Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्थायी प्रदर्शनीस्थल निर्माणका लागि महानगरको ५० लाख

स्थायी प्रदर्शनीस्थल निर्माणका लागि महानगरको ५० लाख


विराटनगर, फागुन १२
उद्योग संगठन मोरङले आयोजना गरेको कृषि तथा औद्योगिक मेला विराट एक्स्पो भव्यताका साथ सम्पन्न भएको छ । एक्स्पोे समापन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अगामी वर्षदेखि हुने एक्स्पोहरुका लागि आवश्यक स्थायी प्रदर्शनी स्थल निर्माण गर्न उद्योगी तथा व्यवसायीहरु लागिपर्नुपर्ने बताए । उनले विकासका कामका लागि यो वा त्यो कुनै पार्टी विशेषभन्दा पनि विकासका कुरालाई महत्व दिनुपर्ने र त्यसको सहयोग सबै पक्षबाट हुन जरुरी रहेको बताए । स्थायी प्रदर्शनीस्थल निर्माण गर्न स्थानीय सरकार र सरोकारवाला पक्षले आवश्यक प्रबन्ध मिलाएर संघीय सरकारसमक्ष योजना ल्याए त्यसको कार्यान्वयन आफूले गराउने उनको भनाइ थियो ।

विराटनगर औद्यौगिक नगरी हुनुका साथै अद्यौगिक क्रान्तिको थलो र अर्को महत्वपूर्ण राजनैतिक क्रान्तिको थलोसमेत रहेकाले यसको विकासका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्ने उनले बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विगतका एक्स्पोभन्दा धेरै गुणाले स्तरीय तरिकाले भव्य रुपमा सम्पन्न भएको हुँदा विराटनगरमा उद्योगी व्यवसायीले यस्तो एक्स्पो गरी रहनुपर्ने बताए । त्यसका लागि महानगरले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्यौगिक प्रदर्शनीस्थल बनाउन तयार रहेको र त्यसका लागि दुई वर्षअघि नै ५० लाख रुपैयाँ छुट्याएको समेत मेयर पराजुलीले जानकारी दिए ।

उनले भने, ‘जग्गा महानगरले दिन तयार छ, त्यसका लागि संघीय सरकार र निजी क्षेत्र पनि अग्रसर हुनुपर्नेछ ।’ कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रत्यक्ष रुपमा उपभोक्ता र उद्योगीबीचको सम्बन्ध जोड्ने पुलको काम एक्स्पोले गरेको बताए । यस्तो मेलाले एक पक्षलाई मात्र फाइदा नभई सबै पक्षलाई फाइदा पुगको उनको भनाइ छ ।

मेलाबाट उद्योगी, व्यवासायीले अक्सिजन पाएको बताउँदै मुन्दडाले भने, ‘वस्तु उत्पादन गरेर मात्र हुँदैन किनभने त्यसको पूर्णरुपमा प्रचारप्रसार हुनु जरुरी छ । यस्तो मेलाबाट हामीले उत्पादन गरेका वस्तु प्रत्यक्ष रुपमा सर्वसाधारणलाई जानकारी दिन पाउँदा उद्योगी, व्यवसायीले अक्सिजन पाएजस्तो महसुस भएको छ ।’

विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले उत्साहजनक सहभागिताका कारण आगामी वर्ष एक्स्पो गर्न थप बल पुगको बताए । एक्स्पोका माध्यमबाट साना घरेलु, कृषि वनजन्य, मझौला, ठूला उद्योगलाई आफ्नो उत्पादन प्रवद्र्धन एवम् व्यावसायिक सम्बन्ध विकासमा सहयोग पुगेको बताए । आर्थिक विकास र अर्थतन्त्रको बलियो माध्यम कृषि तथा औद्योगिक विकास भएकाले यस्तो उद्योगको उत्पादनले स्वदेशमै बजार नपाइरहेको अवस्थामा यस्तो एक्स्पोले ठूलो मद्दत पुग्ने दुलालले बताएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया