Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास खर्चमा राजनीतिक असर

विकास खर्चमा राजनीतिक असर


काठमाडौँ । राजनीतिक अन्योलका कारण मुलुकको विकासमा असर परेको छ । सत्ता परिवर्तन, सरकार विस्तार हुन नसक्दाको प्रत्यक्ष असर विकास खर्चमा असर परेको हो । सरकारले बिहीबारसम्ममा शून्य दशमलव ६ प्रतिशत अर्थात् दुई अर्ब ६१ करोड १६ लाख रुपैयाँ विकास (पुँजीगत) खर्च गरेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को लागि पुँजीगत शीर्षकका लागि सरकारले चार खर्ब ३५ अर्ब २४ करोड तीन लाख रुपैयाँ विनियोजन गरेको छ ।

विकासको आधारस्तम्भ मानिने पुँजीगत खर्च समयमा हुन नसक्नु भनेको मुलुकको आर्थिक विकास नहुनु हो । अझै पछिल्लो समय राजनीतिक अस्थिरताको कारणले गर्दा बजेट ‘होलिडे’को सिर्जना भयो जसले गर्दा ढुकुटीमा भएको रकम समेत चलाउन नसकिने अवस्था सिर्जना भयो । बजेट ‘होलिडे’कै कारणले गर्दा सरकारले पुँजीगत खर्च मात्र नभई चालू, वित्तीय व्यवस्था कुनै पनि खर्च राज्यको ढुकुटीबाट गर्नसकेको छैन । जसले मुलुकको चौतर्फी विकासमा असर पार्छ ।

राजनीतिक अस्थिरताकै कारण चालू आर्थिक वर्षको बजेट खर्चको सुरुवाती चरणमा असर परेको देखिन्छ । नयाँ आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने अवस्थामा रहँदा मुलुकको खर्चमा असर परेको थियो । ओली सरकार ढलेसँगै मुलुकको ३९औँ प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई प्रतिपक्ष नेकपा (एमाले)कै कारण बजेट खर्चमा समस्या परेको थियो । यस्तै पछिल्लो समय संसद् अवरोध र विनियोजन विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मतभेद हुँदा बजेट ‘होलिडे’सम्मको अवस्था सिर्जना भएको छ ।

महालेखाका अनुसार बजेट ‘होलिडे’ अगाडि अर्थात् सामान्य अवस्थामा दैनिक करिब साढे चार करोड रुपैयाँ विकास खर्च गर्दै आएको नेपाल सरकारले पछिल्लो समय भने एक पैसा पनि खर्च गर्नसकेको छैन । जसले गर्दा मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हामी देख्न सक्छौँ । सरकार विस्तार नहुने जसले गर्दा अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा मातहतमा रहनुले गर्दा पनि चालू, पुँजीगत र वित्तीय व्यवस्था शीर्षकमा खर्च हुनसकेको छैन । करिब एक दर्जन मन्त्रालयबाहेक अन्य मन्त्रालयहरुमा मनार्थ पदको भूमिका प्रधानमन्त्री देउवा रहेको पाइन्छ । गृह, अर्थ, ऊर्जा, कानुन र परराष्ट्रमन्त्रालयबाहेक अन्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले लिएका छन् ।
यद्यपि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विकास निर्माणको कामहरु भने सञ्चालन भइरहेको बताएको छ । मन्त्रालयका अधिकारीहरुले सरकारले बजेट खर्च गर्न नपाए पनि सम्बन्धित स्थानमा भने काम भइरहेको बताउँदै आएका छन् ।

बिहीबारसम्ममा सरकारले चालूतर्फ छ प्रतिशत अर्थात् ५८ अर्ब ६० करोड ७४ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १४ प्रतिशत अर्थात् २८ अर्ब ७३ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । बिहीबारसम्म सरकारको कुल खर्च पाँच प्रतिशत अर्थात् ८९ अर्ब ९५ करोड १३ लाख रुपैयाँ रहेको छ । यसरी राजनीतिक अस्थिरताकै कारण दैनिक करोडौँ खर्च गरी नागरिक जीवनस्तर माथि उठाउनुपर्ने सरकारी दायित्वबाट नेतृत्ववर्ग वञ्चित भएका छन् ।

बिहीबारसम्म सरकारले १६ प्रतिशत अर्थात् एक खर्ब ८१ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये राजस्वतर्फ १६ प्रतिशत अर्थात् एक खर्ब ६१ अर्ब ३१ करोड रुपैयाँ, गैरराजस्वतर्फ १८ प्रतिशत अर्थात् २० अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ। यस्तै बिहीबारसम्मको अवधिमा वैदेशिक सहायता भने शून्य छ । सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ५१ अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । बजेट ‘होलिडे’ को बाबजुद पनि सरकारले राजस्व संकलन गर्न सफल भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया