Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघोडेजात्रा आयोजना

घोडेजात्रा आयोजना


काठमाडौं। नेपाली सेनाले राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलामा विविध कार्यक्रमहरूसहित घोडेजात्रा समारोह सम्पन्न गरेको छ ।

समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, घोडचढी आर्चरी, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो–जम्प, म्युजिकल राइड, हंगेरियन पोष्ट, डगद्वारा झण्डोतोलन, ड्रिल राइड, गार्ड डगबाट कला प्रदर्शनलगायत घोडेजात्राको इतिहास समेटिएको गीति नाटक गुरुमापाको कथा प्रस्तुत गरिएको थियो । यस्तै समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरेका थिए । शो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय भएका थिए भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गरेका थिए ।

घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडेजात्रा मनाउने गरिँदै आएको छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नुका साथै जात्राले देशमा सुमङ्गल ल्याउने जनविश्वास छ । चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडौंको टुँडिखेलमा हजारौँ सर्वसाधारणका बीच सेना र प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यास प्रदर्शन गर्ने पुरानै चलन हो । घोडेजात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छ । वैदिक सनातन संस्कारमा पनि सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सयौँका संख्यामा घोडालाई स्वतन्त्र गरिन्छ र ती घोडा जहाँ–जहाँसम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।

सेनाले अत्यन्त बफादार अनि वेगसमान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ । घोडालाई मानिसको दैनिक जीवन र ठूला युद्धमा समेत प्रयोग गरिँदै आएको छ । हिमाली क्षेत्रमा अझै पनि प्रमुख यातायातको साधनका रूपमा घोडाको प्रयोग हँुदै आएको छ । टुँडिखेलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रिगणलगायत विशिष्ट व्यक्तिहरू उपस्थित थिए । संवैधानिक निकायका प्रमुख, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि घोडेजात्रा हेर्न टुँडिखेल पुगेका थिए । समारोहमा सहभागी विशिष्ट पाहुनाहरूलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।

घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका १०, दौडसहित अश्वकलाका लागि ४६ र दौड विशेषका लागि १० पोनी घोडा रहेको निर्देशनालयले जनाएको छ । उक्त समारोह हेर्न टुँडिखेल वरपर नरनारीको बाक्लो उपस्थिति थियो । यस्तै घोडे जात्राका अवसरमा टुँडिखेलभित्र घोडाका ठूला–ठूला आकृतिसहितका फ्लेक्स बोर्ड राखिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया