Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबक्यौता नतिर्ने क्यासिनो सञ्चालक सर्वोच्चको ढोकामा

बक्यौता नतिर्ने क्यासिनो सञ्चालक सर्वोच्चको ढोकामा


काठमाडौँ ।सरकारले बक्यौता रकम नतिर्ने क्यासिनो सञ्चालकहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने भएसँगै उनीहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । सरकारलाई क्यासिनो सञ्चालकहरुले समग्रमा करिब एक अर्ब ४३ करोड बक्यौता तिर्न बाँकी रहेको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ । तर, क्यासिनो सञ्चालकहरु सर्वोच्च अदालत गएसँगै बक्यौता रकम उठाउन कार्यालयलाई तत्कालका लागि सम्भव हुनसकेन । सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा रहेको कारणले गर्दा बक्यौता उठाउन समस्या भएको कार्यालयका सूचना अधिकारी रविचन्द्र अर्यालले आर्थिक दैनिकलाई बताए ।

कार्यालयका अनुसार अन्नपूर्ण इन्टरनेशनल प्रालि दरबारमार्ग, होटल एभरेष्ट इन्टरनेशनल प्रालि नयाँ बानेश्वर, होटेल सोल्टी प्रालि ताहचल बक्यौता रकमलाई लिएर कार्यालयसँग मतभेद राख्दै सर्वोच्च गएका हुन् । क्यासिनो सञ्चालन गरेबापत अन्नपूर्ण इन्टरनेशनलले १४ करोड ९९ लाख ६९ हजार, होटेल एभरेष्ट इन्टरनेशनल प्रालिको १३ करोड २८ लाख ४१ हजार, होटेल सोल्टी प्रालिको सात करोड ८६ लाख ३३ हजार बक्यौता रकम सरकारलाई बुझाउन बाँकी छ । क्यासिनो अन्नपूर्ण इन्टरनेशनल प्रालिका महाप्रबन्धक तप्त बहादुर विष्ट, होटेल एभरेष्ट इन्टरनेशनल प्रालिका सञ्चालक मशकुर अहमद, होटेल सोल्टी प्रालि सञ्चालक दिनेश बहादुर विष्ट र ह्यापी आवर प्रालि सञ्चालक सुरेन्द्र बहादुर सिंह रहेका छन् ।

‘बक्यौता रकम तिर्न बाँकी तीनवटा क्यासिनो सञ्चालक सर्वोच्च गएसँगै हामीले रकम उठाउन सम्भव नभएको हो । सर्वोच्चमा मुद्दा विचाराधीन भएको कारण प्रक्रिया अघि बढाउन सकेनौँ’, उनले आर्थिक दैनिकसँग भने, ‘बाँकी क्यासिनोको भने बक्यौता रकम उठाउन प्रक्रिया अघि बढाएका छौँ ।’क्यासिनो सञ्चालकहरुलाई बक्यौता रकम तिर्नको लागि पटक–पटक कार्यालयले आग्रह गर्दै आएकोमा त्यसलाई उनीहरुले बेवास्ता गर्दै आएका थिए । पछिल्लो पटक भने कार्यालयले तीनपुस्ते विवरण सार्वजनिक गर्ने तयारी गरेको थियो । सोही समयमा क्यासिनो सञ्चालकहरु सर्वोच्च गएका हुन् ।

यस्तै दि फूलबारीले भने रकम तिर्ने बताएको छ । दि फूलबारीका सञ्चालक पियुष बहादुर अमात्य (पोखरा)ले बक्यौता रकम तिर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेको छ । आफू रुग्ण उद्योगभित्र पर्ने हुँदा सोहीअनुरुप सहुलियत प्रदान गरी बाँकी रहेको बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएको जानकारीमा आएको सूचना अधिकारी अर्यालले बताए । पर्यटन मन्त्रालयसँग छलफल भएको छ तर आधिकारिक पत्र भने कार्यालयमा नआइसकेको उनको भनाइ छ ।

अमात्यको दि फूलबारी लिमेटडले ३६ करोड ६० लाख बक्यौता तिर्न बाँकी छ । यस्तै, सुरेन्द्र बहादुर सिंह र केटसरिन सिम्हना सिंहको ह्यापी आवर प्रालिले १० करोड २८ लाख ७० हजार र राधेश्याम सराफ (काठमाडौं), सराफको होटेल याक एण्ड यति प्रालिले १७ करोड ६२ लाख बक्यौता सरकारलाई तिर्न बाँकी छ । उनीहरुबाट कुनै किसिमको प्रतिक्रिया नआएको बताइएको छ ।

यसअघि कार्यालयले सञ्चालक अमात्य, सराफ र सिंहको तीनपुस्ते विवरण भने सार्वजनिक गरिसकेको छ । अमात्यको दि फूलबारी लिमिटेड पोखरा, छिने डाँडा १५, सराफको याक एण्ड यति प्रालि काठमाडौं, नक्साल, सिंहको महाकाली ६ कञ्चनपुर, र सिम्हनाको काठमाडौं ताहचल स्थायी ठेगाना छ । सार्वजनिक गरिएको विवरणको जिम्मेवार कार्यालय नहुने समेत सरोकारावालाहरुलाई आग्रह गरेको थियो । कार्यालयले कारबाही प्रक्रियाअन्तर्गत जायजेथा जफत समेत गर्न सक्नेछ ।

क्यासिनो सञ्चालकहरुले सरकारलाई तिर्नुपर्ने राजस्व नबुझाई बक्यौता राखेपछि विभिन्न सरकारी निकायले सूचना प्रकाशित गरे पनि त्यसलाई अवहेलना गर्दै आएको पाइन्छ । कार्यालयले सरकारी बाँकी सावाँ रकम अर्थात् बक्यौता र सोमा नियमानुसार लाग्ने ब्याज समेत बुझाई आ–आफ्नो नामको लगत कट्टा गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ११४ को उपनियम (१) बमोजिम सबैलाई आग्रह गरेको हो । यस्तै उक्त म्यादभित्र अर्थात् सूचना प्रकाशित भएको ३५ दिनभित्र सरकारी बाँकी रकम नबुझाएमा सोही नियमावलीको सोही नियमको उपनियम (२) देखि (१२) सम्मका प्रक्रियाबमोजिम असुलउपर तथा कारबाही अघि बढाइनेछ । उक्त नियमावलीअनुरुप क्यासिनो सञ्चालकहरुले तोकिएको समयभित्र बक्यौता रकम नतिरेमा कार्यालयहरु जायजेथा जफतमा लाग्नसक्ने व्यवस्था गरिएको छ । यदि रकम बुझाइसकेको भएमा उक्त नियमावलीअनुरुप कार्यालयमा दाबी पेश गर्न समेत सकिने व्यवस्था रहेका छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया