Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाउदी अरेबियाले ल्याएको श्रम कानुनबारे श्रममन्त्रीको चासो

साउदी अरेबियाले ल्याएको श्रम कानुनबारे श्रममन्त्रीको चासो


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनबारे चासो राखेका छन् । मन्त्री श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद वीन सुलेमन अल मार्वानीले सोमबार गरेको शिष्टाचार भेटमा श्रेष्ठले नयाँ श्रम कानुनबाट नेपालीहरू लाभान्वित हुने विश्वास समेत व्यक्त गरे ।

मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रक्रियामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पु-याउन समन्वयका लागि समेत राजदूत अल मार्वानीसँग आग्रह गरे । नेपालमा पनि सीप परीक्षण परियोजना कार्यान्वयनका लागि राजदूतमार्फत उनले साउदी अरेबिया सरकारसँग आग्रह गरे । नेपालबाट वैदेशिक रोजगारीमा गएका मध्ये २० प्रतिशत जनशक्ति साउदी अरेबियामा रहेको बताउँदै उनले वैदेशिक रोजगारीको क्षेत्रमा साउदी अरेबिया सरकारले नेपाललाई प्रदान गरेको अवसरको लागि धन्यवाद समेत दिए ।

साउदी अरेबियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै मन्त्री श्रेष्ठले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरू काम गर्न इच्छुक रहेको बताए । राजदूत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताए ।

साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरूको समस्या सम्बोधन गर्ने उनले बताए । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । भेटमा उनीहरूबीच नेपाल–साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया