस्तीको आलोचना निकै बढेर गएको छ ।

सीमा सुरक्षामा बाक्लो संख्यामा सशस्त्र प्रहरीदेखि जनपद प्रहरी परिचालन हुँदा समेत पछिल्लो समय नेपाली नम्बर प्लेटका तीनवटा ट्रकमा तीन हजार तीन सय ५० कार्टुन चाइनिज स्याउ भारतीय भूमि वीरपुरमा भेटिएको छ । उक्त तस्करीलाई लिएर अहिले छानबिन समिति बनेसँगै तस्करीको सञ्जालमा प्रहरी समेत मुछिएको रहस्य खुल्न पुगेको हो । पछिल्लो समय तस्करी भएको स्याउ भारतीय प्रहरीले नेपालबाट तस्करी भएर भारतीय बजारमा पुगेको बताएको छ ।

भारतीय प्रहरीले नेपालबाट तस्करी भएको स्याउ, मरिचलगायतका सामानहरू ठूलो परिमाणमा धमाधम बरामद गरिरहेको छ । स्रोतका अनुसार भारतसँग सिमाना जोडिएको सुनसरीको भण्टाबारी, श्रीपुर, लौकही, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज र मोरङको मटेरुवा, सुगरमिल गेट, मायागञ्ज, रंगेली, डाइनीया, झुर्किया र जहदा हुँदै नयाँ बजार नाकादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमै व्यापकरूपमा तस्करी हुनेगरेको दाबी गरिएको छ ।

तस्करीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी आफैं विवादित भएसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत आर्थिक लेनदेन भएको भन्दै उजुरी परेको थियो । स्याउसहित पक्राउ परेका ट्रकहरू सुनसरीकै भूमि भएर वीरपुर पुगेको पुष्टि भएपछि अहिले प्रहरीले छानबिन समिति बनाएर अनुसन्धान थालेको छ । तर सशस्त्र प्रहरी भने अहिलेसम्म पनि जिम्मेवारी जति नेपाल प्रहरीलाई थोपरेर उम्कने प्रयासमा रहेको दाबी स्रोतले गरेको छ ।

नेपाल–भारतबीच रहेको खुल्ला सीमा नाका करिब एक वर्षअघिदेखि सिल रहेको अवस्थामा यति ठूलो परिमाणमा भारतीय प्रहरीले चाइनिज स्याउ पक्राउ गरेपछि सशस्त्र र नेपाल प्रहरीमाथि नै प्रश्न उब्जिएको छ । गत जेठ ३१ गते आइतबार बिहान भारतीय प्रहरीले ना ६ ख १५१२, ना ६ ख १८९५ र प्रदेश १–०२–००१ ख ८०४१ का ट्रकसहित अन्य तीनवटा भारतीय ट्रक, एउटा चार पांग्रे र एउटा मोटरसाइकल समेत पक्राउ गरेको हो ।

पक्राउ गरिएको चाइनिज स्याउसँगै विराटनगर २ का ३० वर्षीय नीरज मगर, ३४ वर्षीय सन्तोषकुमार सिंह, ४० वर्षीय टेकबहादुर श्रेष्ठ र दाङका आशिष बस्नेतलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, स्याउ तस्करीका मुख्य नाइके भनिएका भारत बिहार राघोपुर थानाक्षेत्र सतकोरारिया ५ का ३३ वर्षीय पवनकुमार चौधरी, २५ वर्षीय रमेशकुमार राम, सहरसा जिल्ला कुमरा ३ का ३२ वर्षीय महम्मद शम्शेर र समस्तीपुर १२ का ३६ वर्षीय फुलेन्द्र यादवलाई भारतीय प्रहरीले नै पक्राउ गरेपछि स्याउ तस्करीको नालीवेली खुलेको बताइएको छ ।

भारतीय प्रहरीले उनीहरूको साथबाट एक हजार तीन सय ५० कार्टुन चाइनिज स्याउ पक्राउ गरेपछि यहाँका प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षमतामाथि नै प्रश्न उब्जिएको छ ।

स्याउ तस्करी प्रकरण खुलेपछि नेपाल भारत सीमा क्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै उच्चपदस्थ सुरक्षा अधिकारीदेखि भन्सार विन्दुमा कार्यरत भन्सार कर्मचारीको समेत संलग्नता हुने गरेको दाबी अहिले गर्न थालिएको छ । करिब दुई महिनादेखि भएको लकडाउनका समयमा पनि स्याउ, सुपारी, मरिच, केराउको तस्करी गराउन तल्लोदेखि माथिल्लो निकायका उच्चपदस्थ कर्मचारीसहित सुरक्षा अधिकृतहरू नै संलग्न हुनेगरेको स्रोतको दाबी रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया