Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी मुुद्राको सञ्चितिमा सुधार

विदेशी मुुद्राको सञ्चितिमा सुधार


काठमाडौं, माघ १६
विदेशी मुुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पाँच महिनाको प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले बढेर २०७६ मंसिर मसान्तमा १० खर्ब ८८ अर्ब ३१ करोड रुपैयाँ पुुगेको छ ।

राष्ट्र बैंकका अनुुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ मंसिर मसान्तमा नौ अर्ब ६३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुुई अर्ब ४४ करोड रहेकोमा २०७६ मंसिर मसान्तमा नौ खर्ब ४६ अर्ब २९ करोड रुपैयाँ पुुगेको छ । नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ मंसिर मसान्तमा एक खर्ब ४२ अर्ब ३ करोड पुगेको छ । २०७६ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव पाँच प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिना पाँच दिनको वस्तु आयात र आठ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, अनुमानित वार्षिक आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३१ दशमलव चार प्रतिशत, ६९ दशमलव चार प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेका छन्  । राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए ।

यसैगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७५ मंसिर मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ५८.५६ रहेकोमा २०७६ मंसिर मसान्तमा १६.२ प्रतिशतले वृद्धि भर्ई प्रतिब्यारेल अमेरिकी डलर ६८.०४ कायम भएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, सुनको मूल्य २०७५ मंसिर मसान्तमा प्रतिआउन्स अमेरिकी डलर १२३५.३५ रहेकोमा २०७६ मंसिर मसान्तमा १९ दशमलव छ प्रतिशतले वृद्धि भई प्रतिआउन्स अमेरिकी डलर १४७७.९० पुगेको छ । २०७६ असार मसान्तको तुलनामा २०७६ मंसिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ तीन दशमलव दुुई प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ चार दशमलव सात प्रतिशतले अवमूल्यन भएको थियो । राष्ट्र बैंकका अनुसार २०७६ मंसिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १३ रुपैयाँ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने :- काठमाडौं, माघ १५ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षीय मुुद्दती निक्षेपको रुपमा २०७६ फागुुन १ देखि वि.सं. २०७७ फागुुन १ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुुल रकममध्ये वाणिज्य बैंकहरुको लागि आठ करोड ३८ लाख, विकास बैंकहरुको लागि एक करोड ५८ लाख र फाइनान्स कम्पनीहरुको लागि ५२ लाख रुपैयाँ छुुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले यही माघ १७ गते अपराह्न १२ः३० बजेसम्म आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x