Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजारलाई कसरी सम्बोधन गर्छ मौद्रिक नीतिले ?

सेयरबजारलाई कसरी सम्बोधन गर्छ मौद्रिक नीतिले ?

दुई हजार अंकबाट उक्लियो बजार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पु-याएको बेला सेयरबजारमा वृद्धि देखिएको छ । केही दिनअगाडि सेयरबजारसँग सम्बन्धित आन्दोलनरत पक्षसँग सम्झौता भएपछि राष्ट्र बैंकको मौद्रिक नीतिले सम्बोधन गर्ने आशमा बजारमा वृद्धि देखिएको हो । यद्यपि मौद्रिक नीतिले सेयर बजारलाई कसरी सम्बोधन गर्छ भन्ने अझै एकीन छैन ।

आन्दोलनरत पक्षले अहिले राष्ट्र बैंकले सेयर खरिदमा लगाएको चार र १२ करोडको क्याप हटाउनुपर्ने मागलाई जोडतोडका साथ उठाएका छन् । यसमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कसरी सम्बोधन गर्छ यसै भन्न सकिने अवस्था छैन । यद्यपि उक्त चार र १२ को क्यापमा सम्बोधन हुने अपेक्षा लगानीकर्ताको छ ।

यसअघि लगातार घटेर १८ सय अंकमा झरिसकेको सेयर बजार परिसूचक आर्थिक वर्षको अन्तिम हुनैलाग्दै गर्दा उकालो लाग्ने क्रममा देखिएको छ । अघिल्लो दिन ४१ दशमलव ३९ अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको पाँचौँ कारोबार दिन बिहीबार पनि ७४ दशमलव ९३ अंकले उकालो लागेर दुई हजार ३७ दशमलव ६४ विन्दुमा चढ्न सफल भएको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६३ अंकले उकालो लागेर तीन सय ९१ दशमलव ७८ विन्दुमा चढ्न सफल भएको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । जसबाट ४७ हजार तीन सय ९२ पटकको कारोबारमा ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल सेयर कारोबार रकम दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार चार सय ९५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक उकालो लागेर सेयरबजार परिसूचक पूरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २९ दशमलव ६८ अंकले उकालो लागेर १३ सय ८० दशमलव ५४ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि दुई सय चार दशमलव ४४ अंकले उकालो लागेर तीन हजार पाँँच सय ३८ दशमलव नौ विन्दुमा चढेको छ ।

जलविद्युत् उपसमूहको सूचक पनि एक सय छ दशमलव एक अंकले उकालो लागेर २२ सय ८७ दशमलव ६६ विन्दुमा चढेकोमा फाइनान्स उपसमूहको सूचक पनि एक सय दशमलव २८ अंकले उकालो लागेर १५ सय ३७ दशमलव २९ विन्दुमा चढेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि तीन सय ७८ दशमलव दुई अंकले उकालो लागेर आठ हजार दुई सय ९० दशमलव ८१ विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि दुई सय ९६ दशमलव पाँच अंकले उकालो लागेर नौ हजार नौ सय ६९ दशमलव ५१ विन्दुमा चढेको छ । यीबाहेक टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः एक सय २६ दशमलव सात, एक सय २७ दशमलव ११, दुई सय ५० दशमलव ४२, ८६ दशमलव दुई, दुई सय चार दशमलव ४२, शून्य दशमलव ३८ र दुई दशमलव दुई विन्दुले उकालो लागेका छन् ।

यस दिन बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ७३ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य पनि १० प्रतिशतले नै बढेर चार सय ५२ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्र्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक न्यादी ग्रुप पावर लिमिटेड, आँधीखोला लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको ग्लोबल आईएमई बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ८९ प्रतिशतले घटेर नौ सय २३ रुपैयाँ अन्तिम मूल्यमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको वरुण हाइड्रोपावर कम्पनीका प्रतिकित्ता सेयर मूल्य पनि दुई दशमलव ६५ प्रतिशतले घटेर चार सय ७७ रुपैैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक गुराँस लघुवित्त वित्तीय संस्था, बैंक अफ काठमाडौंको ऋणपत्र आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन शिवम् सिमेन्टको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता सात सय ७४ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ९५ लाख २० हजार छ सय २० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिष्टिलरी प्रालिको पनि प्रतिकित्ता ३४ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा सात करोड ९७ लाख ६८ हजार एक सय ७१ रुपैयाँको सेयर किनबेच भएको छ ।

यीबाहेक एसियन लाइफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् । यसैबीच नेप्सेले बिक्रीतर्फको एओएनसम्बन्धी व्यवस्था हटाएको जानकारी दिएको छ । नेप्सेका अनुसार यही असार १९ गते आइतबारदेखि लागू हुने गरी एओएनसम्बन्धी व्यवस्था हटाउने निर्णय गरिएको हो । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेप्सले धितोपत्र कारोबार बिक्री तर्फ एओएनसम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको नेप्सेको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया