Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार११ जनालाई ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’

११ जनालाई ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’


काठमाडौं । गणेशमान सिंह फाउन्डेसनले प्रजातन्त्र स्थापना, पुनर्स्थापना एवं संवद्र्धनका लागि योगदान गरेका ११ जनालाई सम्मान गरेको छ । फाउन्डेसनले काठमाडौँ महानगरपालिकाको सहकार्यमा बुधबार प्रजातन्त्र स्थापनमा गणेशमान सिंहसँग सहयात्रा गर्ने ११ प्रजातन्त्र सेनानीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा ध्यानगोविन्द रञ्जित (ललितपुर), हिमालयशम्शेर राणा (काठमाडौँ), मनज्ञ लाकोल (काठमाडौँ), डा. दिनेशनाथ गंगोल (काठमाडौँ), योगप्रसाद उपाध्याय (काठमाडौँ), हरिनाथ बाँस्तोला (सुनसरी), स्व. चम्पा थारु (कैलाली), स्व. गणेश कर्माचार्य (बाँके), दिलीप सापकोटा (मोरङ), पूर्णानन्द शर्मा (तेह्रथुम) र नारायणप्रसाद भट्टराई (पाँचथर) रहेका छन् । फाउन्डेसनका अध्यक्ष एवं कांग्रेस नेता प्रकाशमान सिंहले उनीहरूलाई २५ हजार रूपैयाँ नगद, प्रशंसापत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा उनले स्व. गणेशमान सिंहको इतिहासलाई जीवन्त राख्नका लागि फाउन्डेसनले काम गर्दै आएको बताए । जनताको गुमेको अधिकार जनतामाझ ल्याउनका लागि स्व. सिंहको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । नेता सिंहले स्व. गणेशमान सिंहको व्यक्तित्वबारे फाउन्डेसनले विभिन्न पुस्तक प्रकाशन, लेख, रचना प्रकाशन, विचार प्रकाशन र कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कांग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले गणेशमान सिंहले प्रजातन्त्रका लागि गरेको योगदान आम जनतामाझ लैजान फाउन्डेसनले काम गर्नुपर्ने बताए ।

सम्मानित व्यक्ति हिमालयशम्शेर राणा, मनज्ञ लाकोल, हरिनाथ बाँस्तोलालगायतले मुलुकमा जनताको अधिकार स्थापना गर्न सर्वोच्च नेता गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको भन्दै गणेशमानको योगदान नयाँ पुस्तामा चिनाउनुपर्ने बताएका थिए । गणेशमान सिंह फाउन्डेसनका महासचिव घनेन्द्रपुरुष ढकालले फाउन्डेसनले नेपालको प्रजातन्त्र स्थापनका लागि गणेशमान सिंहसँगै योगदान गरेका विभिन्न व्यक्तिलाई विभिन्न समयमा फाउन्डेसनले सम्मान गर्दै आएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया