Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१८औँ हस्तकला मेलामा आठ करोडको कारोबार

१८औँ हस्तकला मेलामा आठ करोडको कारोबार


काठमाडौं । १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्वारा काठमाडौँको हायात होटलमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब आठ करोड रूपैयाँको कारोबार भएको बताइएको छ ।

समापन कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेको उनले जानकारी दिए । दोस्रो दिन शनिबार परेकोले मेला अवलोकनकर्ताको व्यवस्थापन गर्न हम्मेहम्मे परेको शाक्यको भनाइ छ । महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण संवर्द्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सो अवसरमा १६औँ कला प्रतियोगिताका विजेताहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो । नेचुरल फाइवरतर्फ दाङकी सुनिता कुमारी चौधरी प्रथम भएकी छिन् भने पुनः महर्जन द्वितीय र आशा माया महर्जन तृतीय हुन सफल भएका छन् ।

त्यस्तै परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय भएका छन् । प्रथम द्धितिय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृतहरूको हस्तकला महासंघले नै खरिद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताए । प्र्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको मेलाको समापन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेका हुन् । मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहेका थिए ।

मेलाका मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित समसामयिक हस्तकला विधाको कला प्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइबर), अमूर्त सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनीको साथै विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको तथा सीप पुस्तान्तरणका लागि प्रविधि र ज्यावलहरू हस्तान्तरण गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया