Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर धितोमा मात्र बैंक तथा फाइनान्स कम्पनीले प्रवाह गरे एक खर्ब तीन अर्ब कर्जा

सेयर धितोमा मात्र बैंक तथा फाइनान्स कम्पनीले प्रवाह गरे एक खर्ब तीन अर्ब कर्जा


काठमाडौं । सेयर बजार निरन्तर ओरालो लाग्दै आए पनि सेयर धितो अर्थात् मार्जिन लेन्डिङ शीर्षकमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको देखिएको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जासम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा मात्र सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी समेतले कुल एक खर्ब तीन अर्ब ९१ करोड ४० लाख रुपैयाँ कर्जा सेयर धितो शीर्षकमा मात्र प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४८ खर्ब ३४ अर्ब २१ करोड ८० लाख एवं ४४ खर्ब ९२ अर्ब पाँच करोड १० लाख रुपैयाँ रहेको थियो ।

वाणिज्य बैंकहरुको मात्र सातवटा प्रदेशको ७७ वटै जिल्लाहरुमा कुल चार हजार आठ सय २२ वटा शाखाहरु रहेको र यी सबै शाखाहरुबाट वाणिज्य बैंकहरुले सेयर धितोमा मात्र ८८ अर्ब २० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप एवं कर्जा रकम भने ४२ खर्ब ७१ अर्ब १७ करोड ५० लाख र ३९ खर्ब ९२ अर्ब ८५ करोड ६० लाख रुपैयाँ रहेको छ ।

Open photo

विकास बैंकहरुले भने चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा सेयर धितो शीर्षकमा कुल १२ अर्ब ५८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः चार खर्ब ७२ अर्ब ४३ करोड ४० लाख र चार खर्ब २२ अर्ब २५ करोड ९० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । विकास बैंकहरुको कुल शाखा संख्या भने देशभर एक हजार ३६ वटा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो तीन महिनामा सेयर धितो शीर्षकमा तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त अवधिमा फाइनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप ९० अर्ब ६० करोड ८० लाख र कुल कर्जा रकम ७६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुको सबै क्षेत्रमा गरी कुल दुई सय ४३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी सोझै खरिद गर्ने
नेपाल राष्ट्र बैंकले मंसिर २३ गते अर्थात् आज बिहीबार २० अर्ब रुपैयाँको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव (तरलता) भएपछि बोलकबोलका माध्यमद्वारा आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल सोझै खरिद गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नुपर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

Open photo

राष्ट्र बैकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण एक करोड वा एक करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया