Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूचना प्रकाशित नगरी प्राधिकरणको लोडसेडिङ

सूचना प्रकाशित नगरी प्राधिकरणको लोडसेडिङ

‘सूचना प्रकाशित गर्दा सामाजिक सञ्जालमा ‘भाइरल’ हुने भएको कारण फोन गरेर लोडसेडिङको जानकारी दिएका छौ’


काठमाडौं,तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत माग्दा आफ्नो दोस्रो कार्यकाललाई स्मरण गर्दै भने, ‘लोडसेडिङ अन्त्य भयो ।’ तर, दुर्भाग्य तेस्रो पटकको प्रधानमन्त्री पद जोगाउन प्रचण्डले संसद्मा विश्वको मतको भीख माग्दै गर्दा देशको अर्थतन्त्रमा योगदान दिने ठूला उद्योगहरु बन्द थिए, त्यो पनि लोडसेडिङबाटै ।

उनी दोस्रो पटक प्रधानमन्त्री भएको बेला लेडसेडिङ्ग अन्त्य गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको एमडी बनाइएका कुलमान घिसिङ नै अहिले पनि प्राधिकरणको सोही पदमा कायम छन् र उनले नै लोडसेडिङ गरिदिएका हुन् । लोडसेडिङको सूचना प्रकाशित गर्दा सामाजिक सञ्जालमा भाइरल हुने भएको कारण घिसिङले सूचना भने प्रकाशित गरेका छैनन् तर कम्तीमा दैनिक आठ÷नौ घण्टा औद्योगिक क्षेत्रमा उनले विद्युत् कटौती गरिदिएका छन् ।

औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरिदिएको प्राधिकरणका अधिकारीहरु स्वीकार गर्छन् । उनीहरुले कहिलेसम्म लोडसेडिङ कटौती हुन्छ भन्ने जानकारी नभएको कारण फोनबाट भनेर उद्योगीलाई जानकारी गराइएको बताउँछन् । ‘सूचना जारी नगर्ने भन्ने एमडीको निर्देशन छ’, प्राधिकरणका एक अधिकारीले भने, ‘जुन क्षेत्रमा बिजुली कटौती हुन्छ त्यसको उनीहरुलाई प्राधिकरणले फोनबाट अग्रिम जानकारी गराएका छौँ । जानकारी गराइसकेपछि सामाजिक सञ्जालमा बिजुली कटौतीको सूचना भाइरल बनाउनु आवश्यक छैन भनेर नै सार्वजनिक सूचना प्रकाशित नगरिएको हो ।’

अहिले लोडसेडिङको सूचना भाइरल हुने डरले प्रकाशित नगरेका प्राधिकरणका एमडी घिसिङले पहिला लोडसेडिङ अन्त्य हुँदा भने पत्रकार सम्मेलन गरेरै जानकारी गराएका थिए । घिसिङले अहिले मात्र होइन विगतका वर्षमा पनि औद्योगिक क्षेत्रमा पटक–पटक लोडसेडिङ गरेका थिए । उनले कतिपय उद्योगीलाई यसको जानकारी बाहिर नल्याइदिन भनेका थिए । अहिले भने उद्योगीहरुले असन्तुष्टि पोख्न थालेका छन् भने सञ्चारमाध्यमले पनि समाचार प्रकाशित गर्न थालेका छन् ।

विगतका वर्षहरुमा लोडसेडिङ भएका समाचारहरु प्रकाशित हुँदा कुलमानको विरोध गरेको भन्ने सन्देश जाने भएकाले समाचार प्रकाशित हुँदैनथे । अहिले पनि उद्योगीहरुले नै विरोध गर्न थालेका छन् । विश्व अहिले आर्थिक मन्दीमा गइरहेको छ । नेपालजस्ता विकासशील देशमा त्यसको प्रत्यक्ष प्रभाव देखिन थालिसकेको छ । यही बेला भएका उद्योगहरु पनि लोडसेडिङको कारण चल्न नसक्ने अवस्था सिर्जना हुँदा यहाँको अर्थतन्त्र थप मन्दीतर्फ जाने पक्का छ ।

‘लोडसेडिङले देशको अर्थतन्त्र मन्दीतर्फ लैजान थप मलजल गर्नेछ’, एक उद्योगीले भने, ‘देशको अर्थतन्त्र कमजोर पार्न प्राधिकरणका एमडी घिसिङले राम्र्रै योगदान गरे । अब प्रचण्डले भनेजस्तो आर्थिक फड्को मार्न कठिन नै छ ।’

औद्योगिक क्षेत्रमा केही दिनदेखि जारी रहेको लोडसेडिङ कहिलेसम्म भन्ने प्रश्नको जवाफ भने प्राधिकरणसँग पनि छैन । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भण्डारीले यो लोडसेडिङ धेरै दिनसम्म नजाने बताए पनि कति दिनपछि हट्छ भन्नेमा भने आफूले पनि केही भन्न नसक्ने बताए । ‘हामीले भारतबाट बिजुली खरिद गरेर यहाँको दैनिक आवश्यकता पूरा गरिरहेका छौँ’, प्राधिकरणका प्रवक्ता भण्डारीले आर्थिक दैनिकसित भने, ‘नेपालमा मात्र होइन अहिले भारतमा पनि बिजुलीको माग बढी छ । यही बेला बिहारमा जेनेरेटर बिग्रिएको कारण बिजुली कम आइरहेको छ । त्यही कारण ठूला उद्योगमा लोडसेडिङ गरिएको हो । साना उद्योग र साधारण उपभोक्ताले लोडसेडिङको समस्या झेल्नुपर्नेछैन ।’

प्राधिकरणका प्रवक्ता भण्डारीले साना उद्योग र सर्वसाधारण उपभोक्ताले लोडसेडिङको समस्या झेल्नु नपर्ने बताए पनि त्यसलाई आमसर्वसाधारणले विश्वास गर्न सकेका छैनन् । नेपालमा कुलेखानीबाहेक जलाशययुक्त जलविद्युत् आयोजना छैन भने सुख्खायाममा हिमनदीहरुमा पानी कम हुन्छ ।

त्यही कारण भएका जलविद्युत् आयोजनाहरुले कुल क्षमताको ३० प्रतिशत पनि विद्युत् उत्पादन गर्न सकिरहेका छैनन् । तर, माग भने अधिक रहेको कारण लोडसेडिङ सबै क्षेत्रमा हुने आशंका बढेको छ । लोडसेडिङ बढेपछि उद्योग÷कलकारखानाले डिजेलबाट जेनेरेटर चलाएर विद्युत् उत्पादन गर्नुपर्छ । त्यसले डिजेल खपत बढी हुँदा देशको वैदेशिक मुद्रा थप बाहिरिन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको कारण अमेरिकी डलरमा हुन्छ । यसले नेपालको डलर सञ्चितिमा थप चाप पार्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया