Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकको कच्चा निर्णय एक दिन पनि टिकेन

राष्ट्र बैंकको कच्चा निर्णय एक दिन पनि टिकेन


काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ घण्टा पनि नटिक्ने कच्चा निर्णय गरेको छ । शुक्रबार एउटा निर्णय गरेको केन्द्रीय बैंकले शनिबार नबित्दै खारेज गरेको हो ।

शुक्रबार बैंकले एकीकृत परिपत्र जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको भन्दै सोहीअनुसार आयातकर्तालाई सटही सुविधा दिन बैंकहरुलाई निर्देशन दिएको थियो । सरकारले यी वस्तुको पूर्ण बन्देज खोले पनि परिमाणात्मक बन्देज कायमै राखेको छ । यसअनुसार तोकिएको परिमाणमा आयातकर्तालाई ती वस्तु आयात गर्न पाउने व्यवस्था गरिएको छ । सोहीअनुसार शुक्रबार जारी परिपत्रमा परिमाणात्मक बन्देजको व्यवस्थाअनुसार विदेशी मुद्रा सटही सुविधा दिन भनिएको थियो ।

तर शनिबार फेरि हतार हतार अर्को परिपत्र जारी गरी शुक्रबारको परिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअनुसार अब फेरि गत असोज १७ गतेकै परिपत्रको व्यवस्था कार्यान्वयन गर्न भनिएको छ । यसअनुसार परिमाणात्मक बन्देज लगाएर व्यवसायीहरुलाई विदेशबाट गत असारमा सकिएको आर्थिक वर्षमा केराउ ८० हजार मेट्रिक टन ननाघ्ने गरी, सुपारी २५ हजार मेट्रिक टन ननाघ्ने गरी, छोकडा ५ हजार मेट्रिक टन ननाघ्ने गरी, नधुल्याएको मरिच १५ हजार मेट्रिक टन ननाघ्ने गरी नेपाल ल्याउन पाइने व्यवस्था सरकारले गरेको थियो । पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नधुल्याएको मरिच आयात परिमाणात्मक बन्देज खारेज गरेकोले सोहीअनुसार सटही सुविधा दिन बैंकहरुलाई भनिएको थियो । गत आवको लागि त्यसरी परिमाणात्मक बन्देज लगाइएका वस्तु आयात गर्नेको हकमा कोटा प्राप्त गर्ने आयातकर्ताले गएको असार मसान्तभित्रै शिपमेन्ट गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो । उक्त मितिसम्म शिपमेन्ट भएका ती वस्तुहरुको भन्सार जाँचपासचाहिँ चालू आव २०७८/०७९ मा पनि गर्न मिल्ने भनिएको थियो ।

सोही परिपत्रमा चालू आवको लागि भने यसअघि परिमाणात्मक बन्देज लगाइएका उक्त वस्तुहरुको आयातका लागि सरकारले कोटा निर्धारण गर्न नसकेकोले र अनुमति पनि नदिएकाले त्यस्ता वस्तु आयात, बैंकिङ तथा भुक्तानीसम्बन्धी प्रक्रिया अगाडि बढाउन नसकिने भनिएकोमा शुक्रबार जारी परिपत्रले ती वस्तु आयात गर्न सकिने र सोहीअनुसार सटही सुविधा दिने भनिए पनि उक्त निर्णय शनिबार नै खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । शनिबारको यो निर्णयसँगै चालू आवको लागि ती वस्तुको आयात गर्न सरकारले कोटा निर्धारण गरी अनुमति दिनुपर्ने भएको छ । गत असोज १७ को परिपत्रअनुसार ती वस्तुको चालू आवको लागि सरकारले हालसम्म कोटा नै निर्धारण नगरेको मान्नुपर्ने भएको छ ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशन रामु पौडेलले शनिबार अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिए ।

किन १ दिन पनि टिकेन राष्ट्र बैंकको निर्णय ?  राष्ट्र बैंकले शुक्रबार परिमाणात्मक बन्देजको सरकारी व्यवस्थाअनुसार उक्त वस्तु आयातमा सटही सुविधा दिने भएपछि विदेशी मुद्रा सञ्चितिमा प्रभाव पर्नसक्ने देखिएकोले सरकारले निर्णय सच्याउन राष्ट्र बैंकमाथि दबाब आएको स्रोतले बतायो । सोही कारण राष्ट्र बैंकले हतार हतार शनिबार नै आफ्नै निर्णय खारेज गर्नुपरेको हो ।

चालू आर्थिक वर्षको दोस्रो महिनामा विदेशी मुद्राको सञ्चिति घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति अहिले छ दशमलव छ प्रतिशतले घटेर २०७८ भदौ मसान्तमा १३ खर्ब छ अर्ब ९५ करोड रुपैयाँमा कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा पाँच दशमलव दुई प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा सात दशमलव सात प्रतिशतले कमी आई ११ खर्ब ४८ अर्ब ६९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ भदौ मसान्तमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब ५८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । २०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव दुई प्रतिशतमा सीमित हुनपुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया