Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचैत पहिलो हप्ताबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

चैत पहिलो हप्ताबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला


काठमाडौं, माघ २४
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी चैतको पहिलो हप्तादेखि काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ । महासंघले नेपाल सरकारको समेत सहयोगमा हरेक वर्ष आयोजना गर्दै आएको छ । यो वर्षको मेला आगामी चैत ६ देखि १० गतेसम्म भृकुटीमण्डपमा हुने महासंघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

साथै मेलाका लागि बुधबारदेखि नै स्टल बुकिङ खुला भएको महासंघले जनाएको छ । मेलामा चीनबाट ८० वटा, भारतबाट ४० वटा, बंगलादेशबाट ६० वटा, थाइल्याण्डबाट २० वटा तथा पाकिस्तानबाट ५ वटा स्टल बुकिङ्गको लागि पत्राचार भइसकेको महासंघले जनाएको छ । एनटीआईएसअन्तर्गतका वस्तुहरूको एक छुट्टै प्याभेलियनको व्यवस्था गरिने छ । कुल तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपालसहित सार्क मुलुकहरू, चीन, थाइल्याण्डलगायतका देशहरूको सहभागिता रहने महासंघले जनाएको छ ।

स्वदेशी उद्योग व्यवसायको प्रवर्द्धन, नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, स्वदेशी एवं विदेशी लगानीकर्ताहरूबीच व्यावसायिक सम्बन्ध र सहकार्यको वातावरण बनाउने र नेपाल सरकारले नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरेका एनटीआईएस वस्तुहरूको प्रवर्द्धन गर्ने मुख्य हेतुले महासंघले हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । अन्तर्राष्ट्रिय व्यापार मेला, नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा आयोजना हुंदै आएको छ । यस वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२० नवौं संस्करण हो ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू हुने छन् । त्यस्तै मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल बनाउन मेलामा नेपालका पर्यटन गन्तव्य स्थलको प्रचारप्रसार तथा छलफल कार्यक्रम आयोजना गरिने छ । साथै स्टलबाट नै पर्यटन प्याकेजको बुकिङ्गको पनि व्यवस्था गरिने छ । मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले बताए । मेलामा स्वदेशी र विदेशी गरी करिब एक लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

साथै महासंघकै नेतृत्वमा प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी करिब ३० देखि ४० वटा मेलाहरू विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । जिल्लामा उत्कृष्ट रहेका वस्तु तथा सेवाहरूलाई यस मेलामा १० वटा निःशुल्क स्टलको व्यवस्था पनि गरिएको छ । गत वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१९ मा एक लाखभन्दा बढी स्वदेशी एवं विदेशी आगन्तुकहरूले अवलोकन गरेका थिए भने स्वदेशी विदेशी गरी ३ सय २५ प्रर्दशीकर्ताहरूबाट वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो ।

मेलामा चीन, भारत, बंगलादेश, कोरिया, जापान, लगायतका देशबाट खरिदकर्ताहरू आएका थिए । मेलामा गत वर्ष प्रत्यक्ष अप्रत्यक्ष गरी करिब नौ करोडको कारोबार भएको थियो । साथै व्यापारिक सम्बन्ध विस्तार तथा आपसी सहकार्यका लागि कम्पनीहरूबीच क्षेत्रगत सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण हुन नसकेको कारणले अन्तर्रँष्ट्रिय सहभागिता बढाउन सकिरहेको छैन । यस वर्षको मेलामा टिकट दर ५० रुपैयाँ तथा विद्यार्थी सहुलियत दर ३० रुपैयाँ तोकिएको छ भने अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया