Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडलर अपचलनमा तानिए महाप्रबन्धक पौडेल

डलर अपचलनमा तानिए महाप्रबन्धक पौडेल


काठमाडौ । कर्मचारीले चार महिनासम्म कार्यालय प्रवेशनिषेध गर्दा पनि मन्त्रालयतिर चहारेर तलब खाने र सरकारले कार्यकारी अध्यक्ष नियुक्त गरिसकेपछि कामविहीन हुँदा पनि कुर्सी नछाडेर टाँसिएर बसिरहने नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले अमेरिका भ्रमणका लागि डलर पेस्की लिएर अमेरिका भ्रमण नै नगरी रकम फिर्ता नै नगरी त्यत्तिकै पचाउन खोजे पनि कर्मचारी युनियनहरुको संयुक्त उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आायोगले छानबिन सुरु गरेको छ ।

अख्तियारको ताकेतापछि यही मंसिर २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई तीन दिनभित्र त्यसको विवरण उपलब्ध गराउन ताकेता गरेको थाहा भएको छ । कम्पनीकरणको नाममा अमुक समूहलाई निगम बेच्नखोजेको आरोप लगाएर कर्मचारी युनियनले संघर्ष गरी कार्यालय प्रवेश गर्न प्रतिबन्ध लगाएका महाप्रबन्धक पौडेलले निगमको काममा गत जुन २१ मा अमेरिका जान भनी सात हजार अमेरिकी डलर पेस्की लिएका थिए ।

उनीसँगै जाने निगमका कानुनी सल्लाहकार आभास पाण्डितले चार हजार एक सय ५० अमेरिकी डलर पेस्की लिएका थिए तर बोइङ ७५७ ९एनएसीए जहाज र आइवेरियाको बोइङ ७५७ को इन्जिन बेच्न र लिलाम गर्न भनी उनी विवादका बीच जान लागेको भनी मन्त्रालयले उनीहरुको भ्रमण कार्यक्रम रद्द गरेको थियो । त्यसरी भ्रमणको कार्यक्रम रद्द भएपछि लिइएको पेस्की रकम सात दिनभित्र फिर्ता बुझाउनुपर्ने कानुनी व्यवस्था छ तर आफ्नो हातमा परेको सबै रकमलाई आफ्नो कमाइ ठान्ने अर्थात् लिन जान्ने तर फिर्ता गर्न नजान्ने लालची स्वाभावका महाप्रबन्धक पौडेलले उक्त रकम फिर्ता नगरेपछि निगममा क्रियाशील तीनवटै कर्मचारी युनियनका अध्यक्ष र महासचिवहरुले वैदेशिक मुद्रा अपचलन र अख्तियार दुरुपयोगविरुद्ध कारबाही गरिपाऊँ भनी गत असोज २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।

उक्त उजुरी परेको विषयमा आर्थिक दैनिकले उतिबेलै समाचार छाप्दा महाप्रबन्धक पौडेलले असोज १३ गते प्रमाण देखा, होइन भने के हुन्छ देख्लास् भनेर सम्पादकलाई धम्क्याएर पत्र पठाएका थिए । तर उक्त पत्र निगमको लेटरप्याडमा थिएन । त्यसमा उनले हस्ताक्षर पनि गरेका थिएनन् र छाप पनि लगाएका थिएनन् । अहिले त्यही विषयमा तीन दिनभित्र विवरण उपलब्ध गराउन मन्त्रालयले निगमलाई पत्र पठाएपछि महाप्रबन्धक पौडेल डलर अपचलनमा कारबाहीको दायरामा तानिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया