Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात कम्पनीले पाए लघुबीमाको लाइसेन्स

सात कम्पनीले पाए लघुबीमाको लाइसेन्स


काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कारोबार सञ्चालनको लागि अनुमति माग गर्दै आवेदन दिएकामध्ये सातवटा कम्पनीहरुलाई लघुबीमा कारोबार सञ्चालनको लागि अनुमति दिएको छ । आइतबार प्राधिकरणले सूचना जारी गर्दै लघुजीवन बीमातर्फ तीनवटा र लघुनिर्जीवन बीमातर्फ चारवटा कम्पनीहरुलाई कारोबार सञ्चालनको लागि अनुमति दिएको हो ।

प्राधिकरणका अनुसार लघुजीवन बीमातर्फ अनुमति पाउने कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । यसैगरी लघुनिर्जीवन बीमातर्फ भने ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले कारोबार सञ्चालनको लागि अनुमति पाएका छन् ।

प्राधिकरणले यसअघि २०७९ भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघुबीमा कारोबार सञ्चालनको लागि आवेदन माग गरेको थियो । सोअनुसार लघुजीवन बीमातर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन लघुबीमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्री शक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका थिए । यसैगरी लघुनिर्जीवन बीमातर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बीमा, केयर माइक्रो जनरल इन्स्योरेन्स, स्टार माइक्रो, गण्डकी माइक्रो, सिजी इन्स्योरेन्स, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नति र अल्फा एक्स्प्रेस कम्पनीले कारोबार सञ्चालनको लागि अनुमति माग गर्र्दै आवेदन दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया